संविधान नै खत्तम पार्न खोजेको आरोप «

संविधान नै खत्तम पार्न खोजेको आरोप

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको बताए ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले मिलेर एक वर्षमा दुई, दुई चोटी संविधानमाथि आक्रमण गरेर खत्तम पार्न खोजेको टिप्पणी गरेका हुन् । चन्द्रदेव जोशीद्वारा लिखित पुस्तक ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले आफैंले खडा गरेका राज्यका मुख्य–मुख्य संस्थाहरूलाई पौष्टिक आहार दिएर मजदुत बनाउनुको सट्टा बारम्बार आक्रमण गरिएको भन्दै आपत्ति जनाए ।
पूर्वराष्ट्रपति यादवले पाँच राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र अदालतले संविधान जोगाएको उल्लेख गर्दै राष्ट्रपति भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूलाई एकठाउँमा राखेर सदनमा देखिएको गतिरोध अन्त्यका लागि पहल गर्नुपर्ने कर्तव्य भएको पनि स्मरण गराए । उनले भने, ‘यो संविधानमाथि बारम्बार आक्रमण भइराखेको छ, यो चार वर्षमा । त्यसमा पनि एक वर्षदेखि २÷२ चोटि संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री, राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजे । पोलिटिकल पार्टी कहाँ–कहाँ गए ? के–के भयो ? त्यो विषय होइन । म भन्न चाहन्छु–जुन समस्याहरू खडा गरेका छौं । ती संस्थाहरूलाई पौष्टिक आहार दिने, यसलाई मजदुत गर्ने, लोकतन्त्रका तीन वटा संस्थाहरू, जुन पिल्लर हुन्छ । त्यसमा बारम्बार प्रहार गरियो । पाँच वटा पार्टीले, नागरिक समाजले, बुद्धिजीवीले, नेपाली जनताले, अदालतले त्यसलाई कुनै न कुनै प्रकारले बचायो । र, अहिले त्यहीँ न्यायपालिकाको यस्तो स्थिति छ । सदनको त्यो स्थिति छ । पोलिटिकल पार्टीले संविधान, विधान अनुसार अधिवेशनहरू गर्दै आए, त्यो सुःखद् कुरो हो । तर यो व्यवस्थालाई बचाएर हामीले नेपाललाई अगाडि लग्ने कि नलग्ने ? यहाँ राष्ट्रपतिको के कर्तव्य छ ? सरकार प्रमुखको दायित्व छ–पोलिटिकल पार्टीहरूलाई एक ठाउँमा राखेर छलफल गरेर कसरी अदालत चलाउने ? प्रतिनिधिसभा राष्ट्रको सम्पूर्ण समस्याको समाधान गर्ने थलो हो । त्यसलाई बन्धक बनाएर राखिएको छ । त्यसका लागि राष्ट्रपतिको कर्तव्य के हो ? सरकार प्रमुखको कर्तव्य के छ ? नागरिक समाजको कर्तव्य के छ ? त्यो कर्तव्य निर्वाह गर्ने कि नगर्ने ? यो व्यवस्थालाई जोगाएर उन्नत समाज निर्माणका लागि समाजवाद तर्फ जान कोसिस गर्ने कि नगर्ने ? मेरो चिन्ता त्यहाँ छ ।’
पूर्वराष्ट्रपति यादवले राष्ट्रको सम्पूर्ण समस्या समाधान गर्ने धलो संसद भएको उल्लेख गर्दै त्यसलाई बन्धक बनाउने काम गरेको भन्दै एमालेप्रति असन्तुष्टि पनि जनाए । उनले राजनीतिक दलहरूलाई मिलेर संविधानमा उल्लेख गरिएको उन्नत समाज निर्माण हुने गरी समाजवादको तयारीमा जुटन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्