काठमाडौं उपत्यकामा जताततै सवारी जाम «

काठमाडौं उपत्यकामा जताततै सवारी जाम

पछिल्लो समय राजधानीका मुख्य सडकहरू मात्र नभएर सहरका भित्री सडकहरूमा पनि अत्यधिक मात्रामा सवारी साधनहरूको जाम बढिरहेको छ । विशेष गरी कार्यालय समयमा राजधानीको शंखमूल क्षेत्र, अनामनगर क्षेत्र, नयाँ बानेश्वर, पुरानो बानेश्वर तथा थापागाउँ, गौशाला–चाबहिल सडकखण्ड, कोटेश्वर, ¬जडीबुटीलगायत मुख्य क्षेत्र सवारी साधनहरूको अत्यधिक जाम हुने क्षेत्र हुन् ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सरकारका पालामा सडकको भौतिक संरचना बढाएर फराकिलो गर्ने काम तीव्र भएसँगै राजधानीभित्रका सडकहरू फराकिला पनि भए ।
तर, भित्रका सहायक सडकहरूको भौतिक संरचना लामो समयसम्म पुरानै अवस्थामा रहँदा यी सहायक सडकहरू साँघुरिँदै गए अनि सवारी साधनहरूको चाप ह्वात्तै बढ्यो र राजधानीभित्रका हरेक सहायक सडकमा पनि पछिल्लो समय सवारी साधनको अत्यधिक जाम हुन थाल्यो । राजधानीका मुख्य सडकहरूमा अत्यधिक जाम हुने र ट्राफिक लाइटमा पर्ने भएका कारण पनि धेरै सवारी चालकहरू कार्यालय समयमा सजिलै गन्तव्य स्थानसम्म जानका लागि वैकल्पिक मार्गको रूपमा धेरै सहायक सडकहरू प्रयोग गर्छन् । राजधानीभित्र रहेका वैकल्पिक सडकहरूमध्ये खोलाको किनार अर्थात् करिडोर पनि एक वैकल्पिक मार्गको रूपमा रहेको छ । सवारी चालकहरू वैकल्पिक सडकको रूपमा छोटो मार्गका लागि धोबी खोला करिडोर, बागमती करिडोरलगायतका मार्ग हुँदै गन्तव्यमा पुग्छन् । तर, करिडोर हुँदै जाँदा पनि बालकुमारी पुल, बिजुलीबजार पुललगायत धेरै पुलमा जीर्ण भौतिक सडकको कारणले गर्दा पनि यी क्षेत्रमा कार्यालय समयमा अत्यन्त सवारी साधनहरूको जाम हुन्छ ।
यसरी सवारी साधनको जामले गर्दा भित्रका सहायक मार्गमा समेत धेरै सवारी साधनहरू जाम हुने गरेको देखिन्छ ।
सडकको भौतिक मर्मत–सम्भारका कारण तथा सडकमा जथाभावी भौतिक संरचनाका सामानहरू राख्नाले र सडकपेटीमा अव्यवस्थित रूपमा व्यापार–व्यवसाय गर्नाले पनि सवारी जाम हुने गर्छ । अर्को कुरा, हाम्रो राजधानीभित्र रहेका सडकको पुरानै भौतिक संरचनाहरूले गर्दा पनि धेरै सवारी साधनहरूको जाम हुने गर्छ । तर, पछिल्लो समय कोरोना महामारीका कारण पनि सार्वजनिक यातायातमा यात्रा गर्दा मानिसहरूको बढी भीडभाड हुने, स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालना नगर्नेजस्ता कारणहरूले गर्दा सार्वजनिक यातायातमा बढी संक्रमण फैलिने उच्च जोखिम भएकाले धेरै मानिसको रोजाइमा साना दुईपाङ्ग्रे सवारी साधन परेकाले पनि मानिसहरूले दुईपाङ्ग्रे सवारी साधनको बढी प्रयोग गरेको देखिन्छ ।
पछिल्लो ६ वर्षको तुलनामा मात्रै उपत्यकामा हाल आएर दोब्बरले सवारी साधन बढेको देखिन्छ । बागमती प्रदेशमा सवारी साधनको दर्ता संख्या १७ लाख ६ हजार ८ सय ३४ रहे तापनि उपत्यकामा मात्रै दैनिक १५ लाख हाराहारीमा सवारी साधनहरू गुड्छन् भने मुलुकभर ३९ लाख ८७ हजार २ सय ६६ सवारी साधन विभागमा दर्ता भएका छन् । उपत्यकामा गुड्ने १५ लाख सवारी साधनमध्ये १३ लाखभन्दा बढी त साना दुईपाङ्ग्रे सवारी साधनहरू मात्र छन् ।
लामो समयसम्म सडकको भौतिक संरचना पुरानै अवस्थामा रहने र सवारी साधनको संख्या दिनानुदिन थपिँदै जानाले पनि काठमाडौं उपत्यकामा अत्यधिक सवारी जाम हुने गर्छ । सडकको अवस्था साँघुरो अनि त्यही साँघुरो सडकको छेउछाउमा घर निर्माणका सामग्रीहरू छरपस्ट राख्नाले पनि चौतर्फी सवारी जाम हुने देखिन्छ । त्यतिमात्र होइन, सडकपेटीमा व्यापारीहरूले आफ्ना सामान राख्नाले पनि बटुवाहरू पेटीबाट हिँड्न पाउँदैनन् । बाध्य भएर सडकबाट हिँड्दा यसले दुर्घटना निम्तिनुको साथै सवारी साधनसमेत जाम हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्