अर्थमन्त्रीलाई असफल बनाउन राष्ट्र बैंकका गभर्नर लागेको आरोप «

अर्थमन्त्रीलाई असफल बनाउन राष्ट्र बैंकका गभर्नर लागेको आरोप


माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन् ।
सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उधृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेता समेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरेको टिप्पणी गरे । सार्वजनिक लेखा समितिको बैठकमा उनले अर्थमन्त्री शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंक नै लागिपरेको समाचार बाहिर आएको आरोप लगाए ।
“ठूलाबडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ । त्यसलाई कसरी घटाउने ? जो खाडल छ । तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ ? अर्को एउटा पनि हल्ला छ । “तपाइहरुको टयूनिङ पनि मिलिराखेको छैन, माओवादीको मन्त्रीले राम्रो काम गर्छ । उसलाई कसरी असफल बनाउने भनेर खोजीराख्नु भएको छ भन्ने समाचार आएका छन्” उनले भने, “तपाईहरुका टयूनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिकोणले पनि हो कि ?”
सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे ।
यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाइ गलत भएको बताए । उनले व्यूरोक्रेट्सहरुले, संस्था चलाउनुपर्ने व्यक्तिले त्यस्तो खालको सोचाई कहिल्यै नराख्ने तर्क समेत गरे । गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता हुने बताए । “व्यूरोक्रेट्सहरु, संस्था सञ्चालन गर्नुपर्ने व्यक्तिले कहिल्यै पनि मन्त्रीलाई असफल बनाउने सोचाई राख्दैनौं” उनले भने, “समग्र सिष्टमलाई अगाडि बढाउनका लागि गरिएका कामहरुको चाँही सही किसिमले बताउन नसकेर पनि होला । तर त्यो खोलको भिन्नता भने काममा तादम्यता नहुने भन्ने विषय नै हुँदैन ।’
गभर्नर अधिकारीले आफूहरुले बुझाउन नसकेको कारणले गर्दा पनि मिडियाहरुले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्