एकै महिनामा ७७ हजारले लिए श्रमस्वीकृति «

एकै महिनामा ७७ हजारले लिए श्रमस्वीकृति

पुस महिनामा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने युवाको संख्या हालसम्मकै उच्च देखिएको छ । विगत दुई वर्षदेखि न्यून रहेको वैदेशिक रोजगारीको श्रमस्वीकृति संख्या पुस महिनामा सबैभन्दा बढी देखिएको हो ।
वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयका कम्प्युटर इन्जिनियर अर्जुन यादवका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा २३ हजार ३७ ले विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या पुस महिनामा ७७ हजार पुगेको छ । यसैगरी अघिल्लो वर्षको पुसमा भने १४ हजार ७५३ जनाले मात्र श्रमस्वीकृति लिएका थिए ।
२७ पुससम्मको तथ्यांक हेर्ने हो भने सरदर दैनिक साढे २८ सयले श्रमस्वीकृति लिएका छन् । विगतको तुलनामा श्रमस्वीकृति लिनेको संख्या यो उच्च हो । गत आवको पहिलो ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने श्रमिकको संख्या साढे ५ गुणाले बढेको छ । कोरोनाविरुद्धको खोप सहज भएपछि नेपालबाट रोजगारीका लागि जान श्रमस्वीकृति लिने युवाको संख्या बढेको हो । तर, पुनः कोरोनाको तेस्रो लहर सुरु भएका कारण श्रमस्वीकृति लिनेको संख्या घट्न सक्ने विज्ञको भनाइ छ । कतिपय रोजगारदाताले नेपाल पठाएको मागपत्र रद्द गरिरहेको व्यवसायीले जनाएका छन् ।
गत वर्षको ६ महिनामा ४७ हजार ७ सय ५५ युवाले मात्र विदेश जान श्रमस्वीकृति लिएकोमा यो संख्या चालु आवको २७ पुससम्म २ लाख ६९ हजार पुगेको छ । कोरोना संक्रमणअघिको सामान्य अवस्थामा मासिक ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । चालु आवको मंसिरमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या विगतको सामान्य अवस्थामा भन्दा बढी पुगेको थियो । कोरोना संक्रमणदरमा कमी आएपछि वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको विभागले जनाएको छ । ताहाचल कार्यालयका अनुसार राजधानीसहित देशभरका ७ वटा श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था भएका कारण श्रमिकलाई सेवा लिन सहज समेत भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो । नेपाल र नेपाली युवाको प्रमुख आयस्रोतको रुपमा रहेको वैदेशिक रोजगार विगत ३ वर्ष घटेर पुनः बढ्ने क्रममा रहेको थियो । विगत ३ आर्थिक वर्षमा प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराईन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेको थियो । कतार, साउदी आरब र यूएई जाने नेपालीको संख्या शतप्रतिशत भन्दा बढीले कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्