चितवन महोत्सव सुरु «

चितवन महोत्सव सुरु

नारायणी नदी किनारमा चितवन महोत्सवको १३ औं संस्करण सुरु भएको छ ।
आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले महोत्सवको उद्घाटन गरे । महोत्सव माघ ४ गतेसम्म चल्नेछ । २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव गत वर्ष कोभिडका कारण रोकिएको थियो । मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशलाई सीपयुक्त प्रदेश बनाइने बताए । “सीपयुक्त जनशक्ति नबनाउँदासम्म आर्थिक समृद्धि सम्भव छैन” उनले भने, “सबै खर्च प्रदेशले व्योहोर्ने गरी ३ महिना प्राविधिक जनशक्ति उत्पादनमा लाग्नेछौं, प्रदेश भित्रका जो कोही सीपयुक्त बनाइनेछ ।”
उनले प्रदेश भित्रका हरेक स्थानीय तहबाट दलित तथा लोपोन्मुख जातिबाट १ जनालाई ३ वर्ष निःशुल्क प्राविधिक शिक्षा दिइने योजना सुनाए । “यसपालि शिक्षित र प्रविधिमैत्री बनाउन जोड दिएका छौं” उनले भने, “दक्ष जनशक्तिका लागि परनिर्भर हुनुपर्ने छैन, स्वदेशमै आयआर्जन गर्न सकिने सीप दिनेछौं ।”
महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टाछुट्टै परिसर छन् । स्वदेशी उत्पादनको बजारीकरणलाई प्राथमिकता दिएको महोत्सवमा ४ सय स्टल छन् । नेपाल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नितिगत सुधारको खाँचो रहेको बताए । “परम्परागत नीतिले गर्दा कैयन काममा ढिलाइ हुँदै आएका छन्” उनले भने, “आर्थिक समृद्धि र रोजगारी सृजना गर्न खोज्दा पनि कैयन अवरोध आएका छन्, नीति, ऐन सुधार होस् ।”
प्रतिनिधि सभासदस्य कृष्णभक्त पोखरेलले निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताए । भरतपुरका मेयर रेनु दाहालले मह र माछामा आत्मनिर्भर बनाउन महोत्सवले भूमिका खेल्ने बताइन् । बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेशभित्रका सबै निर्वाचन क्षेत्रमा औद्योगिक ग्राम बनाइने बताए ।
महोत्सव परिसरमा महलाई प्रवद्र्धन गर्न मौरीको कलात्मक डमी राखिएको छ । महोत्सव अवधिभर विभिन्न छ वटा विधामा गोष्ठी तथा अन्तरक्रिया हुने चितवन महोत्सवका गोष्ठी संयोजक राजेन्द्र ओलीले जानकारी दिए । चितवन महोत्सवको अवसरमा पुस २७ गते कृषि सम्बन्धी, पुस २८ गते उर्जा सम्बन्धी, पुस २९ गते पोल्ट्री सम्बन्धी, ३० गते पर्यटन सम्बन्धी, माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र माघ ३ गते महिला उद्यमी सम्बन्धी गोष्ठी हुने ओलीले बताए ।
गोष्ठी संयोजक ओलीकाअनुसार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहान ११ बजेदेखि गोष्ठी सुरु हुनेछ । महोत्सव अन्तर्गत पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा खाना महोत्सव हुनेछ । खाना महोत्सवमा विभिन्न जातजातिका खाना तथा परिकार सहितका स्टल रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्