विकासको पर्खाइमा हाटखोली «

विकासको पर्खाइमा हाटखोली


तीन दिनको हिउँदे वर्षापछि बुधबार धनगढीमा हुस्सु लागेको थियो । धनगढीबाट २० किलोमिटरको दूरीमा रहेको हाटखोलीमा पारिलो घाम लागेको थियो । हिउँदको महिनामा तराईका बासिन्दाले घाम ताप्न आउने पर्यटकीय क्षेत्र हाटखोली बन्न सक्छ भन्ने त्यहाँका बासिन्दाले आँकलन गरेका छन् ।
गोदावरी नगरपालिका–४, हाटखोलीको दुर्गा माविका प्रधानाध्यापक कर्णबहादुर साउदले हाटखोलीलाई पर्यटकीय क्षेत्र बनाउन सकिने बताउँछन् । “धनगढी–दिपायल द्रुतमार्गमा पर्ने हाटखोली चुरे पहाडको पहिलो श्रंखला हो,” उनले भने, “धनगढीबाट यति छोटो दूरीमा तराईको भन्दा फरक मौसम पाइने ठाउँ पनि यही हो । यहाँ पर्यटनको सम्भावना एकदमै बढी छ ।”
हाटखोलीमा रहेको पर्यटनको सम्भावनालाई फागुनदेखि मंसिरसम्म हाटखोलीस्थित काला खोलामा पिकनिक खान आउनेको भीडले पनि पुष्टि गर्छ । “गर्मी सिजनमा काला खोलामा नुहाउने र पिकनिक खानेहरुको भिड हुन्छ,” स्थानीय मनीषा साउदले भनिन्, “बाटोमात्रै बन्ने हो भने धनगढीबाट मानिसहरू मन लागेको बेला एकैछिन पुग्न सक्छन् ।”
धनगढी–दिपायल द्रुत मार्ग बनाउने प्रक्रिया सुरु भएको एक वर्ष पुग्न लाग्दा पनि सडक कालोपत्रे नभएकाले हाटखोलीको विकास रोकिएको छ । पूर्वपश्चिम राजमार्गबाट १० किलोमिटर उत्तरतिर रहेको हाटखोली जान कच्ची सडक छ । धनगढीदेखि राजमार्गसम्मको सडक पनि कालोपत्रे हुन सकेको छैन ।
तर गत साउनबाट द्रुत मार्गअन्तर्गत धनगढीदेखि १३.४ किलोमिटर सडक कालोपत्रे गर्नका लागि संरचना निर्माण हुन थालेपछि हाटखोलीका बासिन्दा आशावादी भएका छन् । ढिलै भए पनि द्रुतमार्ग कालोपत्रे हुन थालेपछि अब केही वर्षमै हाटखोलीसम्म कालोपत्रे सडकको पहुँच पुग्ने विश्वास रहेको प्रधानाध्यापक साउदले बताए । “यो वर्ष भावरसम्म कालोपत्रे गर्ने ठेक्का लागेको छ,” उनले भने, “अर्को वर्ष अलि माथिसम्म थप्ने कुरा सुनिएको छ । यो हाटखोलीका लागि सुखद् समाचार हो ।”
सडक पूर्वाधार पुगेसँंगै खानेपानी, सिँंचाइ, पर्यटनलगायतको विकास हुने हाटखोलीका बासिन्दाको अनुमान छ । “सबैभन्दा पहिले सडक बन्नुपर्छ,” स्थानीय तुलाराम साउदले भने, “त्यसपछि अरु अरु विकास हुँदै जान्छ । छोटो दूरी भए पनि झुर यात्रा गरेर हाटखोली आउने पर्यटक सडक बनेपछि सहज यात्रामा यहाँ पुग्नेछन् । पर्यटक आगमन बाक्लिएपछि यहाँका बासिन्दाको आम्दानी बढ्दै जान्छ र सेवा सुविधाहरु थपिँदै जाने छ भन्ने आशामा हामी छौं ।”

द्रुतमार्ग बन्ने भएपछि जग्गा कारोबार बढ्यो
हाटखोली हुँदै धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खोलिएपछि हाटखोली क्षेत्रमा जग्गाको किनबेच पनि हुन थालेको छ । स्थानीयका अनुसार धनगढीलगायत तराईमा घर भएका मानिसले घडेरी किन्न थालेका छन् । “गर्मीमा शीतल र हिउँदमा न्यानो ठाउँ भएको हुनाले तराईका मानिसले यहाँ घडेरी लिन थालेका छन्,” प्रधानाध्यापक साउदले भने, “घर चाहिँ बनाएका छैनन् । सडक पुगेपछि घर बनाएर बस्ने भन्छन् । सडक बनेपछि घर बनाएर विभिन्न व्यवसाय गर्न सक्ने सम्भावना भएकाले पनि यतातिर जग्गा लिने गरेका छन् ।”
स्थानीयले सडक नपुगेकै कारणले गर्दा हाटखोलीको विकास रोकिएको बताउँछन् । उनीहरूले द्रुतमार्ग छिटोभन्दा छिटो निर्माणका लागि सरकारले काम गरिदिनु पर्ने माग गर्छन् । स्थानीय पार्वती चन्दले सडक बनेपछि मात्रै आफूहरूलाई सुविधा पुग्ने बताइन् । उनले सडक नपुगेकै कारण स्वास्थ्य, शिक्षा, खानेपानीजस्ता सुविधा नपाएको बताउँछिन् ।

गाउँलेले विद्यालय चलाए
सडक पूर्वाधार नभएकाले बालबालिकालाई विद्यालय पठाउन कठिन भएकाले स्थानीयले मुठ्ठी दानबाट विद्यालय सञ्चालन गरेका छन् । स्थानीय खेमा साउदले बालिकाहरूलाई विद्यालय जान समस्या भएपछि गाउँलेको सहयोगमा दुर्गा माविलाई कक्षा १२ सम्म स्तरोन्नति गरिएको बताइन् । सो विद्यालयमा २४ जना शिक्षक र कर्मचारी छन् । तीमध्ये तीन जना राहत दरबन्दीका छन् भने चार जनालाई नेपाल सरकरको शिक्षण सिकाइ अनुदानबाट आउने रकमबाट तलब खुवाउने गरेको प्राधानाध्यापक साउदले बताए । उनले बाँकी शिक्षकलाई गाउँलेको सहयोगमा तलब खुवाउँदै आएको बताउँदै यस वर्षदेखि गोदावरी नगरपालिकाले केही शिक्षकलाई नगर शिक्षकको रूपमा नियुक्त गर्ने प्रक्रिया अगाडी बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्