मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु «

मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।
भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा मल उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाकले उद्घाटन गरेको निजी सार्वजनिक साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रबाट स्थापित आयोजनाको वित्तीय साझेदार मेगा बैंक रहेको छ ।
उद्घाटन समारोहमा मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाहले फोहोरलाई उर्जामा परिणत गर्ने राष्ट्रिय महत्वको यस आयोजनामा वित्तीय साझेदारी गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएको बताए ।
दैनिक ३० टन क्षमताको यस फोहोर प्रशोधन केन्द्रबाट दैनिक रुपमा करिब एक हजार किलोग्राम जैविक मल ग्यास, करिब ५ सय किलोग्राम जैविक मल तथा करिब १० हजार लिटर तरल मल उत्पादन हुनेछ । साथै, यो केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आए करिब ८० जनाले रोजगारी पाउने बताइएको छ ।
केन्द्रका संस्थापकद्वय विपुलराज पाण्डे र जेनेश श्रेष्ठका अनुसार, यहाँबाट उत्पादित जैविक ग्यासलाई शुद्दीकरण गरी सिएनजी ग्यास उत्पादन हुनेछ । जसबाट धरानमा रहेका तीन पांग्रे सवारी साधन (टेम्पो)मा प्रयोग गरिनेछ । धरानमा रहेका करिब ३ सय वटा टेम्पोहरुमा सिलिण्डरसहितको एक किटको जडान गरी सञ्चालन गर्न सकिनेछ ।
यहाँबाट उत्पादित सिएनजी ग्यासको प्रयोगले दैनिक करिब १५ सय देखि २ हजार लिटर पेट्रोल आयात प्रतिस्थापन हुनेछ । जसबाट हालको बजार मुल्यमा करिब १० करोड रुपैयाँको आयात कम हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्