सहकारी क्षेत्रमा तरलताको अवस्था «

सहकारी क्षेत्रमा तरलताको अवस्था

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएसँगै त्यसको प्रभाव सहकारी क्षेत्रमा पनि पर्न थालेको छ । वित्तीय पहुँचमा एक चौथाइ हिस्सा ओगट्ने सहकारीमा कारोबार पनि बढ्दै गइरहेको छ । तर, यो क्षेत्रको प्रभावकारी नियमन हुन सकेको छैन । प्रभावकारी नियमनको अभावमा संस्थाहरू समस्याग्रस्त हुने, सदस्यको बचत नै जोखिममा पर्ने जस्ता घटना पनि हुने गरेका छन् । अहिले तरलताको समस्या बढ्दै जाँदा सहकारी संस्थाहरूमा समस्या हुने र सदस्यको बचत नै फिर्ता गर्न नसक्ने अवस्था आउने हो कि भन्ने आशंका पनि उत्तिकै छ । यो अवस्थामा सहकारीमा तरलताको स्थिति र ब्याजदरमा केन्द्रित रही केही सहकारीकर्मीसँग कारोबारले गरेको कुराकानीको सार :

तरलताको अभाव पनि छैन, चाहेजति पनि छैन
मधुकर वाग्ले
प्रमुख कार्यकारी अधिकृत, शुक्रपथ बहुउद्देश्यीय सहकारी

कोभिड–१९ ले पारेको असर बजारमा बल्ल देखिन थालेको छ, जसको कारण पैसाको चहलपहल कम हुन थाल्यो । बैंकहरूले सहकारीको सरह ब्याजदर दिएर निक्षेप उठाउन थाले । तर, सहकारीमा भने सन्दर्भ ब्याजदरको सीमाका कारणले ब्याजदर बढाउन सकिएको छैन । सहकारीबराबरको ब्याज बैंकमा नै पाउने भएपछि निक्षेप त्यतातिर आकर्षित हुने नै भयो । किनकि बैंक सहकारीभन्दा बढी विश्वासनीय मानिने भएकाले ब्याज बढ्नेबित्तिकै सहकारी निक्षेप बैंकतिर जान थालेको हो ।
अहिले एकातिर सहकारीको बचत संकलन घटिरहेको र अर्कातिर गरिसकेको लगानी पनि फिर्ता हुने अवस्था नभएकाले सहकारी क्षेत्रमा तरलताको समस्या भएको छ । एकातिर सहकारी ब्याजदर बढाउन नसक्ने तर बैंक तथा वित्तीय संस्था सहकारीले दिने ब्याजदरमा नै निक्षेप उठाउने हुँदा सहकारी क्षेत्रमा तरलताको प्रत्यक्ष असर परेको छ । हामीले पछिल्लो अवस्थामा लगानीलाई शतप्रतिशत रोकेका छैनौं, तर मागअनुसारको ठूलो लगानी भने गरेका छैनौं । साना–साना सदस्यको ऋणको माग भने पूरा गरेका छौं । अहिले सदस्यले तिरेको कर्जाको साँवा–ब्याजबाट नै हामीले कर्जाको माग पूरा गरिरहेका छौं । तरलताको ठूलो अभाव भने भएको छैन । तर चाहेजति पनि छैन ।
अहिलेको अवस्थामा सदस्यहरूलाई विश्वासमा लिएर लामो समयमको बचत लिइरहेका छौं । सदस्यहरूको बचत संस्थाबाट झिक्नेभन्दा पनि संस्थाको सदस्य भएको नाताले सपोर्ट गर्नका लागिसमेत आग्रह गरिरहेका छौं । संस्थामा भएको सदस्यहरूको बचत बचाइराख्नका लागिसमेत भइरहेका सदस्यहरूलाई १ देखि १.५ प्रतिशतसम्म ब्याजदर बढाएर राखेका छौं ।
अहिले तरलता अभावको समस्यामा सहकारीे संघहरूको भूमिका प्रभावकारी हुनुपर्ने हो । तर, संघहरूलाई व्यवस्थित तवरले अगाडि बढाउन नसकेको अवस्था छ । यतिबेला सहकारी बैंकसँग र माथिल्लो निकायसँग हामीले आस गर्ने हो । तर, माथिल्लो निकायका पनि विभिन्न प्रकारका नकारात्मक हल्लाहरू बजारमा चलिरहेकै छन् । यो अवस्थामा हामी अरूबाट अपेक्षा गर्नेभन्दा पनि आफ्ना सदस्यहरूलाई नै विश्वासमा लिएर उनीहरूसँगै बसेर आफू सस्टेन हुनतर्फ ध्यान दिएका छौं ।

