Logo

राष्ट्रियसभा सदस्यका प्रत्याशीका प्रतिबद्धता

आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको लागि चुनाव हुँदैछ । सत्तारुढ गठबन्धन र एमालेले आफ्ना उम्मेदवार तोकिसकेका छन् । अघिल्लो चुनावमा करिब करिब सबै आफ्ना उम्मेदवार जिताएको नेकपा (एमाले)ले यसपटक एउटै पनि उम्मेदवार जिताउन नसक्ने देखिन्छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक दलले सबै सिट गुमाउने बताइसकेका छन् । यसै सन्दर्भमा राष्ट्रियसभा सदस्यका प्रत्याशी उम्मेदवारहरुसँग कारोबारकर्मीहरु मीन कुमार नवोदित, मुकेश चौधरी र गोबिन्द खत्रीले गरेको कुराकानीको सारः

आर्थिक समृद्धि र महिलाको मुद्दामा केन्द्रित हुन्छु
कमला पन्त
राष्ट्रियसभा सदस्यका प्रत्याशी, नेपाली कांग्रेस

अनुभवी व्यक्तिहरूको उपस्थिति हुने माथिल्लो सदन स्थायी सदनका रूपमा संविधानले व्यवस्था गरेकोले यसको छुट्टै महत्व छ । जनप्रतिनिधिमूलक संस्था कहिले पनि खाली नहुने गरी संविधानले गरेको व्यवस्थाअनुरूप यसमा प्रायः सबै पार्टीबाट अनुभवी नेताहरूको प्रतिनिधित्व हुने गर्छ ।
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेर उम्मेदवारी दिएका छौं । पार्टीले मलाई विश्वास गरेर सिफारिस गरी निर्वाचनको मैदानमा पठाएकाले यसमा गठबन्धनसहित हाम्रा जनप्रतिनिधिहरूले आफ्नो अमूल्य मत दिएर विजयी गराउनुहुनेछ भन्ने आशा गरेकी छु । सत्तारूढ दल माओवादी केन्द्रका दुई जना भुवनबहादुर सुनार र सुरेश आलेमगरसमेत राष्ट्रियसभा सदस्यका प्रत्याशी उम्मेदवारको रूपमा रहनुभएको छ ।
गठबन्धनमा ६ सय ९५ मतभार बढी देखिन्छ तर चुनाव हो, अन्तिम नतिजा नआएसम्म के भन्न सकिन्छ र ? यदि म निर्वाचित भएँ भने जनताको आर्थिक समृद्धि हुने मुद्दामा, सदनको जिम्मेवारी पूरा गर्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । पार्लियामेन्ट क्षेत्रमा २०५१ सालदेखि प्रायः निरन्तर रहँदै आएको हुनाले केही अनुभव र आफ्नो केही योगदानसमेत माथिल्लो सदनमा दिन पाइन्छ भन्ने विश्वास लिएकी छु । पार्टीले दिएको जिम्मेवारी, संसदीय दलको निर्देशन, महिला र समसामयिक विषयमा काम गर्ने मेरो अर्को इच्छासमेत रहेको छ ।
देशको अहिलेको राजनीतिक अवस्थाका बारेमा भन्नुपर्दा निकै खस्केको मलाई लागिरहेको छ । सदन करिब एक वर्षदेखि ठप्प भएको छ, प्रजातन्त्रमा पीडित जनताले न्याय पाउन सकेका छैनन् । पीडितले न्याय नपाउने भनेको शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कायम गर्न नसक्नु, न्यायालय कमजोर भएको हामीलाई पनि महसुस भएको छ । अब न्यायालयजस्ता क्षेत्रलाई कमजोर होइन बलियो बनाउनुपर्छ, यसमा हाम्रो भूमिका सशक्त हुनेछ ।

प्राकृतिक स्रोतसाधनको उपभोगसहित संरक्षण गर्नुपर्छ
पुण्यप्रसाद पौडेल
राष्ट्रियसभा सदस्यका प्रत्याशी, नेकपा एमाले

