समाजवादको कहिल्यै पूरा नहुने सपना

समाजवादका लागि स्वनिर्भर अर्थव्यवस्था हुनुपर्छ, तर यहाँको अर्थबजार परनिर्भर छ । युवाहरूलाई बेचिएको छ, विप्रेषण रकम र बजेट उस्तै आकारको छ ।
यसअघिको राजनीतिक व्यवस्थाले शोषणरहित समाजको सिर्जना गर्ने र वि.सं. ६० कै दशकमा जनताका आधारभूत आवश्यकता पूरा गरिसक्ने भनेको थियो । त्यतिबेलासम्म देशमा आजको जस्तो ऋण पनि थिएन, अनि देशले खाद्यान्न लगायत धेरै वस्तुहरू निर्यात पनि गथ्र्यो । वि.सं. २०४६ को परिवर्तनसँगै यी अभियानहरूले बिदा लिए । त्यसपछिको ३२ वर्षको अभियान भनेको परिवर्तन अनि समाजवादउन्मुख अभियान हो, जुन आत्मरतिमा अलमलिएको मात्रै होइन, दिनदिनै समस्याग्रस्त देखिन्छ । समाजवादको सपना देख्नु नराम्रो होइन, तर त्यसतर्फ जाने बाटाहरूमा भने हामी धेरै तगारो हाल्दै छौँ आफैं ।
देशको माया गर्ने भनिन्छ, देशलाई रूपान्तरणको अभियानमा लागेको भनिएको दलले प्रज्ञा भवनको औपचारिक उद्घाटनको कार्यक्रममा राष्ट्रिय एकताका अभियन्ताको फोटो राखेन, विदेशीहरूको राखियो । राष्ट्रिय पोसाकप्रतिको मोह छैन, संसद्मै टाई र सुटको पोसाकमा सजिने चलन छ । पदाधिकारीहरूले कमसेकम आफ्ना नानीहरूलाई सामुदायिक विद्यालयमा पढाउने भनिन्छ, तर आफ्नै तेस्रो पुस्ता महँगो निजी विद्यालयमा पढ्दै गरेको तथ्य बाहिर आउँछ । समाजवादको सपना विचार र दर्शनमा आधारित हुनुपर्ने हो, तर आफैँ हजारौँ मान्छेको निर्मम हत्या गर्दै सत्तामा पुग्छन् र आफ्नै राजनीतिक प्रतिवेदनमा देशमा कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति नेता–कार्यकर्तामा बढ्दै गएको भन्ने उल्लेख गर्छन् ।
समाजवादको पहिलो आवश्यकता भनेको राजनीतिक दर्शन नै हो, हामीकहाँ राजनीतिक होइन, पारिवारिक दर्शन छ र त छोरी, बुहारी, नाता कुटुम्बलाई पद वितरण हुन्छ, जोडी मिलाएर शक्ति र ओहदामा पु-याइन्छ । रेलको सपना बाँडिन्छ, भएको रेललाई घुम्टो ओढाएर राखिन्छ, मोनोरेलको नाराले विश्राम नपाउँदै केबलकारको चर्चा चल्छ । समाजवादको आधार भनेको राष्ट्रिय एकता हो, अखण्ड भूमि दिनदिनै चिरा परेको भान हुँदै छ, क्षेत्रीय अखण्डतामा समस्या छ, सन्तुलन त छैन नै यहाँ । दलहरूमा एकता छैन, चिराचिरा छ, दलमै एकता नभएपछि देशमा कसरी हुन्छ ? दिनदिनै विदेशी राजदूत आएर दलहरूमा सुपर ग्लु लगाउनुपरेको छ ।
सामाजिक सद्भाव छैन, जातजातिमा बेमेल गराइएको छ, राजनीतक दर्शन नभएका कारण परिवेशअनुसार सत्तामा पुग्न असमान घाँटी जोडिन्छ, स्वार्थ पूरा नभए फाटिहाल्छ । नैतिक, इमानदार व्यक्तिहरूको उपस्थिति छैन । समाजवादका लागि स्वनिर्भर अर्थव्यवस्था हुनुपर्छ, तर यहाँको अर्थबजार परनिर्भर छ ।
युवाहरूलाई बेचिएको छ, विप्रेषण रकम र बजेट उस्तै आकारको छ । स्वदेशमा उद्योग कलकारखाना छैन, भएका बेचियो, बेरोजगारी समस्या विकराल छ, चरम गरिबी र बेरोजगारीका कारण श्रमशील व्यक्तिहरू पासपोर्ट बनाउँदै विदशीको भाँडा माँझ्न दौडिने गरेका छन् । विदेशी ऋण र सहायतामा देश चलेको छ, जनता करको मारमा पिल्सिएका छन् ।
