क्रिकेट विकासमा वीरगन्ज उदासिन «

क्रिकेट विकासमा वीरगन्ज उदासिन

वीरगन्ज-क्रिकेट खेलाडी उत्पादन हुने उर्वर भूमिको रुपमा रहेको वीरगन्जको योगदान र महत्व निकै ऐतिहासिक रहे पनि वीरगन्जमै क्रिकेट खेलको विकासमा भने उदासिनता देखिएको छ । विगतदेखि वर्तमान अवस्थासम्म नेपाली क्रिकेट इतिहासमा नेपाललाई विश्वमै चिनाउन वीरगन्जको महत्वपूर्ण योगदान रहेको छ ।
यहीबाट उत्पादित खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि सहभागिता जनाएर जितसमेत हासिल गर्न सफल भएका छन् । तर, यही क्षेत्रमा क्रिकेट खेलको विकासका लागि भने कसैले चासो देखाएका छैनन् । क्रिकेट खेलमा देशको नाम राखेर इतिहास कायम गर्न सफल भएको वीरगन्जलाई बेवास्ता गर्दा यहाँका खेलाडीहरु र खेलप्रेमीहरु निराश बनेका छन् ।
क्रिकेट खेलको विकासका लागि निर्वाचित जनप्रतिनिधिदेखि खेलकुद क्षेत्रका पदाधिकारी र खेलकुद क्षेत्रका विषयगत कार्यालयहरुले पनि खेलकुदको प्रवद्र्धन र खेलाडीहरुलाई प्रोत्साहन गर्न नसकेको गुनासो गरेका छन् । राजनीतिक आग्रह–पूर्वाग्रहमा हुने प्रतियोगितामा बाहेक अन्य प्रतियोगिताहरुमा निजी क्षेत्रबाट मात्रै होइन, राज्यको तर्फबाट र राजनीतिक नेतृत्वको तहबाट समेत बेवास्ता गरेको खेल प्रेमीहरुले बताएका छन् । त्यसको ज्वलन्त उदाहरणको प्रतिनिधि पात्रको रुपमा अहिले वीरगन्जमा दोश्रो वीरगन्ज च्याम्पियन टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको आयोजक संस्था युनाइटेड क्रिकेट क्लब रहेको छ ।
युनाइटेड क्रिकेट क्लबले यही चैत १८ गतेदेखि २५ गतेसम्म वीरगन्जमा ‘दोश्रो वीरगन्ज च्याम्पियन टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता’ आयोजना गर्न लागेको छ । तर, क्रिकेट टुर्नामेन्टको आयोजना गर्न आवश्यक आर्थिक सहयोग भने कतैबाट पाउन सकेको छैन । यसअघि वीरगन्जमा पहिलो पटक टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आयोजना गरेको क्लबले यसपटक पनि नेपालका पाँचवटा र भारतका तीनवटा गरी ८ टिमको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको छ ।
खेलको प्रायोजक नपाउँदा आर्थिक संकलनमा समस्या भएको छ । प्रतियोगिताका कोअर्डिनेटर प्रफुल्ल सागर प्रधान भन्छन्, “वीरगन्जकै ठूला औद्योगिक प्रतिष्ठानहरुले राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा लाखौंको प्रायोजना गर्छन् । तर, राष्ट्रिय खेलाडी उत्पादन गरेको वीरगन्जलाई भने प्रतियोगिताका लागि विश्वास गर्दैनन् । यो दुर्भाग्य नै हो ।”
उनले थपे, “वीरगन्जमा क्रिकेट खेलका लागि पूर्वाधारको हिसाबले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन सक्ने क्षमताको क्रिकेट मैदान छ । राष्ट्रिय स्तरका खेलमैदानमा पिच बनाउने पनि हामी नै हौं । तर, यहिको खेलको विकासका लागि भने बेवास्ता गरिएको छ ।” क्लबका अनुसार अहिले गर्न लागिएको प्रतियोगिताका लागि पनि ‘टाइटल स्पोन्सर’ पाइएको छैन । १९ वर्षमुनीको टिम कप्तान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा नाम कमाएका खेलाडी तथा प्रशिक्षकहरु पनि वीरगन्जकै हुँदाहुँदै पनि वीरगन्जमै हुने प्रतियोगिताहरुमा सहयोग नपाएकोमा खेलाडी तथा खेलप्रेमीहरु भने दुःखी भएका छन् ।
केही महिनाअघि काठमाडौंको मूलपानीमा भएको १६ वर्षमुनीको राष्ट्रिय स्तरको नेक्सस कप प्रतियोगितामा पनि युनाइटेड क्रिकेट क्लब विजयी भएको थियो । क्रिकेटको उर्वर भूमि मानिएको वीरगन्जलाई केन्द्रीय शासन व्यवस्थाको पहुँचमा नपुगे पनि अहिलेको स्थानीय तहले पनि उपेक्षा गरेको उनीहरुको गुनासो छ । राजपाका महासचिव एवं तेक्वान्दो संघ प्रदेश नम्बर २ का अध्यक्ष राजेशमान सिंहले खेलकुदमा वीरगन्ज अन्य क्षेत्रभन्दा कम छैन भन्ने कुरा विभिन्न प्रतियोगिताहरुमा खेलाडीहरुले देखाएको प्रदर्शनले प्रमाणित गरिसकेकोले अब स्थानीय स्तरको प्रतियोगिता मात्रै होइन, भारतमा हुने इडियन प्रिमियर लिग (आईपिएल) र नेपालमा हुने एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता राष्ट्रिय स्तरको प्रतियोगिता वीरगन्जले पनि आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले खेलाडीहरुको मनोवल उच्च राख्नका लागि १६ वर्षमुनीको नेक्सस कप प्रतियोगितामा विजेता युनाइटेड क्लबका खेलाडीहरुलाई यसअघि सम्मान पनि गरेका थिए । युनाईटेड क्रिकेट क्लबले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालका आयोजक वीरगन्ज युनाईटेड, काठमाडौं, विराटनगर, मकवानपुर, जनकपुर र भारतको कोलकत्ता, पटना र वेत्तियाको टिम सहभागी हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार र दोश्रो हुनेले ३० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले १० हजार, उत्कृष्ट बलरलाई पाँच हजार, उत्कृष्ट ब्याट्म्यानलाई पाँच हजार रुपैयाँ पाउने क्लबका सचिव घनश्यामबाबु गुप्ताले बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोकी आमा पूmलकुमारी देवीको सम्झनामा यसअघि वीरगन्जमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता भएको थियो । त्यसपछि स्थानीय स्तरका क्लबहरुले राजनीतिक प्रभाव जमाउनका लागि डे–नाइट टि–ट्वान्टी क्रिकेट प्रतियोगिता गराउने प्रतिस्पर्धा बाहेक व्यासायिक रुपमा अहिलेसम्म क्रिकेट प्रतियोगिताहरु हुन सकेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टिममा पूर्व कप्तानदेखि वर्तमान समयमा १९ वर्ष मुनीको टिमको कप्तानसमेत बारा र पर्साका धेरै खेलाडीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्