एक थरीले अहिले एमालेलाई प्रतिगमन भनेर भन्ने गरेका छन्, तर पनि संसारको दुनियाँमा प्रजातन्त्रमा अथवा प्रधानमन्त्री सिस्टम भएका मुलुकहरूमा आफूलाई अप्ठ्यारो हुँदा जनतासँग गुहार माग्ने र चुनावमा जाने संसारकै प्रचलन हो । जापान, इजरायल, फ्रान्स, बेलायतलगायतका मुलुकमा संसदीय प्रणाली छ, प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दा निर्वाचनमा जाने गरेका छन् । जटिल अवस्थामा एमालेले निर्वाचनमा जाने भन्ने विषयलाई लिएर प्रतिगमन भन्नु नौटंकी हो ।
एमालेसँग डराएर अन्य दलहरूले गठबन्धन गरेका छन् । अहिलेको अवस्था भनेको मुलुकलाई संवैधानिक अवस्थामा लैजाने नै हो । तर, अब यसलाई आगामी निर्वाचनले थप प्रस्ट पार्नुपर्ने चुनौती आएको छ । संविधानको कुरामा केही विवाद उत्पन्न भएकाले संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । मैले पोखराबाट प्रतिनिधित्व गर्न पनि खोजें, मैले प्राकृतिक सुन्दरताका बारेमा, फेवातालको सीमांकन र नक्सांकनको विषयमा पनि काम गरेको अनुभवले गर्दा प्राकृतिक स्रोतसाधनलाई हामीले संरक्षण मात्र होइन, अब यसलाई आमजनता तथा स्थानीयलाई लाभ हुने गरी उपयोग पनि गर्नुपर्छ । प्राकृतिक सम्पदा देखाउने मात्रै कि त्यसबाट केही आर्जन पनि गर्ने भन्ने विषयमा अब सोच्नुपर्ने समय आएको छ । प्राकृतिक स्रोतसाधनको सुरक्षासहित त्यसको उचित ढंगले प्रयोग गर्नुपर्छ । अहिलेको राजनीतिक अवस्था जटिल छ, दुई शक्तिबीचको लडाइँ हो ।
अहिलेको सत्ता गठबन्धन टुटेको पनि युरोपियनहरूका कारण भएको जस्तो लाग्छ मलाई । प्रधान न्यायाधीशलाई मन्त्री दिने गरी चर्चा भएकाले गर्दा पनि गठबन्धनमा संसद्को अधिकार अपहरण भएको छ भन्ने मलाई लाग्छ । प्राकृतिक स्रोतसाधनलाई उचित ढंगले प्रयोगसहित त्यसको संरक्षण गर्नुपर्छ । प्राकृतिक स्रोतसाधनको उपभोगसहित संरक्षण र त्यसको दोहन गर्ने सरकारले सामथ्र्य राख्नुपर्छ । त्यसको स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यसमा राज्यले सोच्नुपर्छ । आउँदो माघ १२ गते हुने निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका तर्फबाट मसहित महिलामा लीला थनेत र दलितमा अर्जुनकुमार सुनाम राष्ट्रियसभा सदस्यको उम्मेदवारका प्रत्याशीका रूपमा रहेका छौं । चुनावी मैदानमा उत्रिने हार्न मात्र होइन, जित्नका लागि हो । हाम्रो जितका लागि हामीले प्रयास जारी राखेका छौं ।
गण्डकी प्रदेशमा एमालेका २७ जना सांसद रहेका छन् भने मतभार १ हजार २ सय ९६ अंक छ । नेपाली कांग्रेसको १५ सांसदसहित ७ सय २० अंक, माओवादी केन्द्रको १२ सांसदसहित ५ सय ७६ अंक रहेको छ । जनमोर्चा र जनता समाजवादीको भने समान ९६ अंक छ । स्थानीयतर्फ एमालेको ७० जना जसबाट १ हजार २ सय ६० मत, ८३ जनप्रतिनिधि रहेको कांग्रेसबाट १ हजार ४ सय १८ मतभार रहेको छ । माओवादी केन्द्रको भने २ सय १६ मतभार रहेको छ ।

रोकिएका काम कानुन बनाएर गर्नुपर्छ
नारायणदत्त मिश्र
राष्ट्रियसभा सदस्यका प्रत्याशी, नेपाली कांग्रेस

