दलाल पुँजीवाददेखि दलाल समाजवादसम्म «

दलाल पुँजीवाददेखि दलाल समाजवादसम्म

हालका वर्षहरूमा सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रतामा ठूलै क्रान्ति ल्याइदिएको छ, जसले जसका बारेमा तत्काल जे टिप्पणी गर्न पनि स्वतन्त्र बनाइदिएको छ ।

एक साताअगाडि शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नी अमेरिकामा अध्ययनरत छोरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेको फोटोमा धेरैले धेरै थरी टिप्पणी गरेको पाइयो, जसमा सकारात्मकभन्दा नकारात्मक टिप्पणी बढी थिए । यसले नेपाली समाज कता जाँदै छ र कस्तो मानसिकतामा बाँचिरहेको छ भन्ने स्पष्ट हुन्छ । साथै, यसले नेपालमा लोकतान्त्रिक चरित्र तथा वैयक्तिक स्वतन्त्रताको कस्तो भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ भन्ने पनि स्पष्ट हुन्छ । हुन त बहुमत टिप्पणीकर्ताको रोष छोरीप्रतिभन्दा पनि बाबुको दोहोरो चरित्रप्रति लक्षित थियो । तर, शिक्षामन्त्रीको राजनीतिक दर्शन तथा त्यसको व्यावहारिक पाटोलाई जोड्दा एउटी बालिकाको आफ्नो स्वतन्त्रताको विषय गौण हुन सक्दैन । यस्तै प्रश्न बेलाबेलामा अन्य राजनीतिक दलका अन्य नेतासँग पनि जोडिएर आउँछ ।
यस्ता घटनाक्रमले नेपाली नागरिकले दशकौंदेखि रैतीबाट सार्वभौमसत्तासम्पन्न मुलुकका नागरिक बन्न गरेको लडाइँ जित्दै गर्दा वैयक्तित स्वतन्त्रताको दायरा झन् खुम्चँदै गइरहेको देखाउँछ । राजनीतिक दर्शन तथा व्यावहारिक पाटोको तुलना गर्न एउटी बालिकाको सहारा लिनु नितान्त गलत हो र यस्तो वैयक्तिक स्वतन्त्रतामा भइरहेका प्रहारले कालान्तरमा नेपाललाई सार्वभौमसत्तासम्पन्न मुलुकका रूपमा रहिरहन दिँदैन । किनकि सामाजिक सञ्जालमार्फत निर्माण गर्न खोजिएको नयाँ भाष्यले स्वतन्त्र नागरिकको ठाउँमा कुनै अमुक राजनीतिक दलको कार्यकर्ता बनाउन मात्रै उत्प्रेरित गर्छ । मेरो नेताले गरे ठीक, तेरो नेताले गरे बेठीक भन्ने भाष्यले लोकतान्त्रिक चरित्र दर्साउँदैन । पञ्चायतकालमा पनि यस्तै भाष्य निर्माण गर्न खोजिएको थियो, ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’ । त्यो टिकेन । तर, ठ्याक्कै त्यही पारामा निर्माण गर्न खोजिएको नयाँ भाष्यले पनि मुलुक अग्रगमनतिर होइन पश्चगमनतिर मात्र लैजान्छ ।
हालका वर्षहरूमा सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रतामा ठूलै क्रान्ति ल्याइदिएको छ, जसले जसका बारेमा तत्काल जे टिप्पणी गर्न पनि स्वतन्त्र बनाइदिएको छ । तर, आफ्नो वैयक्तिक स्वतन्त्रताको प्रयोग गरेर सामाजिक सञ्जालमा टिप्पणी गर्दा अरूको वैयक्तिक स्वतन्त्रताको हनन गर्न पाइन्न भन्ने हेक्का धेरैमा छैन । फलस्वरूप बेलाबेलामा सामाजिक सञ्जाल नियमनदेखि नियन्त्रणसम्मका कुरा समाजका विभिन्न क्षेत्रबाट आइरहेको छ, जुन सर्वथा गलत हो । तर, अरूको स्वतन्त्रताको ख्याल नराख्ने केहीको मानसिकताका कारण उठेका यी स्वरले बिस्तारै नेपाली समाजमा गलत भाष्य निर्माण गर्न सघाइरहेको छ । यो दुर्भाग्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यलाई सुरक्षित गर्न यस्ता भाष्यले सघाउ पु-याउँदैनन् ।
दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दियो । त्यसपछि संविधानको संस्थागत विकास गर्न राजनीतिक दलहरूले लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने आशा गरिएको थियो । तर, राजनीतिक दलहरूले न त आफ्नै राजनीतिक दललाई संस्थागत एवं लोकतान्त्रिक बनाउने चेष्टा गरे, न त मुलुकका कुनै पनि संस्थालाई । उनीहरूले आफ्नै राजनीतिक दल एवं मुलुकका संस्थाहरूलाई महेन्द्रीय पथमा समाहित गरे, चुनाव जित्न बढीभन्दा बढी स्रोत दोहन गरेर शक्ति सञ्चय गरे, जसका कारण नीतिगत भ्रष्टाचार मौलाएको छ । जोखिम लिएर उद्योग व्यवसाय गर्नेभन्दा राजनीति गर्ने धेरै शक्तिशाली तथा धनी भए । पटकपटक सरकारको नेतृत्व गर्ने राजनीतिक दलका नेताको सम्पत्ति बढिरह्यो, मुलुकका कानुन उनैका हातमा भएका कारण उनीहरूले कतै जवाफदेही पनि हुनु परेन । अनि आयस्रोत पनि देखाउनु परेन । तर, जोखिम लिएर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्योग, व्यवसाय गर्नेलाई भने सधैं आफ्नो घरबार डुब्ला भन्ने डर रहिरहने कारणले एउटा न एउटा नेताको सुरुवालको फेरो समाउनुपर्ने बाध्यता सिर्जना भयो । यस्तो परिस्थिति सिर्जना गरेर राजनीतिक दलले आफैंले ल्याएको संविधानको उल्लंघन गरिरहेका छन् । किनकि समाज रूपान्तरणको नारा दिने राजनीतिक दलको छहारी नपाइ कसैले पनि नेपालमा आफूले चाहेको पेसा व्यवसाय गर्न स्वतन्त्र नहुनु भनेको पनि संविधानको उल्लंघन हो । संविधानमा स्पष्ट लेखिएको छ, ‘हरेक नागरिक आफ्नो पेसा–व्यवसाय गरेर खान स्वतन्त्र छ ।’ तर त्यस वाक्यलाई तोडमरोड गरेर ‘हरेक नागरिक कुनै न कुनै राजनीतिक दलको आडमा मात्रै आफ्नो पेसा–व्यवसाय गरेर खान स्वतन्त्र छ’ भन्ने भाष्य निर्माण हुनु दुःखद हो । नेपालको आर्थिक सामाजिक विकासलाई बन्ध्याकरण गर्ने दुष्प्रयास हो ।
यसरी गलत भाष्य निर्माण गर्दै जाने क्रममा हरेक पेसा–व्यवसायलाई बदनाम गरियो । नेपालमा राजनीतिबाहेक कुनै पनि पेसा–व्यवसायमा आफ्नो भविष्य नदेखेपछि युवा मुलुकमा बस्न चाहेन । शिक्षामन्त्री देवेन्द्र पौडेल पनि यसैको उदाहरण हुन् । जब मुलुक जर्जर बनाइसकेपछि आफ्ना सन्तानको भविष्य नदेखेपछि भविष्य सुनिश्चित गर्न अमेरिका होस् कि खाडी होस्, सबै अभिभावकले आफ्ना सन्तान बाहिरै पठाउने हो । शक्ति र राज्यस्रोतमा हालीमुहाली गर्नेले पुँजीवादी अमेरिकामा अनि शक्ति र राज्यस्रोत पहुँच नहुने देवेन्द्र सुनारले वा देवेन्द्र कुर्मीले खाडी नै पठाउने हो आफ्ना सन्तानलाई । त्यसैले सामाजिक सञ्जालमा दलाल पुँजीवाद वा दलाल समाजवादलाई गाली गर्ने सबैका सन्तान मुलुकमा बस्न नचाहनु नेपालको राजनीतिक प्रणाली वा आर्थिक प्रणालीका असफलता होइनन्, भविष्यको आशा तथा भरोसा आफ्नै राजनीतिक दल, नेतृत्व तथा दर्शनमा विश्वास नभएर हो । जसलाई ढाकछोप गर्न सामाजिक सञ्जालमार्फत नयाँ–नयाँ भाष्य निर्माण गर्न उक्साइएको छ ।
नेपालमा बसेर आफ्नो पुँजी तथा श्रमशक्तिको उत्पादकत्व ह्रास हुने देखेपछि कुनै पनि युवा मुलुकमा बस्न नचाहेका हुन्, जसका लागि राजनीतिक दल पूर्ण जिम्मेवार छन् । किनकि राजनीतिकल दलले संस्थाहरूलाई ध्वस्त पारे । अन्यथा प्रजातन्त्रको उत्कृष्ट अभ्यास मानिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा असफल बनाउन अरू कसैले षड्यन्त्र गरेको होइन, राजनीतिक दलका नेताका व्यवहारले नै गरेको हो ।
