जडीबुटी कम्पनी आईपीओे निष्कासनको तयारीमा «

जडीबुटी कम्पनी आईपीओे निष्कासनको तयारीमा

सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी तीन वर्षयतादेखि नाफामा गएपछि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओे) निष्कासनको तयारीमा लागेको छ । ३ वर्षसम्म मुनाफामा गएपछि आईपीओे निष्कासन गर्नुपर्ने प्रावधानअनुसार कम्पनीले चालु आर्थिक वर्षभित्र नै आईपीओ निष्कासन गर्न लागेको हो ।
कुनै समय घाटामा रहेको कम्पनी कर्मचारीलाई उपदान दिन बजेट नभएपछि जग्गा बेच्न बाध्य भएको थियो । कम्पनीको मुनाफाले आईपीओ निष्कासनका लागि बाटो खुलेको छ । कम्पनीका अध्यक्ष समेत रहेका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुंगानाले कम्पनी मुनाफातिर जान थालेपछि आईपीओ निष्कासन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, “१ अर्ब २० करोड पुँजीको ४९ प्रतिशतसम्म सर्वसाधारणका लागि सेयर निष्कासन गरिने छ । अहिले संचालक समितिमा छलफल भएको छ, साधारणसभाले निर्णय स्वीकृत गरेपछि अर्थको सहमति आउनुपर्छ अनि सेयर निष्कासनका लागि बाटो खुल्नेछ ।”
कम्पनीका अनुसार आव २०७५-०७६ मा पहिलो पटक कम्पनीले एक करोड ९२ लाख नाफा कमाएको थियो । आव २०७६-०७७ मा कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो भने आव २०७७-०७८ को अहिले लेखापरीक्षण भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा रहेको वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थान सम्बन्धी प्रगति प्रतिवेदन अनुसार सरकारका औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये जडीबुटी कम्पनी नाफामा रहेका संस्थानमध्ये एक हो । कम्पनीले आव २०७६-०७७ देखि सेयरधनीलाई लाभांश बाँड्न थालेको छ ।
जडीबुटी बेचेर नाफा कमाउने उद्देश्यले २०३८ साल पुसमा कम्पनी स्थापना गरिएको थियो । स्थापनाको सुरुका वर्षमा नाफा कमाएको कम्पनी पछिल्लो समय भने घाटामा थियो । कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीका अनुसार उत्पादनमा वृद्धि र स्रोतसाधनको उचित प्रयोग गरेपछि कम्पनीले मुनाफा कमाउन थालेको हो । हाल सरकारी निकायमात्र कम्पनीको सेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको सेयर सदस्यका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्