बहुउपयोगी अम्रिसो खेती र यसको सम्भावना «

बहुउपयोगी अम्रिसो खेती र यसको सम्भावना

अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् ।

नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वनजंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब ७ सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्वितीय उपहार हो ।
अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् । बर्सेनि अरबौं धनराशिको विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्री–वितरणबाट अरबौं धनराशि बर्सेनि भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री–वितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लाहरूमा करोडौं रुपैयाँ बर्सेनि जिल्ला भित्रिने गर्छ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाबाट पनि लाखौँ, करोडौँ मूल्य बराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेको पाइन्छ । यसै सिलसिलामा यस लेखमा गैरकाष्ठ वन पैदावार तथा जडीबुटी अम्रिसोसम्बन्धी चर्चा गर्ने जमर्काे गरिएको छ ।
अम्रिसोको स्थानीय नाम अम्रिसो तथा कुचो घाँस हो । यसको अंग्रेजी नाम ब्रुम ग्रास, टाइगर ग्रास र वैज्ञानिक नाम थाइसेनोलीमा मेक्जिमा हो । ग्रेमिनी-पोएसी वानस्पतिक परिवारमा पर्ने यो वहुवर्षीय घाँस प्रजातिको बिरुवा तीन मिटरसम्म अग्लो हुने गर्छ । यसका पातहरू ३० सेन्टिमिटरसम्म लम्बाई र पाँच सेन्टिमिटर चौडाइ भएका हुन्छन् । यसका पातहरू बाँसका पातजस्ता आकारका हुन्छन् । मुख्यतया यसको फूलको झुप्पा कुचो बनाउन प्रयोग गरिन्छ । यही कारणले यसको आर्थिक महत्व धेरै छ । बिरुवा रोपेको आठ महिनादेखि नै यसले उत्पादन दिन सुरु गर्छ । नेपालका विभिन्न जिल्लाहरू जस्तै सर्लाही, पाल्पा, तनहुँ, नवलपरासी, गोर्खा, मकवानपुर र रुपन्देही आदि जिल्लामा रहेको सामुदायिक, कबुलियती वन तथा निजी स्तरमा यसको खेती गरिएको पाइन्छ । यो प्रायःजसो ऊष्ण तथा उपोष्ण जलवायुमा राम्ररी सप्रिन्छ । मुख्यतया यसको उपयोग कुचो बनाउनका लागि गरिए पनि अन्य विभिन्न क्षेत्रहरूमा पनि यसको महत्वपूर्ण उपयोग गरिन्छ । जस्तै— कागज कारखानाहरूमा कच्चा पदार्थको रूपमा, गाईवस्तुका लागि डालेघाँस, बायो इन्जिनियरिङका लागि माटो तथा जलसंरक्षण गर्ने क्षेत्रमा अम्रिसो रोपिन्छ ।
चुरे क्षेत्रको कमजोर स्तरको माटो तथा पानीको मुहान संरक्षणका लागि यसको विशेष योगदान रहेको छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । जस्तै— पेटका कीराहरू मार्ने र घाउखटिरामा प्रयोग गर्ने औषधिहरू बनाउन प्रयोग गरिन्छ । साथै, यसमा कीटनाशक गुण भएकाले यसलाई कीटनाशक औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
माथि भनेजस्तै अम्रिसो ऊष्ण र उपोष्ण हावापानीमा राम्रोसँग हुने बिरुवा हो । यो वार्षिक ६ सयदेखि ८ सय मिलिलिटर पानी पर्ने ठाउँमा यसको राम्रो खेती गर्न सकिन्छ । अम्रिसोको बोट पूर्ण रूपमा घाम लाग्ने ठाउँदेखि लिएर आंशिक छहारी भएको ठाउँ, खासगरी रूखको सेपमा पनि हुर्कने बिरुवा हो । तर, व्यावसायिक उत्पादनका लागि घाम लाग्ने तथा खुला ठाउँमा नै उपयुक्त हुन्छ । ठूला बिरुवाहरू ३०–४० डिग्री सेल्सियस तापक्रमसम्ममा राम्रोसँग हुर्किन