नेप्सेको कारोबार रकम ४१ प्रतिशतले घट्यो «

नेप्सेको कारोबार रकम ४१ प्रतिशतले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मात्र नभएर समग्र कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा नेप्सेमा ६२ अर्ब ४० करोड ९८ लाख रूपैयाँ बरावरको सेयर किनबेच भएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा नेप्सेमा भएको कारोबार रकम गत आर्थिक वर्ष २०७३-७४ को मंसिरसम्मको तुलनामा ४१.२ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा नेप्सेमा १ खर्ब ६ अर्ब १४ करोड ५८ लाख रूपैयाँ बरावरको सेयर कारोबार भएको थियो ।
चालु आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा देखिएको समस्याका कारण सेयर कारोबारमा पनि असर गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । सेयर बजार घट्दो टे«न्डमा देखिएपछि लगानीकर्ताले सेयर होल्ड गर्ने प्रवृत्ति बढेको उनको तर्क छ । “चालु आवको मंसिरसम्ममा सेयर कारोबार नै घटेको छ,” उनले भने, “नयाँ बिमा कम्पनीको आगमन, वित्तीय क्षेत्रको बढ्दो ब्याजदर, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइलगायतका कारणले सेयर लगानीकर्ताले लगानी बढाउन नचाहेकाले करोबार रकम घटेको हुन सक्छ ।” सेयर बजारमा नयाँ लगानीकर्ता नआएको र भएका लगानीकर्ताले बजारको अवस्था उत्साहजन नहुँदा सक्दो होल्ड गरेका कारण कारोबार रकम घटेको हो ।
चालु आर्थिक वर्षको सुरुवातमा हालसम्मकै उच्च १८८१ अंकमा पुगेको नेप्से परिसूचक त्यसपछि अस्थिर छ । राजनीतिक तथा आर्थिक घटनाक्रमहरुका कारणले पनि सेयर बजार स्थिर बन्न सकेको छैन । त्यसो त हालसम्मको उच्च विन्दुमा बजार रोकिन पनि सकेन । पछिल्लो समयमा धितोपत्रको आधिक आपूर्ति भएको पुँजी बजारमा नयाँ लगानी नआएकाले पनि कारोबार रकममा गिरावट आएको हो ।
चालु आवको मंसिरसम्ममा नेप्सेमा कारोबार भएका सेयरको संख्या समेत कमी आएको छ । यो पाँच महिनामा नेप्सेमा १४ करोड ३६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएका छन् । गत आवको सोही अवधिमा नेप्सेमा १६ करोड ८६ लाख ३४ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।
तर यो पाँच महिनामा नेप्सेमा भएको कारोबारको संख्या भने सुधार आएको छ । मंसिरसम्ममा नेप्सेमा ६ लाख २ हजार ४९ वटा कारोबार भएका छन् । गत आवको सोही अवधिमा भने नेप्सेमा ५ लाख ६० हजार ५ सय कारोबार भएका छन् ।
सेयर बजार बढ्दो क्रममा भएको अवस्थामा बजारको अवस्था पनि सुधार हुने र घट्दो क्रममा घट्ने स्वाभाविक हो । पछिल्लो समयको नेप्सेको कारोबार रकममा आएको गिरावटले सेयर बजार घट्दो गतिमा रहेको देखिन्छ । पछिल्ला दिनहरुमा निरन्तर घटेको नेप्से १४ सयभन्दा तल झरीसकेको छ । कारोबार रकम पनि औसत दैनिक कारोबार भन्दा धेरै तल आएको छ । हाल नेप्सेको दैनिक कारोबार रकम ४० करोड रूपैयाँ बरावरको हाराहारीमा भएको छ । घट्दो बजारमा कारोबार रकममा पनि कमी आउनु भनेको सेयर लगानीकर्ता अझै पनि लगानी बढाउने अवस्थामा छैनन् ।

प्रतिक्रिया दिनुहोस्