सिद्धान्तमा चलेकालाई समस्या हुँदैन
वासुदेव घिमिरे
अध्यक्ष, हिलटप जुनार बहुउद्देश्यीय सहकारी

सहकारीका सिद्धान्त, दर्शन तथा ऐन–कानुनअनुसार संस्था सञ्चालन गर्ने हो भने सहकारी कहिल्यै पनि समस्यामा नपर्ने क्षेत्र हो । किनकि सहकारी समुदायमा आधारित सदस्य केन्द्रित संस्था हुन् । यसले धेरै सदस्यहरूसँग कारोबार गरेको हुन्छ । संस्थाले सदस्यको पहिचान गरेर कारोबार गर्ने भएकाले यसलाई अप्ठ्यारो पर्न लागेका सदस्यहरू मिलेर नै जोगाउँछन् । यो कहिल्यै पनि आपत्ति नआउने क्षेत्र हुनुपर्ने हो ।
तर सिद्धान्त, कानुनअनुसार सहकारी संस्थाहरू सञ्चालन नहुँदा समस्या हुन्छ । सहकारी कानुनले भनेअनुसार कोष नराख्दा संस्थाहरू अप्ठेरो अवस्थामा पर्दा समस्या हुन सक्छ । अहिलेको तरलताको अभाव लामो समयसम्म जाने अवस्था देखिएकाले यसले भोलि अझ ठूलो समस्या ल्याउने हो कि भन्ने आशंका पनि छ ।
अहिले सहकारी संस्थामा १४.७५ प्रतिशत ब्याजदर तोकिएको छ । त्यसको सेवाशुल्क जोड्दा ब्याजदर १५–१६ प्रतिशत पुग्छ । यो पनि उचो नै ब्याज हो । यो बेला सहकारी मन्त्रीबाट पनि ब्याजदर बढाउन सकिँदैन, बरु घटाउनुपर्छ भन्ने अभिव्यक्ति आएको छ । त्यसैले संस्थालाई हाइफाइ रूपमा चलाउनका लागि मात्र ब्याज बढाउनु हुँदैन ।
अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको समस्या अझै केही समय रहने देखिन्छ । एक–डेढ महिना अझै लम्बिन सक्छ । यो अवस्थामा संस्थाहरूले सदस्यहरूको विश्वास जितेर काम गर्न सकेमा अप्ठेरो अवस्था हुँदैन । हुनत यहाँ नराम्रो कुरा छिटो फैलन्छ, राम्रो कुराको प्रचारप्रसार हँुदैन । एकाध संस्थाहरू बिग्रेका कारण अरू संस्थाहरूले पनि त्यो आरोप भोग्नुपरेको अवस्था छ ।
तर, मैले नेतृत्व गरेको प्रारम्भिक संस्थामा अहिलेसम्म बजारमा भएको हल्लाजस्तो तरलताको अभाव महसुस गरेका छैनौं । संस्थालाई सही ढंगले नीति विधि प्रविधिमा चलाएका छौं । त्यसैले हामी अहिलेको समस्या सजिलै थेग्छौं । तर बजारमा समस्या देखिँदै जाँदा अर्थतन्त्रमा नै समस्या आएसँगै बजारको प्रभाव नपर्ला भन्न पनि सकिँदैन । बजारको अवस्थाले पनि संस्थालाई अप्ठेरो पार्न सक्छ । यो अवस्था आएको खण्डमा सदस्यलाई सुरक्षित गर्ने ढंगले लागेका छौं ।