मलगायत गठबन्धनमा रहेका दलहरूको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा मिलेर उम्मेदवारी दिएका छौं । हाम्रो चुनावी एजेन्डा पनि गठबन्धनले नै सेट गरेको छ । यो गठबन्धन प्रतिगमनविरुद्धको गठबन्धन हो । एमालेले जुन तरिकाले सबै ठाउँ कब्जा गर्न खोजेको थियो, त्यो कब्जाको विरुद्धमा हामीहरूले त्यतिखेर गठबन्धन बनायौं । त्यही गठबन्धनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरेको छ । गठबन्धनले नै हामीहरूलाई उम्मेदवार बनाएको छ । मतभारको हिसाबले गठबन्धनको तीन दलबाट जितेका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख, प्रदेशसभाका सदस्यहरूको संख्या हेर्दा हामीहरूको पक्षमा अत्यधिक संख्या देखिन्छ । तर, गोप्य मतदान हुने भएकाले चुनावका मानिसले स्वविवेक पनि प्रयोग गर्न सक्छन् । त्यस कारणले चुनावमा आफ्ना साथीहरूलाई कन्भिन्स गर्न लागिररहेका छौं ।
यसभन्दा पहिला म कैलालीमा जिल्ला विकास समितिको सभापति भएर बसेको थिएँ । कैलाली जिल्लामा केन्द्र सरकारले राजमार्गबाहेकको बाटो बनाएको थिएन । राजमार्गमात्रै पिच थियो । धेरै सडकमा ग्राभेल पनि थिएन । त्यस बेला हामीले जिल्लामा रहेका सबै बाटो ग्राभेल ग¥यौं । त्यसपछि जिल्लाभरि रिङरोड बनाउने नीति पास ग¥यौं । त्यसपछि खुटिया भएर धनगढी निस्कने, मसुरियाबाट हसुलिया निस्कने, सुख्खडबाट भजनी निस्कने, बौनियाबाट भजनी लालबोझी, कटासेबाट टीकापुर सत्ति निस्कने र हसुलियाबाट धनगढी निस्कने बाटो बनायौं । बाटो बनाएर ग्राभेल पनि ग¥यौ । मलाई विकासको काम गर्न एकदमै मन पर्छ । तर, राष्ट्रिय सभा प्रत्यक्ष रूपमा विकाससँग जोडिएको छैन । यसले अलि फरक काम गर्छ । यसले गभर्न गर्ने हो । प्रतिनिधिसभाबाट पास गरेका कुरामा केही कमजोरी छ भने सच्याउन लगाउने, केही कामहरू नीतिसंगत तरिकाले बढेको छैन भने त्यसलाई नीति बनाएर अगाडि बढाउने र प्रतिनिधिसभाबाट विधेयक उत्पत्ति गराएर पास गराउने काम गर्छ । यो ठाउँका लागि म नयाँ भएकाले धेरै कुरा मलाई अहिले नै जानकारी नहुन सक्छ । राष्ट्रियसभाको गरिमा उच्च बनाउँदै मैले जितें भने काम गर्नेछु ।
हामी अहिले संघीय राज्य व्यवस्थामा छौं । लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी गठबन्धनमा रहेका तीनवटै पार्टीले लिएका छन् । राष्ट्रियसभाले प्रदेश सरकारलाई पनि काम गर्ने वातावरण बनाउनुपर्छ र उसको पक्षमा पनि वकालत गर्नुपर्छ । साथै, स्थानीय निकायहरूलाई पनि बलियो बनाउनु पर्छ । कानुनी अड्चनका कारणले कहीं केही काम रोकिएका छन् भने त्यसलाई सुल्झाउने नीति राष्ट्रिय सभाले बनाउनुपर्छ । तर, कानुनको सहारा लिएर कसैले पारदर्शी हुनै नसकिने काम गरेको छ भने त्यसलाई रोक्ने कानुन बनाउनुपर्छ । कानुन बनाएर सबैलाई सजिलो तरिकाले काम गर्ने वातावरण बनाउनुपर्छ र त्यसरी काम गर्दा कोही अपारदर्शी हुन थाल्यो भने त्यसलाई रोक्ने गर्नुपर्छ । कानुनकै कारणले विकास, औद्योगीकरण, आर्थिक समृद्धि ल्याउने काम रोकिएको छ भने त्यस्ता कानुनहरू बनाउन राष्ट्रिय सभाबाट विधेयक उत्पत्ति गर्नुपर्छ ।

