एनआरएनएको निर्वाचन फेब्रुअरीमा हुने «

एनआरएनएको निर्वाचन फेब्रुअरीमा हुने


गैर आवासिय नेपाली संघ (एनआरएनए) ले निर्वाचनका लागि सकारात्मक वातावरण कायम गर्न केही देशमा सहमतिका आधारमा वैकल्पिक प्रतिनिधिको नामावली समावेश गर्ने सहमति गरेको छ ।
सहमतिअनुसार फेब्रुअरीमा निर्वाचन हुने तालिका रहेको छ । सहमति अनुसार १० औं महाधिवेशनमा छनौट भएका ६ सय ५५ प्रतिनिधिहरुमा प्राविधिक कारणले संस्थाको विधान र नियमावलीमा निर्दिष्ट गरेका राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्षहरु, पदाधिकारीहरु, आइसिसी सदस्यको नाम छुट्न गएको भए सम्बन्धित व्यक्तिको आवेदनका आधारमा यस पल्टको लागि मतदाता नामावलीमा समावेश गरिने सहमति भएको हो ।
यसैगरी गैरआवासीय नेपाली संघ १०औं केन्द्रिय महाधिवेशनका २ सय ५५ प्रतिनिधिको हकमा सहमतिको आधारमा मतदाता नामावलीमा समावेश गरिने भएको छ । समावेश गरिने प्रतिनिधि स्वयंले आवेदन दिनुपर्ने सहमतिमा उल्लेख छ ।
३१ जुलाई २०२१ पश्चात कुनै मुलुकबाट नयाँ सदस्य बनाइएको पाइए थपिएका सदस्यको संख्या घटाई कायम हुन जाने सदस्य संख्याको आधारमा प्रतिनिधिको संख्या निश्चित गरिने भएको छ । १५ अगष्ट २०२१ भित्र प्राप्त मतदाता नामावलीमा फेरबदल भएको अवस्थामा नयाँ नामावली रद्द गरी पुरानो नामावली कायम गरिने छ ।
संस्थाका अध्यक्षद्वारा मतदाता नामावली प्रमाणिकरण गरेसँगै अन्तिम प्रतिनिधि नामावली संस्थाको होम पेजमार्फत सार्वजनिक गरिने जनाइएको छ । संघको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचनलगायतका सम्पूर्ण गतिविधिलाई अनुगमन तथा सुपरीवेक्षण गर्न विधानको धारा २१.८ अनुसार ५ सदस्यीय निर्वाचन अनुगमन समिति गठन गरिने जनाइएको छ ।
प्रस्तावित कार्यतालिका अनुसार १० जनवरी २०२२ वैकल्पिक प्रतिनिधिसहितको नामावली प्रकाशित गरिनेछ । यसैगरी १३ जनवरी २०२२ प्रतिनिधिहरुको आवश्यक कागजात बुझाउने अन्तिम म्याद र प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । ८ र ९ फेबु्रअरीमा निर्वाचन तथा १४-१५ फेब्रुअरी २०२२ अन्तर्राष्ट्रिय महाधिवेशन हुने अनुमानसहित सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्