एक सातामा पाँच गुणा बढ्यो कोरोना «
Logo

एक सातामा पाँच गुणा बढ्यो कोरोना


नेपालमा कोरोना संक्रमण दर तिव्र गतिमा उकालो लागेको छ । एक साताको अन्तरालमा ५ गुणा संक्रमणदर बढेको छ ।
अघिल्लो साताको आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा यस सातको आइतबार ११६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार ९४४ जनामा कोरोना संक्रमण भएको थियो । यस्तै शुक्रबार ९६८, बिहीबार ५४०, बुधबार ४३५, मंगलबार ३९३ र सोमबार ३२६ नयाँ संक्रमित थपिएका थिए ।
आइतबार कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६३२ जनाको नमुना परीक्षण गरिएको थियो । यस अवधिमा २२४ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ६७५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ ।

चार जिल्लाका बालबालिकालाई खोप
काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतवारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ । काठमाडौँ र ललितपुरमा फाइजर तथा भक्तपुर र काभ्रेमा मोडर्ना खोप दिन सुरु गरिएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिए । अहिले विद्यालयबाट नै खोप दिन सुरु गरिएको छ ।
यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि नै मोडेर्ना खोप दिइएको छ । फेरि फाइजर खोप कम भएको भन्दै सरकारले काठमाडौँ र ललितपुरबाहेकका अरू जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिने जनाएको हो । तर ती जिल्लाका बालबालिकाले कहिलेदेखि खोप पाउने भन्ने अझै टुंगो लागेको छैन ।

देशभरका विद्यालय १५ माघसम्म बन्द
कोरोना भाइरसको संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका सबै विद्यालय बन्द गर्ने निर्णय कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो ।
अझै पनि नागरिकलाई खोप पुग्न नसकेको र धेरै ठाउँमा विद्यार्थीहरुलाई नै खोप लगाउन नसकिएको अवस्थामा कोरोना संक्रमणबाट जोगिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता नेपालले बताइन् ।
सीसीएमसीको निर्णय अब मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ । उपत्यकासहित देशका धेरै स्थानमा अहिले आन्तरिक परीक्षा चलिरहेको छ । परीक्षा सकिएका विद्यालयले कम्तीमा एक साता बिदा दिइसकेका छन् ।
बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्