समाज रूपान्तरणका लागि योगदान गरिरहनेछु
चूडामणि शर्मा
राष्ट्रियसभा सदस्यका प्रत्याशी, नेकपा एमाले

मैले २०३० सालदेखि विद्यार्थी राजनीतिक र २०३३ सालदेखि कम्युनिस्ट पार्टीको सम्पर्कमा रही राजनीतिक जीवनको सुरुवात गरेको हुँ । पञ्चायतविरुद्ध २०३६ देखि २०४२ सालसम्म शिक्षकको आन्दोलनबाट सहभागी भएँ । २०४२ देखि २०५२ सम्म तत्कालीन नेकपा मसाल र त्यसयता नेकपा एमालेका विभिन्न जिम्मेवारीमा रहेर देशको परिवर्तनका लागि योगदान पु-याएको कुरा कर्णालीका जनप्रतिनिधि अधिकांशलाई थाहा छ । परिवर्तनको पक्षमा अनवरत रूपमा लाग्दा पटक–पटक गरी करिब सात वर्ष जेल जीवनसमेत बिताएको छु । म पेसागत रूपमा शिक्षक हुँदा शिक्षकको केन्द्रीय नेतृत्वमा रही परिवर्तनको पक्षमा लडेँ । राजनीतिक परिवर्तनका लागि विद्यार्थीकालदेखि अहिलेसम्म निरन्तर रूपमा लागिरहेको छ । मैले परिवर्तनका लागि आफ्ना दुःखका दिन बिताएको र समाजका लागि लागिपरेको कुराको कदर गर्दै कर्णालीका जनप्रतिनिधि साथीहरूले मलाई मतदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । यदि मलाई राष्ट्रियसभा निर्वाचनमा निर्वाचित गराउनुभयो भने राष्ट्रले लिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षालाई परिपूर्ति गर्न आ–आफ्नो ठाउँबाट विधायिकी भूमिका निर्वाह गर्नेछु । अझ विगतदेखि पछाडि पारिएको कर्णाली प्रदेशलाई अगाडि ल्याउन विधायिकाका रूपमा खेल्नुपर्ने जति भूमिका हुन्छ त्यसलाई मैले न्याय गर्न सक्छु भन्ने उद्देश्यले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएको छु । यदि म राष्ट्रियसभा सदस्य निर्वाचत भएँ भने विगतदेखि निरन्तर रूपले समाज परिवर्तनका लागि लागिरहेको यात्रालाई थप सक्रिय र सशक्त बनाउन सकिन्छ भन्ने मेरो बुझाइ हो । त्यसैले मैले विगतमा समाज रूपान्तरणमा गरेको योगदान, मेरो योग्यता, क्षमताका विषयमा मतदाताहरू जानकार हुनुभएकाले म राष्ट्रियसभा सदस्यमा निर्वाचित हुन्छु भन्ने विश्वस्त छु ।

गठबन्धन बलियो भएकाले हाम्रो जित निश्चित छ
गोपालकुमार बस्नेत
राष्ट्रियसभा सदस्यका प्रत्याशी, नेपाली कांग्रेस

