सीमा क्षेत्रका बजारमा ओमिक्रोनको असर «

सीमा क्षेत्रका बजारमा ओमिक्रोनको असर

झापा-कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको असर नेपालको सीमा क्षेत्रका बजार र होटल व्यवसायमा देखा पर्न थालेको छ । भारतमा संक्रमण बढेसँगै सीमा क्षेत्रका होटलमा असर देखा पर्न थालेको हो ।
पूर्वी सीमा बजार काँकडभिट्टामा असर देखा पर्न थालेको होटल व्यवसायीले बताएका छन् । काँकडभिट्टासँगै विराटनगर, नेपालगन्ज, महेन्द्रनगर बजारमा भारतीय पर्यटकको आवागमन घटेको हो । जसले पर्यटन क्षेत्रमा पुनः महामारी आउने संकेत सिर्जना गरेको होटल व्यवसायीले बताएका छन् ।
भारतमा संक्रमण बढेसँगै होटलमा ग्राहकको संख्या घट्न थालेको सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए । “कोरोनाको संक्रमण घटेसँगै होटल व्यवसायमा केही सुधार आएको थियो,” न्यौपानेले भने, “हाम्रो कम्पनी व्यवसाय विस्तारमा पनि जुटेको थियो । तर, केही दिनयता नेपालमा समेत देखा पर्न थालेको ओमिक्रोनले होटल व्यवसाय पुनः थला पर्ने संकेत देखिएको छ । कोरोना संक्रमणको दर बढ्न थालेसँगै पूर्वदेखि पश्चिमसम्मका सीमा नाकामा चेकजाँचमा कडाइ सुरु गरिएको छ । यसले गर्दा भारतबाट नेपाल घुम्न आउने घट्न थालेका हुन् ।”
सिद्धार्थ गु्रपका होटलमा ५० प्रतिशतसम्म अकुपेन्सी कायम हुँदै आएकोमा पछिल्लो समय घटेको उनले बताए । सरकारले क्यासिनो सञ्चालन गर्न स्वीकृति दिएसँगै होटल अकुपेन्सीमा हुन थालेको क्रमिक सुधारमा १५ दिनयता घट्न थालेको झापाको मेचीनगरस्थित होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटाले बताए । “पहिले होटलको अकुपेन्सी पूरा हुँदै आएको थियो । अहिले नाकामा कडाइ गरिएको छ । जसले ग्राहकसमेत घटाएको छ,” उनले भने ।
तीन महिनायता भारतीय पर्यटकको आवागमन सहज भएसँगै सीमा क्षेत्रका होटल–रेष्टुरेन्टको व्यापार राम्रो हुँदै आएको थियो । नेपालमा पनि कोरोना संक्रमितको नमुना परीक्षणमा ओमिक्रोन भेरियन्ट पुष्टि हुन सुरु भएसँगै व्यवसायीमा चिन्ता सुरु भएको सापकोटा बताउँछन् । मेची क्राउनमा भारतीय पर्यटकको सहभागिता उल्लेख्य हुँदै आएको थियो । विशेष गरी होटलमा क्यासिनोसहितको प्याकेजमा भारतबाट आउने पर्यटकको चहलपहल रहेको होटलले जनाएको छ ।
संक्रमणदर बढ्दै गएपछि नेपाली व्यवसायीमा मानसिक असर देखा पर्न थालेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली बताउँछन् । “लामो समयसम्म कोरोना झेलेका हामी व्यवसायी पुनः संक्रमण बढ्ने त्रासमा छौँ,” मैनाली भन्छन्, “यसरी संक्रमण बढ्दै जाने हो भने एक हप्तामा व्यवसायमा गिरावट आउने देखिन्छ ।” कोरोना संक्रमणको पहिलो र दोस्रो लहरले ठूलो नोक्सान खेपेको नेपाली पर्यटन क्षेत्रलाई तेस्रो लहरले पुनः एकपटक धक्का दिने पर्यटन व्यवसायी अर्जुन कार्की बताउँछन् । भारतमा ओमिक्रोनको संक्रमण बढ्दै गएपछि केहीदिन यता नेपाल आउने पर्यटकको चहलपहलमै गिरावट आउन थालिसकेको उनको भनाइ छ ।

नाकामा कडाइ
कोरोना संक्रमणको दर बढ्न थालेसँगै पूर्वी सीमानाका काँकडभिट्टामा चेकजाँचमा कडाइ गरिएको छ । यसले गर्दा भारतबाट नेपाल घुम्न आउने घट्न थालेका छन् । काँकडभिट्टामा हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण पछि मात्र नेपाल प्रवेशको अनुमति दिन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिमिल्सिनाले कारोबारलाई बताए ।
भारतीय नागरिकलाई पीसिआर रिपोर्ट वा खोप कार्ड अनिवार्य गरिएको उनले जनाए ।
सीमाबाट आउने कोरोना संक्रमित र शंकास्पदको व्यवस्थापनका लागि नेपाली सेना मार्फत मेचीनगरमा एक हजार जना क्षमताको होल्डिङ सेन्टरसमेत तयार भइरहेको प्रजिअ तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्