बैंकको ब्याज दोहोरो अंकमा पुगेपछि सहकारीलाई दबाब
देवकुमार श्रेष्ठ
कार्यकारी प्रमुख, मुनाल बचत तथा ऋण

अहिले बैंक तथा वित्तीय संस्थासँगसँगै सहकारी संस्थाहरूलाई पनि तरलताको अभाव भइरहेको छ । हिजो जुन हिसाबले सहकारी संस्थाहरूका बचत संकलन हुन्थ्यो, अहिले त्यो रूपमा भइरहेको छैन । यसैगरी संस्थाहरूको ऋण असुलीमा पनि प्रभाव परेकै छ ।
अहिलेको अवस्थामा बैंकहरूको ब्याजदर १० प्रतिशत भने पनि ११–१२ प्रतिशतसम्म दिएका छन् । त्यो अफर सहकारी संस्थाहरूलाई पनि आएको छ । त्यसैगरी अहिले सहकारी संस्थाहरूले आवधिक बचतमा मासिक ब्याजदर प्रायः भुक्तानी गर्दैनन् । तर, बैंकहरूले आवधिक बचतमा मासिक ब्याजदर भुक्तानी गरेको पनि सुनिन्छ । यस्तै बैंकहरूले बचत खातालाई मुद्दती मानेर पनि ब्याज दिएका छन् । जसका कारण बिस्तारै सदस्यहरू बैंकतिर आकर्षित भइरहेका छन् ।
हुनत बैंकको ब्याजदरभन्दा सहकारीमा २–३ प्रतिशत बढी नै छ । तर, यो मार्जिनमा सर्वसाधारण आकर्षित हुँदैनन् । किनकि सुरक्षाको हिसाबले पनि सहकारीभन्दा बैंक राम्रो हो भन्ने बुझाइ छ । बैंकको पैसा डुब्दैन, राष्ट्र बैंक ब्याकअपमा छ भन्ने आम सर्वसाधारणको बुझाइ छ ।
हिजो बैंकहरूको ब्याजदर सिंगल डिजिटमा भएसम्म सहकारी संस्थाहरूलाई सहज अवस्था थियो । जब बैंकहरूले ब्याजदर बढाउन थाले, त्यसपछि हामीलाई दबाब भएको हो । बैंकहरूको भन्दा १–२ प्रतिशत बढी ब्याज दिएर सहकारीमा ठूलो पैसा आउँदैन । ससानो बचत मात्र संकलन गर्दा त्यो पैसा आज आउने भोलि फिर्ता हुने किसिमको हुन्छ । यो अवस्थामा हामीले ब्याज बढाउन सकेका छैनौं । १४.७५ प्रतिशत अधिकतम ब्याजदर र १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने व्यवस्था छ । अहिले १३ प्रतिशतमा निक्षेप लिँदा पनि सञ्चालन खर्च जोड्दा त्यसको लागत १५ प्रतिशत पुग्छ । त्यसैले यो अवस्थामा सहकारीहरूको सन्दर्भ ब्याजदर बढाउन आवश्यक छ ।
अहिले बैंकहरूमा तरलताको अभाव हुँदा नेपाल राष्ट्र बैंकले सहयोग गरिरहेको छ । स्थानीय तहको बचत पनि बैंक मात्र राख्ने व्यवस्था छ । यो समयमा सहकारीलाई तरलतामा सहजीकरण गर्ने आधार भनेको सरकारले सहकारी बैंकलाई पैसा दिने र त्यसमार्फत सस्तो ब्याजदरमा संस्थाहरूलाई लगानी गर्ने नै हो ।
अहिलेको अवस्थामा हामीले अत्यावश्यक बाहेकका ऋण लगानी रोकेका छौं । सदस्यहरूसँग नियमित सम्पर्कमा रहेका छौं । उहाँहरूलाई पनि अत्यावश्यक परेमा मात्र निक्षेप झिक्नुहोस् भनेका छौं । यसैगरी भोलि तरलताको अवस्थामा सजिलो होस् भनेर सहकारी बैंक र नेफ्स्कून कर्जा स्वीकृत गरेर पनि राखेका छौं । संस्थामा १२ देखि १३ प्रतिशतसम्म तरलता राखेर बसेका छौं ।