गठबन्धनका तर्फबाट राष्ट्रियसभाको उम्मेदवार बनेको छु । नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनमा मैले निकै दुःख गरेको छु । यसैलाई आधार मानेर सायद पार्टीले मलाई उम्मेदवार बनाएको हुनुपर्छ । पार्टीले सुम्पिएको जिम्मेवारीलाई म कुशलता र इमानदारीपूर्वक पूरा गर्नेछु । काम गर्दै जाँदा पार्टीले सम्झिँदो रहेछ भन्ने मैले महसुस गरेको छु । अब साथीहरूले मेरो उम्मेदवारीलाई माघ १२ गतेको निर्वाचनबाट अनुमोदन गर्नुहुन्छ भन्ने आशा छ । राजनीतिमार्फत देश र जनताको सेवा गर्ने उद्देश्यले म राजनीतिमा लागेको हुँ । राजनीतिमा जहिले पनि इमानदारिता, निष्ठासँगै जनताप्रति उत्तरदायी हुनुपर्छ भन्ने मेरो मान्यता छ । राष्ट्रियसभामा म निर्वाचित भएमा त्यसैलाई आत्मसात् गरेर आफ्नो जिम्मेवारी बहन गर्नेछु । राष्ट्रियसभामा प्रदेश–१ भरिका स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश सांसदहरूले मतदान गर्नुहुनेछ । सबै पालिका पुग्न असम्भव छ । सबैको मोबाइल नम्बर कलेक्सन गर्दैछु । उहाँहरूलाई मोबाइलमार्फत फोन गरेर मत माग्ने तयारी गरिरहेको छु । छोटो समय भएकाले हरेक पालिकामा पुग्न असम्भव छ । चुनाव भनेको एउटाले जित्छ, अर्कोले हार्छ । मलाई लाग्छ, गठबन्धन पनि बलियो भएकाले मैले चुनाव जित्छु । राष्ट्रियसभा भनेको अनुभवी, परिपक्व व्यक्तिहरू जाने ठाउँ हो । त्यहाँ गएर संविधानको परिधिभित्र रहेर हामीले काम गर्नुपर्ने हुन्छ । तल्लो सदनबाट पास आएका विधेयकलाई अध्ययन गरेर पास गर्नुपर्छ । मैले चुनाव जितेमा संविधानले दिएको अधिकार प्रयोग गरी आफ्नो जिम्मेवारी पूरा गर्न म कटिबद्ध हुनेछु ।

देशैभर गठबन्धनका उम्मेदवारले जित्नुहुनेछ
जयन्ती राई
राष्ट्रियसभा सदस्यका प्रत्याशी, नेकपा एकीकृत समाजवादी

सत्तारूढ गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनका लागि मैले पनि उम्मेदवारी दिएकी छु । म नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेको हुँ । नेपालको कम्युनिस्ट आन्दोलनमा मेरो पनि योगदान रहेको छ । हाम्रो उम्मेदवारी भनेको लोकतन्त्र, मुलुकको विकास र समृद्धिका लागि पनि हो । हुन त हाम्रो जिम्मेवारी विकास निर्माण गर्नेभित्र पर्दैन । तर, जुन केपी शर्मा ओलीले संविधानलाई च्यात्ने काम गर्नुभयो विगतमा, त्यसलाई हामी गठबन्धनमा आबद्ध दलहरूले जोगाएका हौं । यो कुरा जनताले बुझेका छन् । केपी ओलीको दम्भका कारण दुई–दुई पटक संसद विघटन गर्ने काम भयो । विगत सात दशकभन्दा लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई, लोकतन्त्रलाई कमजोर मात्रै होइन समाप्त पार्ने खेल पनि भयो । यदि केपी ओलीले दम्भ नदेखाएको भए माओवादीसँगको पार्टी एकता भंग हुने थिएन । नेकपा एमाले विभाजित हुने थिएन । सबैलाई मिलाएर लगेको भए अहिले पनि कम्युनिस्टकै सरकार हुन्थ्यो । जनताको चाहनाअनुसार विकास निर्माणमा ध्यान दिएको भए मुलुकको आर्थिक समृद्धि पनि हुन्थ्यो । यो नहुनुको सबै कारण भनेको केपी ओलीकै दम्भ र घमन्ड हो । यसपटकको राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ दलको गठबन्धनले प्रदेश–१ सहित देशभर साझा उम्मेदवारी दिएको छ । हाम्रो उम्मेदवारीलाई मतदाताले विवेक पु¥याएर अनुमोदन गर्नुहुनेछ । मलाई लाग्छ, नेकपा एमालेकै कतिपय साथीहरूले गठबन्धनलाई भोट हाल्नुहुन्छ । ओलीको निरंकुश प्रवृत्तिका कारण एमालेकै धेरै साथीहरू वाक्कदिक्क भएका छन् । हाम्रो जित निश्चितजस्तै छ । देशैभर गठबन्धनका उम्मेदवारले जित्नुहुनेछ । अब माघ १२ गते पर्खनुको विकल्प छैन । स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, प्रदेश सांसदहरू मतदाता हुने भएकाले उहाँलाई फोन गरेर भोट मागिरहेको छु ।

प्रतिक्रिया दिनुहोस्