‘काठमाडौं सहरको नयाँ भर्सन आवश्यक’ «

‘काठमाडौं सहरको नयाँ भर्सन आवश्यक’


अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन् ।
बिहीबार लगानी बोर्डको बैठकमा उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को सहरको आवश्यकता रहेको बताए । उलने धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए ।
वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने उनको भनाइ छ । “काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम ग-यो भने त्यहाँ सहर बन्दो रहेछ” उनले भने, “नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।”
मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उनको भनाइ छ । पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई उनले आग्रह पनि गरे ।
त्यस्तै जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि उनले आग्रह गरे । “बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्” उनले भने ।
मन्त्री शर्माले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए । यसका लागि अध्ययन गर्नसमेत उनले निर्देशन दिए । “काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुप-यो” उनले भो, “यी योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुप-यो ।”

प्रतिक्रिया दिनुहोस्