कर्जा सूचना केन्द्र आवश्यक छ
अमरावती महर्जन
अध्यक्ष, उपासना महिला बचत तथा ऋण

अहिले बजारमा तरलताको समस्या भइरहेका बेला हामी सबै ब्याजदरको विषयमा अल्झिरहेका छौं । ब्याजदरको विषयमा यति धेरै बहस गरिरहेका छौं । तर, ब्याजदरभन्दा पनि सहकारीका लागि ठूलो समस्या भनेको कर्जा सूचना केन्द्र हो । कर्जा सूचना केन्द्रको अभावमा गलत नियत भएका एउटै व्यक्तिले पनि धेरै सहकारीबाट ऋण लिएर बदमासी गरेको पाएका छौं ।
सन्दर्भ ब्याजदर तोकेर सहकारी क्षेत्रलाई व्यवस्थित गर्छु भनेर लागेको सहकारी विभाग किन यति संवेदनशील विषयमा मौन छ । कुनै एउटा सहकारीले ऋण लगानी गर्नुअघि त्यो सदस्यको अवस्था के हो ? के–कति ठाउँबाट ऋण लिएको छ ? उसको तिर्ने क्षमता छ या छैन भन्ने विषयमा संस्थाले कहाँबाट सूचना पाउने ? त्यो सूचना पाउने ठाउँ, प्रणाली कहाँ छ ? सहकारी ऐन–२०७४ मा सहकारी कर्जा सूचना केन्द्रको व्यवस्था राखेपछि त्यसलाई कार्यान्वयन गर्न हामी लबिङ गरिरहेका छौं, तर नियामकले यतातिर ध्यान नै दिएको पाइँदैन ।
अहिले सहकारीहरूको अधिकार स्थानीय तहसम्मलाई दिइएको छ । स्थानीय तहमा सहकारीको अधिकार भएपछि कतिपय नगरपालिकाहरूमा अन्धाधुन्ध बहुउद्देश्यीयलगायत विषयगत सहकारीहरूको दर्ता भइरहेको छ । संस्थाहरूको नियमन हुन सकेको छैन, आफूखुसी सञ्चालन भएका छन् । विषयअनुसार संस्था सञ्चालन भए–नभएको भन्ने विषयमा दर्ता गर्ने निकाय नै बेखबर छ । एउटा बच्चालाई जन्मेदेखि नै बाटो देखाउन सकेनौं भने त्यो बिग्रन्छ । विषयअनुसार सहकारी सञ्चालन गर्न नसके बिग्रन्छ । त्यसैले नीतिगत रूपमै व्यवस्थित गरेर सहकारीलाई लैजान नसके दुर्घटना निम्त्याउँछ ।
मैले नेतृत्व गरेको उपासना महिला सहकारी संस्था सदस्यमा आधारित सहकारी भएको कारणले अहिलेको तरलता संकटको अवस्थामा हामीलाई त्यति धेरै अप्ठेरो छैन । यो अवस्थामा पनि गत वर्षको वित्तीय विवरण तुलना गर्दा हाम्रो कारोबार बढेकै छ । संस्थामा तरलता संकट पनि छैन । तर, यो अवस्थामा आफूमात्र सक्षम भएर भएन । बजारको अवस्था हेरेर आफूलाई सुरक्षित गर्नुपर्छ । त्यसैले हामीले एकदमै संयमित भएर लगानी गरिरहेका छौं । सदस्यहरूलाई एकदमै अप्ठेरो परेको अवस्थामा धितोमा लगानी गरिरहेका छौं ।
हामीकहाँ सदस्यहरूको अनिवार्य नियमित बचत रहेको छ । त्यो हाम्रो संस्थाको ब्याकअप हो, जसले गर्दा तरलता व्यवस्थापन गर्न सजिलो भएको छ । तरलता समस्याका कारण संस्था अप्ठेरोमा पर्दैन भन्नेमा ढुक्क छौं ।

