उपमहानगरलाई गिज्याउने सडक
उपमहानगरको सडक । त्यसमा पनि मेयरको घर जाने बाटो । कस्तो होला ? सबैलाई लाग्छ, ‘फराकिलो र चिल्लो पिच होला । दुईतिर नाली होला । सरर गाडी गुड्छ ।’
धनगढी उपमहानगरपालिकामा पनि यस्तै छ भन्ने तपाईंले सोच्नु भएको छ भने तपाईं गलत सावित हुनुभयो । नेपाली कांग्रेसका नेता नृपबहादुर वड धनगढी उपमहानगरको मेयर भइसकेपछि घर जान विगत करिब पाँच वर्षदेखि त्यही बाटो प्रयोग गर्छन् । तर बाटोको दुर्दशा हेर्दा त्यो सडक कुनै विकासमा सबैभन्दा पछि परेको बस्ती जाने जस्तो छ । वर्षको बाह्रै महिना हिलो हुने त्यो सडकमा खाल्डाखुल्डीको ठेगान छैन । “जहिले पनि पानी र हिलोले गर्दा त्यो सडकमा हिँड्ने नागरिकले पाउनुसम्म दुःख पाउँछन्,” स्थानीय देवराज विनाडीले भने, “कैयौं पटक म आफै पनि हिलोमा परेको छु । हाम्रो ३÷४ जना स्टाफले पनि अफिस आउँदा र फर्किंदा हिलोमा खस्नु परेको छ । बजार, कार्यालय जान भनेर हिँंडेका मानिस, स्कुल जान हिंडेका विद्यार्थीका खुट्टाभरि हिलो हुन्छ । कहिले त गाडी, मोटरसाइकल आउँदा उनीहरूको जिउभरि हिलो छ्यापिन्छ ।”
धनगढी–५, पिपल चौतारादेखि लब्ली चोक हुँदै दाहाल टोलसम्म करिब एक किलोमिटर सो सडकमा नागरिकले वर्षौंदेखि दुःख खेप्दै आएको भए पनि उपमहानगरपालिका त्यसलाई बनाउन चासो दिएको छैन । धनगढीका मेयर वडले समेत आफ्नो घर जानेबाट बनाउन चिन्तित छैनन् । कारण उनले मेयर निर्वाचित भएपछि धनगढीको वडा नम्बर १ मा बसाइँ सरेका छन् । यद्यपि, उनलाई परिवारका अन्य सदस्यलाई भेट्न सोही सडक भएर घर तर जानै पर्छ ।
विगत एक वर्ष (आर्थिक वर्ष २०७७÷०७८) देखि सडकको नाली खन्ने काम भएको छ । तर एकवर्ष बढी भए पनि नाली बनिसकेको छैन । सो सडक छिट्टै बनाउन स्थानीय नागरिकले पटक पटक उपमहानगरपालिकालाई दबाब दिएपछि जनप्रतिनिधि र कर्मचारीले कुरै सुनेका छैनन् । सोही सडक किनारमा घर भएका उपप्राध्यापक हरि जोशीले उपमहानगरपालिका र वडामा गएर भन्दा ‘कहिले बजेट छैन, कहिले के छैन’ भन्दै आलताल गर्ने गरेको बताए । उनले उपमहानगरको विकसित मानिएको वडामा त्यस्तो सडक हुँदा ‘उपमहानगरपालिकालाई नै गिज्याइरहेको’ बताए ।
उनले सडकको दुर्दशाले गर्दा विद्यार्थी, कर्मचारी, मजदुर, व्यवसायीलगायत आमनागरिक सबैलाई सास्ती बेहोर्नु परेको बताए । सोही बाटो भएर धनगढी वडा नं. ६ र ११, गोदावरी नगरपालिकाको वडा नं. ५, ८, ७ र ९ बासिन्दाले धनगढी बजारसँंग जोड्छ । सो क्षेत्रमा ११ वटा निजी, तीनवटा सरकारी विद्यालय छन् । त्यही बाटो भएर क्याम्पस पढ्ने विद्यार्थीसमेत हिँड्ने गरेका छन् ।
धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष हिरा पातलीले ठेकेदारले काम गरिरहेको दाबी गर्छन् । “काम भइरहेको छ,” उनले भने, “तपाईं आफै गएर हेर्नुस् । निरन्तर काम भइरहेको छ ।” यद्यपि, ठेकदारले चालू आर्थिक वर्षमा कुनै पनि काम गरेको छैन । धनगढी उपमहानगरका इन्जिनियर द्विजराज भट्टले सो सडक निर्माणको जिम्मेवारी क्षेत्रीय सहरी विकास कार्यक्रमको भएको हुनाले सडकमा भएको समस्या सोही कार्यक्रमले समाधान गर्नुपर्ने बताए ।
सो सडकमा खानेपानीको पाइप र स्थानीयको घरबाट निस्किने ढलको पानी सडकमा जम्मा हुने गरेको छ । उपमहानगरपालिकाले सो पानीको निकाससमेत गर्न नसकेका कारणले गर्दा सडक वर्षैभरि हिलाम्य हुने गरेको स्थानीय प्रेम चौधरीले बताए । स्थानीय देवराज विनाडीले उपमहानगरपालिका र स्थानीय नागरिकको लापरबाहीका कारण सडकमा सधैंभरि हिलो हुने गरेको बताए । उनले उत्तरतिरकाले पानी सडकमा छोड्ने र दक्षिणतिर जान नपाउने गरेकोले पनि समस्या निम्तिएको छ । उनले मोडमै खाल्डो बनाएर पानी थुपारिएकाले चारैतिरबाट सवारी साधन गुडाउँदा साइकल÷मोटरसाइकल चालकले भुइँमा खुट्टा टेक्नु पर्दा चिसोमा जुत्ता मोजा भिजेर दुःख झेल्नु परेको बताए ।
क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत सो सडक निर्माणको ठेक्का २०७७ साउनमा कालिका कन्ट्रक्सनलाई दिइएको छ । पिपल चौतारादेखि दाहाल टोलसम्म ११ सय मिटर सोडकमा चार सय मिटरमात्रै नाली बनेको छ । संघीय योजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर ड्रोना कट्वालले खानेपानीको पाइप सडकमा परेको हुनाले निर्माणकार्य प्रभावित भएको बताए । उनले खानेपानीको पाइप फुटेर र ढलको पानीसमेत सडकमा आउने गरेकाले हिलो भएको बताए । स्थानीयले खेतमा पानी जान नदिएका कारण पानी र हिलोको समस्या तत्काल समाधान नभएको कट्वालले बताए । उनले नाली निर्माणकार्य सम्पन्न भएपछि मात्रै समस्या समाधान हुने बताए । उनले खानेपानीको पाइप व्यवस्थापन गर्ने बजेट स्टिमेटमा नभएको समस्या समाधन गर्न ढिलो भएको बताउँदै उनले बजेट थपेर खानेपानीको पाइप सडक बाहिर पर्ने गरी सारिने बताए ।