विकासे मन्त्रालयकै खर्च सुस्त «

विकासे मन्त्रालयकै खर्च सुस्त

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा अधिकांश विकासे मन्त्रालयले १५ प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्रमा सबै मन्त्रालयलाई ३० प्रतिशत बजेट खर्च गर्न निर्देशन दिए पनि अधिकांश विकासे मन्त्रालयको खर्च १५ प्रतिशतको हाराहारी रहेको सरकारी तथ्यांकले देखाएको हो ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित ‘आर्थिक वर्ष २०७८-०७९ को बजेट खर्च समीक्षा कार्यक्रम’ मा प्रस्तुत तथ्यांकअनुसार मन्त्रालयगत खर्चको अवस्था निकै नाजुक छ । पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आए पनि खर्चको अवस्था भने सन्तोषजनक नदेखिएको हो ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार, गत सोमबारसम्ममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुल विनियोजित बजेटको १३.४५ प्रतिशत खर्च गरेको छ । सो मन्त्रालयले हालसम्म २१ अर्ब रुपैयाँ खर्च गरेको छ, जुन गत वर्ष २०७७-०७८ को तुलनामा झण्डै ५ प्रतिशतले कम हो । अघिल्लो वर्ष मन्त्रालयले सोही अवधिमा २५ अर्ब अर्थात् १८.८२ प्रतिशत बजेट खर्च गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि चालू आवमा सरकारले एक खर्ब ५६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार, चालू खर्च धेरै भएका केही मन्त्रालयले मात्र ३० प्रतिशतभन्दा धेरै बजेट खर्च गरेका छन् भने पुँजीगत खर्च धेरै विनियोजन हुने मन्त्रालयको अवस्था कमजोर देखिएको छ ।
चालू वर्षमा ४२ अर्बभन्दा धेरै बजेट विनियोजन गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले १२.१ प्रतिशत अर्थात् पाँच अर्ब रुपैयाँमात्र खर्च गरेको छ । गत वर्ष सोही अवधिमा मन्त्रालयले १३.९४ प्रतिशत बजेट खर्च गरेको थियो ।
त्यस्तै चालू वर्षमा झण्डै २४ अर्ब रुपैयाँ विनियोजन गरिएको खानेपानी मन्त्रालयले यस वर्ष ९.७९ प्रतिशत अर्थात् दुई अर्ब ३४ करोड रुपैयाँ खर्च गरेको छ । गत वर्ष दुई अर्ब ५४ करोड रुपैयाँ अर्थात् ९.०५ प्रतिशत रकम खर्च गरेको थियो ।
गत वर्षको पहिलो ६ महिनामा १७.६६ प्रतिशत खर्च गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको सोही अवधिमा एक अर्ब ६५ करोड अर्थात् १५.४१ प्रतिशत बजेट खर्च गरेको छ । यस वर्ष ३० प्रतिशतभन्दा धेरै बजेट खर्च गर्नेमा थारु आयोग, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका छन् । उनीहरूले क्रमशः ७१.९६, ४२.५६, ३४.९५ तथा ३३.४२ प्रतिशत खर्च गरेका छन् ।
समग्र खर्चतर्फ भने सोमबारसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च ४१ अर्ब अर्थात् ९.३९ प्रतिशत भएको छ भने चालूतर्फ तीन खर्ब ८६ अर्ब अर्थात् ३८.९ प्रतिशत खर्च भएको छ । त्यस्तै वित्तीय खर्चतर्फ ४८ अर्ब अर्थात् २५.४१ प्रतिशत खर्च भएको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ । गत वर्ष सोही अवधिमा भने पुँजीगत खर्च १४.४०, चालू ३६.०८ तथा वित्तिय व्यवस्थापनतर्फ १३.०६ गरेर कुल २८.१९ प्रतिशत भएको थियो ।
मन्त्रालयमा आयोजित वैठकमा अर्थमन्त्री शर्माले चालू वर्षको बाँकी ६ महिनाको अवधिमा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै मन्त्री शर्माले जसरी पनि खर्च गर्न आग्रह गरेका हुन् । “आर्थिक वर्षको ६ महिना बित्न लागिसक्यो, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ,” उनले भने, “त्यसका लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु ।”
विद्यमान प्रणालीमा सुधार आवस्यक रहेको उनको भनाइ छ । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई-चार दिन जान्छ । यसलाई डिजिटल माध्यममा लैजानुप-यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुप-यो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्