नियमित बचत सहकारीको आधार हो
सीता भट्टराई
कार्यकारी प्रमुख, मातृशक्ति बचत तथा ऋण सहकारी

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि त्यसको प्रभाव सहकारी क्षेत्रमा पनि पर्न थालेको छ । अहिले हाम्रो पनि बचत संकलन घट्दै जान थालेको छ । जसका कारण सदस्यहरूले मागेअनुसार ऋण दिन सक्ने अवस्था छैन । ठूलो–ठूलो ऋण लगानी रोक्नुपरेको अवस्थामा छौं । हिजो हामीलाई ऋण दिने बैंक तथा वित्तीय संस्थाहरूले पनि सहकारीलाई ऋण दिएका छैनन् । भर्खरै हामीले एउटा सदस्यलाई हामी केही लगानी गर्छौं, केही लगानी तपाईंहरूले गर्नुहोस् भन्दा पनि बैंकबाट अहिले लगानी गर्न नसक्ने कुरा आयो । उनीहरूले ऋण दिन सकेनन् ।
ठूलो–ठूलो लगानी रोक्नुपरे पनि सदस्यहरूलाई स–सानो लगानी गरिरहेका छौं । हामीसँग सदस्यहरूबाट संकलन भएको पुँजी र बचत पनि छ । त्यही रकम परिचालन गरेर भए पनि संस्था सञ्चालन गरिरहेका छौं । हामीले धितो राखेर दिन ठूलो रकम लगानी गर्न सकेका छैनौं । यो अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट समेत निक्षेप माग्न आउनुभएको छ । बैंकहरूले पनि आफ्नो निक्षेप बढाउनका लागि सहकारी संस्थाहरूलाई टार्गेट गर्नुभएको छ । बैंकहरूले सहकारीबाट पनि निक्षेप लैजाने अवस्था आएको छ । किनकि अहिले बैंकहरूले नै १२ प्रतिशत भन्दा बढी ब्याजदर दिएको अवस्था छ । अहिले पनि हामीकहाँ सर्वसाधारणहरूलाई बैंकभन्दा सहकारी नै सुरक्षित छ भन्ने मानसिकता पनि छ । केही सहकारीहरूको बदमासीका कारण अरू सहकारीहरू पनि बदनाम भएका छन्, जसले गर्दा हामीलाई सदस्यहरूको विश्वास जित्न गाह्रो भएको छ ।
अहिलेको अवस्थामा बैंकले ब्याज बढाए पनि हामीले ब्याज बढाउन सकेका छैनौं । सदस्यहरूलाई प्रतिस्पर्धी ब्याज दिएर निक्षेप संस्थामै राख्न सकेका छैनौं । बैंकहरूले सहकारीको पैसा पनि तान्नका लागि बढी ब्याज दिएको अवस्था पनि छ । यो बेला सहकारीको सन्दर्भ ब्याजदरका कारण हामीले ब्याजदर बढाउन सकेका छैनौं । सन्दर्भ ब्याजदर खुकुलो बनाए हामीलाई पनि ब्याजदर प्रतिस्पर्धी बनाउन सजिलो हुन्थ्यो । अहिले सरकारले पुँजी परिचालन गर्न नसकेका कारण बजारमा तरलता अभाव भएको हामीले सुनेका छौं । यो अवस्था समाधान गर्नका लागि सरकारले पनि पुँजी परिचालन गर्नुपर्छ ।