सक्छन् । अम्रिसो प्रतिकूल वातावरणमा समेत हुर्किन सक्ने कडा एवं प्रतिरोधी बिरुवा हो । साथै, यो विभिन्न प्रकारको माटोमा हुर्किने र सुक्खा तथा उच्च क्षारीय माटो भएको क्षेत्रमा खेती गर्न सकिन्छ । यो समतल तथा भिरालो दुवै किसिमको जमिनमा हुर्कन सक्छ । मुख्यतया अम्रिसो खेतीका लागि दुई प्रजातिहरू बढी प्रचलनमा रहेको पाइन्छ, थाइसेनोलिना मेक्जिमा र फ्रेगमाइटिर भल्गेरिस । अम्रिसोको खेती यसको बीउ तथा स्लिपबाट गर्न सकिन्छ । नेपालमा प्रायःजसो पुराना बिरुवाहरूबाट बीउ संकलन गरी नर्सरीमा बिरुवा उमार्ने र पुराना झ्याङहरूबाट जरासहितका स्लिप निकाली दुवै तरिकाबाट गर्न सकिन्छ ।
अम्रिसोको बिरुवा बर्सातको समयमा रोप्नु उपयुक्त हुन्छ । बिरुवा रोपिसकेपछि यसलाई अरू बालीजस्तो नियमित सिँचाइ वा स्याहारसम्भारको आवश्यकता पर्दैन । यो एकपटक रोपिसकेपछि आफैं राम्रोसँग हुर्कन सक्छ । रोपेको एक महिनापछि एकपटक र त्यसको पहिलो वर्ष थप दुई पटकसम्म गोडमेल गरेमा राम्ररी सप्रन सक्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न सकेमा यसबाट ६ देखि १० वर्षसम्म निरन्तर उत्पादन लिन सकिन्छ ।
अम्रिसोको बाली संकलन भनेको यसको पूmलको गुच्छा टिप्ने हो । यसको बीउ परिपक्व भएपछि गुच्छा संकलन गर्दा बीउ भुइँमा झरी पुनरुत्पादनमा पनि सघाउ पुग्छ । साधारणतया माघ–फागुनमा गुच्छासहितको डाँठ काटेर संकलन गरिन्छ र घामको प्रकृति हेरी ४ देखि ७ दिनसम्म सुकाएर मुठा पारी कुचो बनाई घरायसी तथा व्यापारिक प्रयोजनमा प्रयोग गर्न सकिन्छ । कुचोको स्थानीय बजार एवं नेपाल तथा भारतको सबै सहरहरूमा यसको माग अत्यधिक रहेको हुन्छ । त्यसैले यसलाई व्यावसायिक रूपमा खेती र विस्तार गर्न सकेमा ठूलो लाभ लिन सकिन्छ ।
तराई तथा चुरे क्षेत्र वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । देशले वन क्षेत्रबाट प्राप्त गर्ने राजस्वको महत्वपूर्ण अंश यस क्षेत्रबाट प्राप्त हुन्छ । यद्यपि, यस क्षेत्रबाट प्राप्त हुने आम्दानी र राजस्वको करिब ९९ प्रतिशत भाग काठ, दाउरा तथा खयरको बिक्री–वितरणबाट हुने गर्छ । यस क्षेत्रमा पाइने करिब ६ सय ५० प्रजातिको गैरकाष्ठ वन पैदावार प्रजातिहरूबाट पर्याप्त सम्भावनाका बाबजुद उल्लेखनीय योगदान स्थानीय आम्दानी र राष्ट्रियले लिन सकेको छैन । उपलब्ध गैरकाष्ठ वन पैदावारहरूलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्वारा स्थानीय समुदायको आयस्तामा वृद्धि, र गरिबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यी र यस्ता समस्या समाधानका लागि सम्बन्धित निकाय सदा क्रियाशील र समर्पित रहनुपर्छ । अतः नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक वनावटको आधारमा हाम्रो देशमा अम्रिसो खेतीको प्रचुर सम्भावना छ । अम्रिसो खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तीनै तहको सरकारले व्यावसायिक रूपमा विकास गरी वैदेशिक रोजगारीका लागि विदेश पलायन भई कोरोना महामारीको चपेटामा परी स्वदेश फर्केका युवा शक्तिलाई देश, गाउँ तथा घरमै रोजगारीको सिर्जना गरी देशको आर्थिक विकासमा चलायमान गर्न सक्ने सम्भावना रहेको छ ।
(लेखकले गुणस्तर जीवन विषयमा विद्यावारिधि गरेका छन् ।)

प्रतिक्रिया दिनुहोस्