मेडिकल कलेजको अनुगमनमा शिक्षामन्त्री «

मेडिकल कलेजको अनुगमनमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको अनुगमन गरेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले अनुगमन गरेका हुन् ।
अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण भएकोले बढी शुल्क लिन नपाउने बताए । मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्न तथा अन्यथा कानुनअनुसार कारबाही भोग्न तयार हुन आग्रह गरेका थिए ।
मन्त्री पौडेलले शुल्कका सम्बन्धमा शुक्रबारसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी र अभिभावकसँग बसेर वार्ता गर्न मन्त्री पौडेलले निर्देशन दिएका छन् । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छन् ।
काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्