राजपाले कांग्रेस र फोरम नेपालसँग सहकार्य गर्ने

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने निर्णय गरेको छ । राजनीतिक समितिसहितको अध्यक्ष मण्डलको बैठकले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
माघ २४ गते हुने निर्वाचनमा कांग्रेस र फोरम नेपालसँग तालमेल गर्ने औपचारिक निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए । बैठकले अन्य दलसँगको छलफलपछि सिट बाँडफाँडको टुंगो लगाउने जिम्मा अध्यक्ष मण्डललाई दिने निर्णयसमेत गरेको छ । राजपाले सोमबार नै निर्वाचनमा तालमेल गर्नेबारेमा फोरम नेपालसँग छलफल गरेको छ । दुई पार्टीबीच निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति जुटेको महासचिव झाले जानकारी दिए । “फोरमसँग हाम्रो छलफल भयो । तालमेल गरेर अघि बढ्ने सहमति भएको छ,” उनले भने ।
यसअघि पनि राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने विषयमा कांग्रेससँग राजपाले छलफल गरिसकेको छ । औपचारिक रूपमै यसअघि कांग्रेससँग तालमेलको कुरा गरिसकेकाले मंगलबार (आज) राजपा र फोरम नेपालले निर्णायक छलफल गर्ने भएका छन् । “कांग्रेससँग यसअघि पनि तालमेलका विषयमा कुरा भएकाले आज हामी निर्णायक छलफल गर्छौ,” झाले भने ।
कांग्रेससँग तालमेलको सहमति हुन नसके राजपाले अन्य दलसँग तालमेल गर्न सक्ने विकल्प समेत खुला राखेको छ । “राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । तालमेल नगरी निर्वाचनमा जाने अवस्था छैन, त्यसैले यो निर्णयमा पुगेका हौं,” अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले भने, “फोरमसँग तालमेल गर्ने सहमति जुटिसकेको छ । अब दुई पार्टीबीचको छलफलले कोसँग तालमेल गर्ने भन्ने टुंगो लगाउँछ ।”
निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यसूची अनुसार १० गते मनोनयन गनुपर्नेछ । सोही कारण दलहरूले मंगलबार उम्मेदवारको टुंगो लगाउने छन् । कार्यसूची अनुरूप राजपाले पनि मंगलबार नै तालमेल, सिट बाँडफाँट र उम्मेदवारको टुंगो लगाउने महासचिव झाले बताए । यसअघि कांग्रेससँग भएको छलफलमा राजपाले प्रदेश नम्बर २ मा कम्तीमा ५ सिट आफ्नो पार्टीले पाउनुपर्ने प्रस्ताव राखेको बुझिएको छ ।