सकारात्मक सोच र वैज्ञानिक परिवर्तन समाजवादको अर्को आधार हो, संसार आईटी युगमा प्रवेश गरेको छ, हामी वाष्प इन्जिनकै युगमा छौँ । उच्च सुविधा हामीलाई चाहिएको छ, त्याग भनेको मलमूत्रमात्र गर्ने भएका छौँ हामी, देशका लागि त्याग गर्नुभन्दा दलका लागि मरिहत्ते गर्ने हाम्रो संस्कृति छ, जनता भुइँमान्छे हुने नेताको जीवनशैली उच्च विलासितामा छ, बुढेसकालसम्म सत्ताकै वरिपरि रमाउने अनि अवकाशमा राज्यकै ढुकुटीको दोहन र मरेपछि संस्थाका नाममा राज्यले बजेट दिनुपर्ने भएको छ, । बाँचुन्जेल विदेशमा उपचार गराइनुपर्ने परिवेशलाई हेर्दा समाजवाद नेतालाई आयो, अरूलाई आएन भन्नुपर्छ । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणले देशमा कुटीर उद्योग खोल्नु, विदेशीलाई धेरै माया नगर्नु भनेका थिए तर हामी भने एमसीसीको लडाइँ गर्दैछौँ, जसरी भए पनि विदेशीले दिएको लिनैपर्ने भएको छ ।
उग्र नारा दिन्छौँ राष्ट्रियताको, चुनावी भ-याङको नारा पनि त्यही हुन्छ र त हामी राष्ट्रियतालाई बजारमा राख्छौँ, चुनावताका प्रयोग गर्ने, अरू बेला राति–राति नै गुप्तचरहरूलाई कोठाकोठामा भित्र्याउँछौं ।
सिमाना विवाद समाधान हुँदैन, देशको नक्सा कागजमा सीमित हुन्छ । नागरिकमा प्रगतिशील चिन्तन हुनुपर्नेमा कुण्ठा, ईष्र्या, वैमनश्यता, निराशा देखिन्छ, विध्वंश र रक्तकुण्डबाट उदय भएको समाजवादले कति समयपछि यसको फल दिने हो, अत्तोपत्तो नै छैन । दुई विपरीत धु्रवमा रहेका छिमेकीबीच हामीले स्थापना गर्न खोजेको समाजवाद अलमलिएको छ । ज्येष्ठ नागरिकलाई सबै सुविधा दिइएको भनिन्छ, ती चिल्लै छन् । न सवारीधनीले भाडा छुट गर्छ, न अस्पतालले औषधिमूलो नै गर्छ । संविधानमा स्वास्थ्य, शिक्षाको मौलिक हकको व्यवस्था हुन्छ तर यथेष्ट पैसा नतिरेसम्म बालबालिकाहरूलाई कखरा सिक्ने सुविधा छैन । समाजवादमा उच्च नैतिक आचरणको खाँचो पर्छ, तर यहाँ दुव्र्यसनीहरूकै समाज छ र त एउटै महिलामाथि नौ जनासम्मले बलात्कार गर्छन्, पहुँचमा भएकाहरूको पत्तै लाग्दैन, निरीहहरू भए मात्र बाहिर देखिने हुन् ।
समाजवादको आधार भनेको योग्यता, क्षमता, विज्ञता हो, यी तीन तŒव नै हामीकहाँ छैन । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ । दलको टीका लगाएपछि जस्तोसुकै व्यक्ति पनि पदमा पुगिहाल्छ । बहस हुने थलो संसद् कुनै दलको बन्धकमा बसिदिन्छ, अकाल मृत्युवरण गर्छ, कोमामा पुग्छ, ठाडो आदेशले खुल्छ, फेरि बन्द हुन्छ, खुल्दा बिजनेस पाउँदैन । देशैभरि संस्थाहरू थपिन्छन्, राजनीतिक रोजगारी भने मिल्छ, सानो आकारको देशमा मन्त्रालय, मन्त्री, सांसदको संख्या गनेरै भ्याइँदैन, सबैलाई भवन, गाडी चाहिएकै छ, सेवाको रूपमा लिइनुपर्ने पदलाई मेवाका रूपमा लिइन्छ, दिनदिनै बेरुजुको प्रतिशत बढेकै छ, विकास खर्च घटेकै छ । विदेशी ऋण बर्सिएजस्तै गरी समाजवाद बर्सने होइन, यहीँकै श्रम, सीप, कच्चा पदार्थ, लगानी नभएसम्मको समाजवादको सपना अधुरै रहन्छ ।
