बंगलादेश जाने एथलेटिक्स खेलाडीलाई बिदाइ

बंगलादेशमा हुने “बंगबन्ध शेख मुजीवबन्धु म्याराथन” प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूलाई बिदाइ गरिएको छ । बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरेका हुन् ।
मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा खेलाडीहरूलाई बिदाइ गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए । बिगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने बताउँदै मन्त्री अथकले नेपाली खेलाडीहरू ट्रफी बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।
पछिल्लो समय खेलाडीहरूको सम्मानका लागि सरकार गम्भीर भएको बताउँदै मन्त्री अथकले भने, “हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं, जसमार्फत खेलाडीहरूलाई पुरस्कारको अग्रिम सुनिश्चितताको व्यवस्था हुनेछ ।”
जनवरी १० (पुस २६) गते बंगलादेशमा हुने म्याराथनमा १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षकचन्द्र गुरुङले जानकारी दिए । ४२ किलोमिटर दूरीको फुल म्याराथन प्रतियोगितामा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्र सिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जान लागेका हुन् ।