गहन औद्योगिक संस्कृति विकासको आवश्यकता «

गहन औद्योगिक संस्कृति विकासको आवश्यकता

समूहगत भावनामा आधारित आर्थिक विकास र समृद्धिको गति नै यथार्थमा औद्योगिक संस्कृतिको प्रतिफल र आर्थिक विकासको मेरुदण्डसमेत हो ।

गहन औद्योगिक संस्कृतिको विकासको प्रतिफलबाट निस्कने निकासले मात्रै राष्ट्रको आर्थिक सम्मुन्नतिको सम्मुन्नत खाकाहरू कोर्दै औद्योगीकरणलाई टेवा पु-याउन सक्दो सहयोग गर्ने अवस्था प्रारम्भ हुने देखिन्छ । प्रस्तुत अवस्था त्यतिबेला मात्र पूर्ण रूपले सम्भव रहन्छ, जतिबेला औद्योगिक मानवीय पुँजीको रूपमा रहेको श्रमको सम्मान गर्ने संस्कृतिको विकासमार्फत सम्बद्ध समुदायको अतिरिक्त आर्थिक विकासका रणनीतिक योजनाहरूलाई औद्योगिक क्रान्तिको मुहानबाट सिञ्चित गर्दै समृद्धिको लक्ष्यमा पुग्ने अवस्था तयार गर्न मुलुकमा अवस्थित औद्योगिक प्रतिष्ठानहरू आफ्नो कर्मक्षेत्रमा दक्तचित्त भएर पूर्ण रूपले समर्पण रहने अवस्था तयार पार्नेछन् ।
विश्व समुदायमा प्रचलनमा रहँदै आएको प्रस्तुत औद्योगिक अवधारणाको विकासबाट सम्बद्ध क्षेत्रमा संलग्न रहने श्रमिक-कर्मचारी एवं व्यवस्थापन पक्षलाई औद्योगिक जिम्मेवारीको चेतना बोध गराई कार्यक्षेत्रमा लाग्नसमेत अभिप्रेरित गर्नेछ ।
परिणामतः आर्थिक विकास र समृद्धिको न्यूनताको प्रभाव स्वरूप कायम रहन आएको आर्थिक विसंगतिको पाटोलाई पूर्णता प्राप्तिको क्षेत्रमा समर्पण गराउने प्रत्येक नेपालीजनको चाहनाको कामनालाई यथार्थपरक सत्यता प्राप्तिको क्षेत्रमा अगाडि बढाउन नेपाललगायत समग्र दक्षिण एसियाली क्षेत्रमा नयाँ रोजगारीको सम्भावनाको विकासलाई निश्चित रूपमा गतिशीलता कायम राख्नुपर्ने हुन्छ । स्वदेशभित्रै स्वदेशी रोजगारीको सम्भावनाको विकास गर्न हाम्रा औद्योगिक प्रतिष्ठानहरू कतिसम्म सक्षम रहन्छन् भन्ने तथ्यका आधारमा औद्योगिक भविष्य समेत निर्भर रहनेछ । किनकि रोजगार विकास र औद्योगिक गन्तव्य एकआपसका सहकर्मी मित्रहरू हुन् भन्ने तथ्यलाई यस अवसरमा कदापि पनि भुल्न मिल्दैन ।
तदुपरान्त व्यावसायिक एवं मानवीय पुँजीलाई एक–आपसमा समाविष्ट गराउँदै श्रमको दक्षता विकासको आधारमा नयाँ–नौलो औद्योगिक विकासको उपयुक्त वातावरण तयार हुने देखिन्छ । उपर्युक्त कदमको विकासबाट औद्योगिक विविधताको अनेकन पक्षको सन्दर्भमा विभिन्न कोणबाट अध्ययन गर्दै तत्सँग सम्बन्धित अन्य व्यावसायिक यात्रा विस्तारको रूपरेखा तयार गर्न यस प्रकारका कदमहरू उदाहरणीय नमुना बन्न सक्ने देखिन्छ, जसले संगठनात्मक सामूहिक श्रमविकासको मार्गचित्र एवं लगानीको सु–अवसर समेत खडा गर्नेछ ।
जसका लागि आवश्यक पर्ने प्रशिक्षण÷तालिम आदिको उच्चत्तम प्रयोग गर्दै निपुणताले भरीपूर्ण मानवीय पुँजीको विकास र सम्बद्ध पक्षको खारिएको अनुभवबाट प्राप्त हुन आएको रचनात्मक सल्लाह–सुझावलाई व्यवहारतः लागू गर्ने हो भने व्यवसाय अभिवृद्धिको क्षेत्रमा उत्पादकत्वका साथै अपेक्षाकृत गुणस्तर सुधारमा समेत अब्बलता कायम रहनेछ भन्दा फरक नपर्ला । प्रस्तुत कार्यको महत्तम उपलब्धि भनेको न्यूनतम लगानीमा पनि अधिकतम मुनाफा आर्जन गर्न सक्ने औद्योगिक वातावरणको विकास गर्नु नै हो । यस प्रकारको औद्योगिक विकासको सम्भावनाले रुग्ण अवस्थामा रहेको सम्बद्ध मुलुकको अर्थतन्त्रलाई समेत क्रमशः नयाँ ऊर्जा प्रदान गर्नुका साथै औद्योगिक समूहको उल्लेख्य सहभागिता बढाउन ठूलो मद्दत पुग्नेछ, जसको परिणामजनक नतिजा भन्नु नै राजस्व अभिवृद्धिको क्षेत्रमा समेत उत्साहजनक प्रगति हासिल गर्दै राजस्व प्राप्तिका दरहरूमा लक्ष्यभन्दा अधिक सफलता प्राप्त हुने कुरामा ढुक्क हुन सक्ने परिस्थितिको निर्माण गर्न सहयोग पुग्ने देखिन्छ ।
