टाइगर कप भलिबलको उद्घाटन खेलमा पुलिस विजयी «

टाइगर कप भलिबलको उद्घाटन खेलमा पुलिस विजयी

पोखरामा दोश्रो टाइगर कप आमन्त्रित भलिवल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आउँदो माघ १ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिता सोमबारबाट सुरु भएको हो ।
सोमबार सम्पन्न उद्घाटन खेलमा पुरुषतर्फ नेपाल पुलिस क्लवले टिप–टप हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । भारतिय ३ जना खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१६ र दोश्रो सेट ३१–२९ ले जित्दै नेपाल पुलिसलाई दवावमा राखे पनि पुलिसले पछिल्ला तिन सेटमा खेल कम व्याक गरेको थियो । पुलिसले तेश्रो २५–१९, चौथो २५–२३ र र पाँचौ सेट १७–१५ ले जित हात पार्न सफल भयो । उक्त खेलमा हेल्प नेपालका भारतिय खेलाडी अमित म्यान अफ दि म्याच र नेपाल पुलिसका भिम राना मगर उत्कृष्ट डिफेण्डर घोषित भए ।
यसै गरी पुरुषतर्फको एक अर्को खेलमा डिफेण्डिङ च्याम्पियन समेत रहेको गण्डकी प्रदेशले जित हात पारेको छ । गण्डकीले शसस्त्र प्रहरीवल (एपिएफ) क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । गण्डकीले २५–१७, २५–२२ र तेश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलमा गण्डकीका हिमाल सुनारी मगर म्यान अफ दि म्याच हुँदै नगद ५ हजार हात पारेका छन् भने एफिएफका विनोद चन्द उत्कृष्ट डिफेण्डर घोषित भए ।
यस्तै महिलातर्फको खेलमा होवाङ्ग्जी न्यू डायमण्ड र शसस्त्र प्रहरीवल (एपिएफ) क्लवले जित हात पारे । न्यू डायमण्डले नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो भने शसस्त्रले नेपाल पुलिसलाई ३–१ सेटमा नै पराजित गरेको थियो । उक्त खेलमा न्यू डायमण्डकी प्रतिभा माली म्यान अफ दि म्याच भइन् भने आर्मीकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेण्डर भइन् । यस्तै एपिएफले आफ्नो चिर परिचित प्रतिद्वन्दी नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गरेको छ । उक्त खेलमा एपिएफकी सरस्वती चौधरी म्यान अफ दि म्याच भइन् भने नेपाल पुलिसकी शान्तीकला तामाङ उत्कृष्ट डिफेण्डर भएकी छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समृद्धी खेलकुद र पर्यटन बाट गर्न सकिने दाबी गरे । पोखरालाई खेलकुदको हवको रुपमा विकास गर्ने उनले बताए ।
माघ १ गते सम्म राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ । प्रतियोगिताको उपाधि विजेता महिला–पुरुष उपाधी विजेता टिमलाई समान नगद रु. ३–३ लाख, उपविजेता महिला–पुरुष टिमलाई समान नगद रु. १ लाख ५० हजार, तेश्रो हुने महिला–पुरुष टिमलाई समान नगद रु. ७५ हजार र सान्त्वना हुने महिला–पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ । यसै गरी महिला तथा पुरुष तर्फ उत्कृष्ट एक–एक खेलाडीलाई समान नगद रु. २५–२५ हजार तथा हरेक विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद जनही नगद १०–१० हजार सहित र ट्रफीद्वारा सम्मान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्