इसेवामा सेक्युर्ड ट्रान्सफर सेवा थपियो «

इसेवामा सेक्युर्ड ट्रान्सफर सेवा थपियो

इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा उपलब्ध गराएको छ । उक्त फिचरबाट अब ग्राहकले कुनै पनि अनलाइन कारोबार सुरक्षित रूपमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
इसेवाका अनुसार यो फिचरबाट उपभोक्ताले अनलाइन सामान किन्दा रकम सुरुमै तिरिसके पनि भुक्तानी भने सामान उपलब्ध भइसकेपछि मात्र गर्न सक्नेछन् । यसबाट ग्राहकहरू ठगिने प्रवृत्ति कम हुने विश्वास कम्पनीको हो ।
उनका अनुसार सेक्युर्ड ट्रान्सफरमार्फत इसेवाका प्रयोगकर्ताले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्नेछन् । यो फिचर एक हजार रुपैयाँभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिन्छ ।
यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि यो सन्देश पैसा पठाउने व्यक्तिसम्म पुग्छ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्छ । साथै यदी सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित उजुरी गर्न सकिन्छ ।
यो सुविधा प्रयोग गर्दा एक हजारदेखि पाँच हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्छ भने ५ हजारदेखि बढी पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने कम्पनीले बताएको छ ।
इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा भने करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् ।

प्रतिक्रिया दिनुहोस्