विदेशमा शाखा खोल्न बैंकलाई अर्थमन्त्रीको आग्रह «

विदेशमा शाखा खोल्न बैंकलाई अर्थमन्त्रीको आग्रह


अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई विदेशमा शाखा खोल्न आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले विदेशमा शाखा खोल्न चाहने बैंकहरुलाई आफूले सहयोग गर्ने बताए ।
“अहिलेसम्म नेपाली बैंकहरुले विदेशमा शाखा खोलेका छैनन् । दक्षिण कोरियामा तपाईंहरु कसले खोल्ने हो शाखा? शाखा खोल्नुस्, बरु भन्नुस् त्यसको लागि के सहयोग चाहिन्छ,” उनले भने । इजरायल, जापान लगायतका देशहरुमा नेपाली बैंकको शाखा नहुँदा सिधै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स ल्याउन नसकिएको भन्दै त्यसका लागि भूमिका खेल्न आग्रह गरे ।
हालसम्म नेपाली बैंकहरुले विदेशमा शाखा खोल्न पाउने कानुनी व्यवस्था छैन । नेपाली बैंकहरुले विदेशमा सम्पर्क कार्यालय वा प्रतिनिधिमार्फत सेवा दिन पाउने व्यवस्था छ । केही दिन अघिमात्रै सिबिफिनले राष्ट्र बैंकलाई विदेशमा शाखा सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ । यसैगरी परिसंघले सार्वजनिक गरेको भिजन २०३० मा पनि कम्तीमा १० वटा देशमा नेपाली बैंकहरुको शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
अर्थमन्त्री शर्माले बैंकहरुलाई आफ्नो कार्यक्षेत्र र दायरा विस्तार गर्न समेत आग्रह गरे । बैंकको दायरा विस्तार तथा अहिले देखिएको तरलता समस्या समाधानका लागि बैंकहरुमा गैरआवासीय नेपालीहरुले डलरमा खाता खोल्ने र निक्षेप राख्न पाउने व्यवस्था गरिएको भन्दै त्यसको सदुपयोग गर्न उनले आग्रह गरे ।
“हामीले भर्खरै ल्याएको एउटा नीतिले तपाईंहरुलाई क्षेत्र विस्तार तथा लगानी ल्याउन सजिलो भएको छ,” शर्माले भने, “अब विदेशी मुद्रामा सजिलै खाता खोल्दिन सक्नुहुन्छ ।” गैरआवासीय नेपालीहरुले विदेशमा नेगेटिभ ब्याजदरमा डिपोजिट गरेकोे पैसा यहाँको पोजेटिभ ब्याजदरमा ल्याउन आग्रह गरे । यसैगरी विश्वभरका नेपालीहरुको डलर खाता सञ्चालनका लागि प्रचारप्रसार गर्न समेत उनले आग्रह गरे ।
यो पहलबाट तरलता अभावको समस्या दीर्घकालिन रुपमा समाधान हुन सहयोग पुग्ने अर्थमन्त्री शर्माको दावी थियो । राष्ट्र बैंकले केहि समयअघि निर्देशन जारी गर्दै बैंकहरुले गैरआवासीय नेपालीहरुको खाता खोलेर उनीहरुबाट विदेशी मुद्रामा निक्षेप ल्याउन सक्ने सुविधा दिएको थियो । अर्थमन्त्री शर्माले कोभिड महामारीका बैंकहरुलाई नाफामुखी नभई आफ्नो दायित्व निर्वाह गर्न समेत आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबै निकायको गल्तीका कारण अहिले तरलता अभाव भएको बताउनुभयो । उनले अहिले तरलताको मुख्य कारण पुँजीगत खर्च निकै कम हुनु रहेको बताए । गोल्छाले उद्योगीले उत्पादनमूलक उद्योगमा लगानी बढाउनु नसक्नु कस्ट अफ डुइङ भएको बताए ।
सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानले आयातमा थप कडाइ गर्न सुझाव दिए । स्वदेशी उत्पादन कम भएर उपभोगका लागि आयात बढी हुँदा व्यापार घाटा वृद्धि भएको र त्यसले शोधनान्तर स्थिति (बीओपी) मा नकारात्मक धक्का लागेको भन्दै उनले कृषि वस्तुको आयातमा अल्पकालको लागि १५ प्रतिशत कोभिड कर लगाउन सुझाव दिएका हुन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष रोहित गुप्ताले पनि आयात निरुत्साहनका लागि सरकारले लिएको नीतिको समर्थन गरे । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले भने आयातमा कडाइ गर्ने सरकारको नीतिको विरोध जनाए ।

प्रतिक्रिया दिनुहोस्