२०७२ मा मुलुक संघीय गणतन्त्रमा गइसकेपछि पछि पनि सरकारी संरचनामा परिवर्तन त आएन नै, लोकतन्त्र पनि तरल नै रह्यो । जसका कारण अर्थतन्त्रमा राजनीतिक दलका दौराका फेर समातेकाहरूको हालीमुहाली बढ्यो, जसको उद्देश्य मुलुकको आथिक समृद्धि थिएन । भगत, राजनीतिक दलको सहयोगमा आफू कमाउने र नेता पाल्नेमात्र थियो । त्यसैले पछिल्ला समयमा सतहमा आएका काण्डहरू केही उदाहरणहरू मात्र हुन् । मुलुकको समृद्धिका लागि राजनीतिक दलको दौराको फेरो नसमाती उद्यम गर्छु भन्नेका लागि स्पेस नभएपछिका दुर्घटना हुन्, पछिल्ला घटना ।
संघीय गणतन्त्र नेपालमा न त लोकतान्त्रिक विचारका लागि स्पेस छ, न त स्वतन्त्र पेसा–व्यवसाय गरेर खानेका लागि स्पेस छ । भएका सामाजिक सञ्जाल पनि उनैको कब्जामा छन्, जो गलत भाष्य बनाएर समाजलाई दुर्घटनातर्फ उन्मुख गराइरहेका छन्, निजी क्षेत्र पनि त्यसैको सिकार भएको हो । यो ती राजनीतिक दलका दर्शन, सिद्धान्त र व्यवहारको असफलता हो, जसले नयाँ नेपाल बनाउने वाचा गरेका थिए । तर, व्यवहारमा पुरानै नेपालको प्रवृत्ति पछ्याइरहेका छन् । होइन भने २०७२ पछिका कुनै पनि सरकारले किन बदलिँदो समयअनुरूप अर्थतन्त्रको संरचनागत सुधारमा काम गरेनन्, उल्टै सुधारवादलाई निषेध गर्ने प्रकारका भाष्य निर्माण गर्दै मुलुकलाई पूर्व सोभियताकालीन अर्थतन्त्रतिर घचेट्दै छन् ? के दलाल पुँजीवाद भनेर गाली गरेपछि आफ्ना सन्तानको भविष्य सुरक्षित हुन्छ भन्ने भ्रम अझै पनि राजनीतिक दलका नेतृत्व वर्गमा छ ?
जबसम्म राजनीतिक दलले तथा यसका नेतृत्वले भावी पुस्तालाई उसको स्वतन्त्र छनोटको अधिकारसहित नेपालमा नै मेरो भविष्य छ भन्ने सुनिश्चित गर्न सफल हुँदैन, तबसम्म पुँजीवादलाई सराप्ने र दलाल समाजवादको अभ्यास गर्नेबाहेक कुनै उपलब्धि हुँदैन । जबर्जस्त नयाँ भाष्य निर्माण गरेर केही समय केहीलाई मुर्ख बनाउन सकिन्छ तर सधैं सबैलाई मुर्ख बनाउन सकिन्न । आफ्नै जीवनकालमा समृद्ध नेपाल बनाउने वाचा गर्ने राजनीतिक दल तथा तिनका नेतृत्व वर्गले आफ्नो शुतुर्मुग प्रवृत्ति जति छिटो परिवर्तन गर्छन्, त्यति नै छिटो नेपालको भविष्य सुनिश्चित गर्न सकिन्छ ।
अन्यथा व्यावसायिक रूपमा प्रतिस्पर्धी निजी क्षेत्र बनाउन सघाउनुको साटो निजी क्षेत्रलाई छोरा, ज्वाइँ बनाउनु खोज्दा दुर्घटना त हुन्छ नै । यसले निजी क्षेत्रको प्रवद्र्धन पनि हुँदैन । साथै, यस्ता क्रियाकलापले निजी क्षेत्रलाई पनि दलालीकरण गर्नमात्र मद्दत मिल्छ । नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने निजी क्षेत्रलाई व्यक्तिगत रूपमा सम्बोधन गर्न थालेपछि निजी क्षेत्र बदनाम हुने हो, जसले मुलुकको दिगो आर्थिक विकासमा मद्दत गर्दैन । स्वदेशी निजी क्षेत्र बदनाम हुँदा वैदेशिक निजी क्षेत्र पनि नेपालमा लगानी गर्न आउन्नन् । लगानी नभएपछि नेपालमा रोजगारी सिर्जना हुँदैन अनि जाने विदेश नै हो चाहे देवेन्द्र पौडेलका सन्तान हुन् वा देवेन्द्र सुनारका वा देवेन्द्र कुर्मीका । आआफ्ना हैसियतअनुसार गन्तव्यमात्र फरक हो ।
त्यसैले मुहान सफा नभईकन मुलुकका कुनै पनि क्षेत्र सफा हँुदैनन्, मात्र बदनाम हुन्छन् । राजनीति सफा गरौं, मुहान सफा गरौं, सबै क्षेत्र आफ्नो लयमा आउँछन् । अन्यथा दिगो आर्थिक विकास, उच्च आय र उत्पादन सबै सधैं नारामा मात्र रहन्छ ।

प्रतिक्रिया दिनुहोस्