सडक नखुल्दा खाद्यान्न आपूर्तिमा समस्या

जुम्लालगायत माथिल्लो कर्णालीमा गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको नाग्म–गमगडी सडक अझै खुल्न सकेको छैन । बाक्लो हिउँ जमेपछि डोजरले हिउँ पन्छाउँदा समेत सडक खुलेको छैन । करिब दुई साता पुग्न लागिसक्दा पनि सडक नखुल्दा खाद्यान्न ढुवानीमा समस्या भएको छ ।
मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबुले र सातमोडलगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चल्न कठिनाइ भएपछि खाद्यान्न ढुवानी गर्न कठिन भएको स्थानीय व्यापारीले बताएका छन् ।
सडकमै बाक्लो हिउँ जमेपछि सवारीसाधन चल्न सकेका छैनन् । हिमपातले गर्दा खाद्यान्न ढुवानी रोकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी पुष्कर भामले भने, “गोदाममा खाद्यान्न सकिँदै जान थालेको छ । हिमपातले सडक खुल्न सकेको छैन । समयमै सडक खुलाउने प्रयास हुन नसकेको खण्डमा खाद्यान्न अभाव हुनसक्ने देखिन्छ । हाल गमगढीस्थित मुख्य कम्पनीको गोदाममा पाँच सय क्विन्टल मात्रै चामल मौज्दात रहेको छ ।”
सुर्खेत, नेपालगञ्ज, बर्दिया, राजपुरदेखि सतहमार्गबाट मुगुमा खाद्यान्न ढुवानी गरिँदै आएको भए पनि दुई पटकको हिमपातले गर्दा ढुवानी गर्न समस्या भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बताउँछन् । हिउँदमा वर्षेनी बाक्लो हिउँ जमेर नाग्म–गमगडी सडकको मुगु क्षेत्रमा यातायात अवरुद्ध हुने, खाद्यान्न ढुवानीमा समस्या हुँदै आएको छ ।
हिमपातले खाद्यान्न मात्र नभएर निर्माण सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ । सडक अवरुद्ध हुँदा नेपालगन्ज, सुर्खेतदेखि व्यापारीलाई खाद्यान्नलगायत सामग्री जिल्लासम्म पु¥याउन गाह्रो भएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरी हिमपातले अवरुद्ध भएको गमगढी–नाग्मा सडक खण्ड डोजर लगाएर सडक सञ्चलानका लागि पहल भइरहेको भए पनि शनिबार राति हिउँपरेपछि अवरुद्ध भएको छ ।
हिमपातका कारण जुम्लाको गुठिज्युला र कालिकोट जिल्लाको नाग्म बजारमा माल बाहक सवारीसाधन रोकिएका छन् । पुसमा परेको हिमपातले कृषि क्षेत्रमा राहत पु¥याए पनि अन्तर जिल्लाको आवतजावतमा समस्या भएको छ । उता सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले अघिल्लो हिमपातलाई हटाए पनि हिमपात जारी भएकाले फेरि अवरुद्ध भएको बताए ।
मौसममा सुधार आएपछि कार्यालयको डोजर प्रयोग गरेर सडक खुलाइने छ । अघिल्लो हिउँ पन्छाएको केही दिनमै फेरी हिउँ प¥यो, हिमाली क्षेत्रको उच्च भू–भाग भएकाले बाक्लो हिउँ जमेको छ । मौसममा पूर्णसुधार भएपछि सडक पूरै सफा गरिने सडक डिभिजन जुम्लाले जनाएको छ ।