नेप्से परिसूचक ४९.१९ अंकले वृद्धि «

नेप्से परिसूचक ४९.१९ अंकले वृद्धि


पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढेको सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।
मंगलबार कारोबारको सुरुवातमा उच्च अंकले बढेको नेप्से दिनभरी उत्तरचढावका बीच कारोबारको अन्तिम समयमा २ हजार ८४८ विन्दुमा पुगेर तल झरेको छ । यसदिन नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ विन्दुमा पुगेको छ । त्यस्तै मंगलबार ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२४ अंक बढेको छ ।
यसदिन कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से उकालो लागेपनि मंगलबार कारोबार रकम भने सोमबारको तुलनामा केही घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।
नेप्से परिसूचकका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक हरियाली छाएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ६.१५ प्रतिशत बढेको छ । लघुवित्त, जीवन बिमा, होटल तथा पर्यटन र विकास बैंकको सूचक ३ प्रतिशत र जलविद्युत, लगानी र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । तर, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.४३ प्रतिशत घटेको छ ।
यसदिन कारोबारमा आएका ५ कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्ये भोटेकोसीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशतभन्दा बढी बढेको छ । यता माउन्टेन इनर्जी नेपालको सेयर मूल्य भने ३.५२ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर कारोबार भएर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ भने दोस्रोमा गोर्खाज फाइनान्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्