संगठित हुनुपर्ने दल र समाज असंगठित छ, विदेशीको इसारामा मात्र काम हुने प्रणाली छ, त्यो पनि रिमोट एउटाको हातमा छैन, जताततै रडाको मात्रै छ, महाधिवेशनहरूमा भएको भड्किलो खर्च पनि देखियो, लगानी गर्न सक्नेहरूले कोटामा चुनाव जितेको पनि देखियो, संसारकै उच्च धनी व्यक्तिहरू पनि दलको निर्वाचनमा विजयी भएको दखियो, जनताले निर्वाचन नगरे पनि दलले गरेकै हो, प्राज्ञ भन्नेहरू दलको काममा लाग्नु हुन्न भन्ने कानुन भए पनि धेरैले दलको काममा प्रत्यक्ष भाग लिएको पनि देखियो । समाजवादमा सिद्धान्त एकातिर व्यवहार अर्कोतिर हुँदैन ।
समाजवाद भन्नु राष्ट्रिय आयको वितरण त हुँदै हो र त्यसमा क्रयशक्तिको वृद्धि पनि हो, तर यहाँ क्रयशक्तिको वृद्धि कहाँ भएको छ ? कुन भुइँमान्छेलाई आय वितरण भयो ? किनेको मूल्यभन्दा दोब्बर गरी पेट्रोलियम पदार्थको सरकारी बिक्रीलाई नै समाजवाद भन्ने हो र ? कति थरी कर लगाइएको छ एक लिटर इन्धनमा, भुटानमा भन्दा महँगो छैन र स्वदेशी उत्पादनको बिजुलीमा ? विश्वमा समाजवादको नमुना हो चीन, त्यहाँको जस्तो अनुशासन, सुशासन, जवाफदेहिता, पारदर्शिता, मितव्ययिता छ त यहाँ ? त्यहाँको जस्तो नीतिप्रधान नेता भए त यहाँ ? या भारतको जस्तो प्रशासनिक क्षमता वा देशको समृद्धि छ त यहाँ ? अरूको सिको गर्न सजिलो हुन्छ तर माटो सुहाउँदो भयो÷भएन व्यवस्था, मूल्यांकन गर्ने बेला भएन त ? विशुद्ध सामाजिक सेवाको रूपमा हेरिनुपर्ने राजनीतिक सेवालाई उद्योगको रूपमै हेरिरहने हो र ? देश सधैँ दलमय हुने हो र केवल निर्वाचनमात्रै हो र देशको अभियान ? लाखौं उर्वर हातहरूलाई विदेशबाट फर्काएर स्वदेशको उत्पादन क्षेत्रमा प्रयोग गर्नुपर्ने बेला भएन अब ? बिहे गरेको भोलिपल्टै बिदेसिनुपर्ने अनि बाकसबाट फर्केर श्रीमतीको सिउँदो पुछिने दिन रहिरहेसम्म समाजवादको सपना यहाँ अधुरै रहन्छ ।
३० वर्षसम्म यहाँ मेलम्ची उठ्दैन, भएका धारामा महिनामा एक दिन पानी होइन बिलमात्रै आउँछ, सरकारी कार्यालयहरू कुन दिन कहाँ खुलेका छन्, जोखाना हेर्नुपर्छ, बल्ल त्यहाँ पुगियो भने मोटो थैली नतेस्र्याइै कुनै काम हुँदैन, घरजग्गाको शुल्क महँगो गराएर सरकार आफैंले जनताको ढाड सेकाएको छ । शोषणरहित समाज सिर्जनाको लक्ष्य लिएको अघिल्लो व्यवस्थामा प्रति एक प्लट जग्गाको नाममात्रको शुल्क रु. १ थियो वर्षको, अहिले कस्तो छ अवस्था ? नगरपालिका भनी कर थोपरिएको छ, जग्गामा बाटो छैन, ढल छैन, पानीको वितरण त कताको कुरा हो, बेथिति र विसंगतिको चाङ छ, देशमा सुशासन दिन्छु भन्नेहरू सपना देख्छन् आफ्नै रहनसहनको, शैलीको, सबैले दूध र भात खाएको सोच्छन्, जबकि देशमा मूल खाद्यान्न चामल, दाल, गेडागुडी, तेल, तरकारी भनौँ हरेक भान्साका वस्तु, खाना, नाना, छानाका सामान सबैजसो विदेशबाट आउनुपर्छ । पराधीन अर्थतन्त्र र परदेशीको सहारामा उनीहरूको ऋण बोकेर समाजवाद कहिले प्रकट होला त ?