तत् सन्दर्भमा पूर्णता प्राप्तिका लागि निश्चित रूपमा उद्योगमैत्री रणनीतिक योजनालाई राज्यले अख्तियार गर्दै उच्चकोटिको औद्योगिक वातावरण निर्माण गर्न कुनै पनि किसिमको कसर बाँकी राख्नु हुँदैन भन्ने मान्यता रहँदै आएको छ । मुलुकमा कायम रहँदै आएको समन्वयात्मक आर्थिक विकासको पाटोलाई गन्तव्यउन्मुख मार्गमा सफलतापूर्वक अगाडि बढाउन निर्देशित कानुनको अधीनमा रहने गरी कानुनी राज्यको अवधारणाअनुरूपको मैत्रीपूर्ण औद्योगिक रणनीतिलाई आत्मसात् गर्नु चुनौतीबीचको अनिवार्य औद्योगिक आवश्यकता हो ।
सम्बद्ध क्षेत्रको विकासका लागि अनिवार्य तŒव विशेषका रूपमा रहेको पुँजीपति एवं श्रमको भूमिकालाई कुनै पनि बहानामा अलग राख्न मिल्दैन । किनभने दुवै समूहको उल्लेख्य सहभागिता एवं समन्वयात्मक कार्य विभाजनबाट मात्र गहन औद्योगिक प्रतिफल प्राप्त हुन सक्ने भएको हुँदा उचित मूल्यांकन हुनु जरुरी भइसकेको छ । कुनै एक पक्षको मात्र न्यून मूल्यांकन हुन गएको खण्डमा औद्योगिक साखमा ह्रास आउने निश्चित छ । तसर्थ समूहगत भावनामा आधारित आर्थिक विकास र समृद्धिको गति नै यथार्थमा औद्योगिक संस्कृतिको प्रतिफल र आर्थिक विकासको मेरुदण्डसमेत हो ।
आर्थिक विकासको वैकल्पिक पक्षधरका रूपमा रहेको न्यून ब्याजदरमा प्राप्त हुने वैदेशिक कर्जाको अतिरिक्त मित्रराष्ट्रहरूकोे सहयोग र सद्भावलाई पृथक् राखेर नेपाललगायतका विकासोन्मुख राष्ट्रहरूमा औद्योगीकरणको परिकल्पना कुनै पनि हालतमा पूरा हुन सक्दैन । उक्त समूहको मैत्रीपूर्ण सहभागिताले औद्योगिक कार्ययोजनालाई विकाससम्मत कार्यदिशातर्फ अग्रसर गराउनेछ, जुन सफल औद्योगिक रणनीतिको मूल मन्त्रसमेत हो । किनकि राज्य, उद्योगी, श्रमिक तथा वैदेशिक लगानीकर्ताको सहयोगात्मक सम्बन्ध विस्तारबाट मात्र सफल औद्योगिक परिवेश तयार हुने हुँदा कुनै एक पक्षमा मात्र गतिरोध उत्पन्न भए समग्र औद्योगिक वातावरण नै धमिलिन सक्ने भएकाले हरेक समूहले तदारुकताका साथ दिइएको जिम्मेवारी निर्वाह गर्न अत्यन्त सजग भएर लाग्नुपर्ने हुन्छ ।
जसको विकासबाट नयाँ औद्योगिक रणनीति प्रतिपादन गर्नुका साथै सम्बद्ध क्षेत्रको सुदूर भविष्यको सफलतातर्फ केन्द्रित रहँदै सकारात्मक कार्ययोजनाको विकास गर्न आवश्यक पर्ने आधारस्तम्भ तयार गर्नसमेत सहयोग पुग्ने देखिन्छ । तथापि राज्यद्वारा निर्देशित तथा निर्धारित सफल औद्योगिक रणनीतिको प्रभावकारितापश्चात् मात्रै यसको सफलता वा असफलतालाई विधागत आधार मूल्यांकन गर्नुपर्ने हुन्छ, जसले औद्योगिक भविष्यको भाग्य निर्धारण गर्नेछ ।
यसदेखि बाहेक औद्योगिक संस्कृतिको विकासमा सूचना प्रवाहको भूमिकालाई कम आकलन गर्न मिल्दैन । अब्बल सूचना प्रवाहबाट मात्र श्रम–रोजगारदाता समूहलाई एउटै छातामुनि आबद्ध गराई सफल औद्योगिक वातावरण निर्माण गर्न सकिनेछ, जसले आफ्नो उत्पादित वस्तु तथा सेवालाई सही समयमा निर्दिष्ट गरिएको स्थान विशेषसम्म सुचारु गर्न सक्ने अवस्था तयार पार्दै औद्योगिक संस्कृतिको विकासको सम्भावनालाई मूर्तरूप दिनेछ भन्दा त्यति अत्युक्ति नहोला ।

प्रतिक्रिया दिनुहोस्