बजारको गतिलाई सहकारीले पनि पछ्याउनुपर्छ
अनन्त श्रेष्ठ
अध्यक्ष, तीर्थ बचत तथा ऋण

तरलता अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारीहरूलाई पनि ब्याज बढाउनैपर्ने दबाब छ । तर, ग्रामीण भेगमा समुदायमा आधारित रही काम गरिरहेका सहकारीहरूलाई ब्याजदर बढे पनि खासै असर गर्दैन । तर सहर केन्द्रित सहकारीहरूलाई भने बैंकहरूले नै निक्षेपमा दोहोरो अंकको ब्याज दिने क्रम लम्बियो भने असर पर्छ । अहिले सहकारीहरूमा निक्षेप संकलनको अनुपात केही घट्न थालेको छ । तरलता अभावको समस्या तत्काल समाधान भए त सहकारी क्षेत्रमा त्यस्तो देखिने गरी असर हुँदैन, अझै लामो समयसम्म गएमा भने असर पर्न सक्छ ।
अहिले बैंकहरूले कर्जा प्रवाह रोकिरहेका छन् । त्यसैले यो बेला बजार जुन गतिमा गइरहेको छ त्यसलाई सहकारीले पनि पछ्याउनु जरुरी छ । बैंकहरूले कर्जामा लगाम लगाउनेबित्तिकै कर्जाको माग सहकारीमा बढिरहेको अवस्था पनि छ । यो बेला सहकारीहरूले गम्भीर भएर सोचेर लगानी गर्नुपर्छ । हामीले अत्यावश्यकभन्दा अन्यत्र लगानी गरेका छैनौं, लगानीमा नियन्त्रण गरिरहेका छौं ।
समुदायमा चलेका सहकारीहरूलाई ब्याजदरकै कारण ठूलो असर पर्दैन । किनकि ती संस्थाहरूले सदस्यलाई अन्य सेवा–सुविधा दिएका हुन्छन् । रकम राख्ने ब्याज पाउने मात्र होइन । जुन सहकारी सहर केन्द्रित छ र समुदायमा आधारित छैनन्, उनीहरूलाई सबैभन्दा बढी असर नै ब्याजदरले गर्छ । किनकि उनीहरूका सदस्यहरू पनि संस्थाले दिने सुविधाको पछिभन्दा पनि ब्याजदरका पछि दौडने गरेका हुन्छन् । सहकारी संस्थासँग भावनात्मक सम्बन्ध भएका सदस्यहरूलाई ब्याजदरको कुनै महत्व हुँदैन ।
अहिले बजारमा तरलता अभावको समस्या लामो समय जाने देखिएको छ । हामीले त्यसका लागि बचत गर्ने बानी बसाल्नका लागि विभिन्न शिक्षाहरू दिने, कर्जा लिँदा आवश्यक कुरामा मात्र लिने बानी बसाल्ने गरी सदस्यहरूलाई सुसूचित गर्नुपर्छ । त्यससँगै संघहरूले पनि अन्तरलगानीजस्ता कार्यक्रमहरूबाट स्रोत जुटाएर तरलता व्यवस्थापनका लागि काम गर्नुपर्छ । संस्थाहरूले सदस्यहरूलाई बचतका लागि प्रोत्साहन तथा उनीहरूको बचत सुरक्षित छ भन्ने ग्यारेन्टी हुने गरी मेकानिजम बनाउन आवश्यक छ । संस्थाहरूले सदस्यहरूको आवश्यकता हेरेर कर्जा लगानी गर्नुपर्छ । संदस्यहरूलाई आवश्यकता पर्दा बचत फिर्ता पनि गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्