भेरीगंगामा डेढ सय घरधुरीको एउटै धारा «

भेरीगंगामा डेढ सय घरधुरीको एउटै धारा

सुर्खेतको भेरीगंगा नगरपालिका स्थित वडा नं. १० मदानचौरका करिब डेढ सय परिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् ।
चैत वैशाखमा घण्टौं लाइन बसेर पानी भर्नुपर्ने मदानचौरबासीको बाध्याता छ । यहाँका नगारिकले जेठामासमा त तिर्खा मेटिनेगरी पानी पिउनसमेत पाएका छैनन् । साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत वैशाखमा भने पानीको हाहाकार हुने गरेको छ । चैत वैशाखमा सोही धारामा दुईदेखि पाँच घण्टा पालो कुरेर स्थानीयले पानी भर्दै आएको स्थानीय दीपक बिसीले बताए । “मदानचौर पूरै गाउँका लागि एउटामात्र धारो छ,” खानेपानी समस्या बारे सुनाउँदै बिसीले थपे, “अरु बेला त अलि पुग्छ गर्मी महिनामा चार पाँच महिना पालो कुर्नुपर्ने हुन्छ ।”
मदनचौरबासीले नुहाउने लुगा धुने तथा पशु चौपायालाई खुवाउनका लागि पनि त्यही धाराको पानी प्रयोग गर्दै आएका छन् । गर्मी मौसममा प्यास मेटिनेगरी पानी पिउनसमेत नपाएको स्थानीय टीका रानाले पीडा सुनाइन् । निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताले गाउँमा खानेपानी पु¥याउने बाचा गर्छन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि दलहरूले मदानचौरबासीलाई खानेपानी आयोजना बनाइदिने बाचा गरेका थिए । २०७४ सालमा निर्वाचित स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको कार्यअवधि सकिन अब केही महिनामात्र बाँकी छ । तर मदनचौरबासी भने अझै काकाकुलमै छन् । “चुनावका बेला त सबै नेताले खानेपानी ल्याइदिन्छौं भन्दै भोट माग्न आउँछन्,” टीकाले आफ्नो दुःखेसो यसरी पोखिन्, “अघिल्लो पटकको चुनावमा पनि भोट माग्न नगरपालिकाबाट पनि आएका थिए सांसद पनि आएका थिए । जितेकाको म्याद सकिन लाग्यो भन्छन् । हाम्रोमा खानेपानी कहिले आउने हो खै ।”
यता भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु ढकाल भने डेढ वर्षभित्रमा खानेपानी समस्या समाधान हुने दाबी गर्छिन् । “मदानचौरमा खानेपानी ल्याउन आयोजनाको काम सुरु भएर ट्यांकी निर्माण र पाइप खरिद भइसकेको छ,” उपप्रमुख ढकालले भनिन्, “अब डेढ वर्षभित्रमा मदानचौरको खानेपानी समस्या समाधान हुन्छ ।”
उक्त आयोजनाले पनि उपप्रमुख ढकालले दाबी गरेजस्तो मदानचौरबासीको खानेपानी समस्या भने पूर्णरूपमा समाधान देखिँदैन । नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सीमित भएकाले घर घरमा धारा पुग्ने अवस्था छैन । अर्काेतर्फ आयोजनाको कामसमेत द्रुत गतिमा हुन सकेको छैन । हालसम्म रिजर्ब ट्यांकी निर्माण र पाइप खरिदको काम भएको छ । इन्जिनियर खत्रीका अनुसार मुहानबाट रिजर्ब ट्यांकीमा पानी पु¥याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत ट्रान्सफर्मर राख्नुपर्ने छ । नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भइरहेको छ । “मुहानको पानी ट्यांकीमा ल्याउनका लागि भने मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ,” इन्जिनियर खत्रीले भने, “त्यसका लागि इलेक्ट्रिक इन्जिनियरिङ सम्बन्धी हाम्रो जनशक्ति नहुँदा समस्या भएको छ ।” सम्झौताअनुसार चालू आर्थिक वर्षभित्रैमा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन मुस्किल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्