रघुगंगाको कार्यालय भवन निर्माण «

रघुगंगाको कार्यालय भवन निर्माण


घर भाडामा लिएर कार्यालय सञचालन गरेका म्याग्दीका पाँच स्थानीय तहमध्ये रघुगंगा गाउँपालिकाले भवन निर्माण गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाटँमा दुई तले भवनमा १४ वटा कोठा बनाएर गाउँपालिकाको मुख्य र विषयगत शाखाहरूको सेवा एउटै भवनबाट दिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
गत वर्ष सभाहलको प्रयोजनका लागि भवन निर्माण सुरु भए पनि कोठा र तला थप गरी सभाहलसहितको कार्यालय भवन निर्माण गरिएको बताए ।
एक करोड ६८ लाख लागत अनुमान गरिएको सभाहलसहितको उक्त कार्यालय भवन निर्माणमा गण्डकी प्रदेश सरकारमार्फत विनियोजन भएर पूर्वाधार विकास कार्यालयमार्फत २६ लाख ५७ हजार रकम भुक्तानी भएको र बाँकी बजेट गाउँपालिकाले नै व्यवस्थापन गरेको जनाइएको छ । दुई तला भवन निर्माण भएपछि अहिले माथिल्लो तलामा सभाहल निर्माणको काम भइरहेको छ । भवन र सभाहल निर्माणमा ठेक्कामार्फत ७६ लाख र उपभोक्ता समितिमार्फत ५३ लाख बराबरको बजेटबाट निर्माणको काम गरिएको जनाइएको छ । माथिल्लो तलामा दुई सय जना क्षमताको सभाहल निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
गाउँपालिकालले मुख्य प्रशासनिक र विषयगत शाखाहरूको सेवा प्रवाहका लागि ६ वटा घर भाडामा लिएर मासिक ८५ हजार भाडा तिर्दै आएको थियो । आफ्नै कार्यालय भवन निर्माण गरेपछि भने स्वास्थ्य शाखा र शाखागत स्टोर भाडाकै घरमा रहने र अन्य सबै सेवा आफ्नै कार्यालयबाट प्रवाह गर्ने गाउँपालिकाले जनाएको छ । भवन निर्माण भएपछि मासिक ५० हजार बढी घरभाडा बराबरको रकम जोगिने भएको छ ।
गाउँपालिकाको जग्गा व्यवस्थापन समितिले मौवाफाँटमा २३ जना जग्गाधनीमार्फत गाउँपालिकाको प्रशासकीय भवनलगायतको पूर्वाधार निर्माण गर्ने प्रयोजनका लागि साढे १२ रोपनी जग्गा निःशुल्क उपलब्ध भएपछि गाउँपालिकाले बजेट विनियोजन गरेर जग्गा सम्माउने, बाटो, बिजुली, नालीलगायत निःशुल्क प्राप्त जग्गालाई गाउँपालिकाको नाममा लिने प्रक्रिया अन्तिम चरणमा रहेको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्