ज्येष्ठ नागरिकको सम्मान, सभ्य नागरिकको पहिचान «

ज्येष्ठ नागरिकको सम्मान, सभ्य नागरिकको पहिचान

‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य नारिकको पहिचान’ मूल नारासहित भर्खरै राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो । मानव जीवनको उत्तराद्र्धको अवस्थामा पुगेका ज्येष्ठ नागरिकको सम्मान एकदिने दिवसमा मात्रै तामझाम गरेर मनाउँदैमा जिम्मेवारी पूरा हुँदैन । अचेल बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृत्ति हावी हुनु शुभसंकेत होइन ।
संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमशः विचलन भई एकल परिवारमा बस्ने बानी बढ्दै छ । वृद्धवृद्धाप्रति सन्ततिको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमशः उपेक्षित हँुदै गएको छ । जसका कारण पारिवारिक स्नेहबाट अग्रजहरू विमुख हुन पुगेका छन् । दुःखपीडा र हीनताबोधजस्ता निराशाजनक जीवन जीउन विवश हुन पुगेका वृद्धवृद्धाको संख्या बढ्दो क्रममा छ ।
मानव जीवनचक्रमा एकपटक पुग्नैपर्ने वृद्धावस्था हो । माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको चित्त दुखाउनु सन्तति, समाज र सरकारका लागि आत्मघाती कदम हो । आफ्ना वृद्ध बाबुआमालाई बोझको रूपमा लिएर भीरबाट नदीमा फाल्न डोकोमा बोकेर लान लाग्दा नातिले डोकोचाहिँ फिर्ता लिएर आउनुहोस् है बुबा, पछि तपाईंहरूलाई मैले फाल्नुपर्छ भन्ने मार्मिक सन्देशलाई सबैले हेक्का राख्नु जरुरी छ ।
ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनुपर्छ ।
ज्येष्ठ नागरिक बोझ होइनन्, हाम्रो बुद्धिका स्रोत हुन् । विकास निर्माणमा आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षता आदि अनुभवको प्रयोगबाट सहज रूपमा समाधान खोज्न टेवा पुग्छ । यस्ता प्रयोग र अभ्यासले समय र लगानीको बचत गर्न सकिन्छ । सरकारी गैरसरकारी क्षेत्रमा बसेर काम गरेका निवृत्त कर्मचारीको विज्ञताको यथाशक्य प्रयोग समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य प्राप्तिमा होस्टमा हैंसे हुन सक्छ ।
कतिपय अवस्थामा निवृत्तहरूको योग्यता, दक्षता र अनुभव हासिल गर्न राज्यको लगानीसमेत रहेको हुन्छ । स्वतन्त्र रूपमा समाजमा आफ्नो संस्कार, संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग परम्परागत कला–संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रवद्र्धनमा समेत सदुपयोग गर्न सकिन्छ । देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ । तुलनात्मक रूपमा युवावर्गको योगदान उल्लेख्य रहने भए तापनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु हुन्न । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवहरूको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरू राज्यले बनाउन चुक्नु हुन्न ।
मानिसको दैनिकीलाई नराम्रोसँग अस्तव्यस्त पारेको अदृश्य दुस्मन कोरोनाबाट बच्न हम्मे–हम्मे परेको छ । कोरोनाभन्दा अगाडि अन्य रोग र भोकले मरिएला भन्ने डर सर्वसाधारणमा परेको छ । अहिले कोरोना संक्रमणलाई नजरअन्दाज गर्दै लकडाउन लचिलो बनाइएसँगै मानव चहलपहल बढेको छ । कोरोना संक्रमणको ग्राफ पनि दिन–प्रतिदिन बढ्दै छ । कोरोना प्रतिरोधका उपायहरूको अनुसरणमा हेलचेक्र्याइँले महामारीको संकट नआउला भन्न सकिन्न । कोरोना संक्रमणको लक्षण ८५ प्रतिशतमा नदेखिने, बाँकी १० प्रतिशतमा सामान्य देखिने र ५ प्रतिशत जतिमा गम्भीर अवस्था रहने विभिन्न अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ । त्यस्तै उमेरअनुसार संक्रमणको दर पनि फरक–फरक पाइएको छ । बालबालिका र युवाभन्दा पनि विभिन्न रोगबाट ग्रसित वृद्धवृद्धामा संक्रमणको जोखिम उच्च रहेको तथ्यांकले देखाएको छ ।
ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कमजोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण विभिन्न रोगको औषधोपचार गरिराखेका वृद्धवृद्धाको जीवन सुरक्षाका लागि सरकार र सरोकार पक्षले विशेष ध्यान दिनुपर्ने हुन्छ । वृद्ध अवस्थामा विभिन्न किसिमका शारीरिक, मानसिक, आर्थिक, सामाजिक खालका समस्याहरू रहन्छन् नै । रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वस्थकर आहारविहारका साथै हौसला र उत्साहले पनि अहम् भूमिका खेल्ने तथ्य रोग जितेर सामान्य जीवनमा फर्केका व्यक्तिको अनुभव छ । मानव जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिक दैनिकी सहज र सुखद बनाउनु परिवार र राज्यको जिम्मेवारी हो । समाजमा स्वच्छ वातावरण, सरल व्यवहार, राम्रो सामाजिक सद्भाव एवं सौहाद्र्रता र मर्यादित आचरण तथा अनुशासित जीवन जिउने संस्कारको सुनिश्चितता आजको आवश्यकता हो ।
ज्येष्ठ नागरिकहरू देशको समृद्धिको यात्रामा निःशुल्क योगदान गरी मातृभूमिको सेवा गर्न लालायित छन् । मेरो समाज मेरो योगदानजस्ता अभियान सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सामाजिक रूपान्तरणमा उत्साहप्रद सहभागिता गराउन सरकार र सरोकार पक्षले ध्यान दिनु जरुरी छ । वृद्धवृद्धाले आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान सीप पछिल्लो पुस्ताका लागि अर्ती–उपदेश अमूल्य मार्गदर्शनको रूपमा सदुपयोग गरिनु बुद्धिमानी ठहर्छ । ‘कुरा सुन्नु बूढाको आगो ताप्नु मुढाको’ अनि पितृ देवो भव, मातृ देवो भवजस्ता परम्परागत आदर्श वाक्य आत्मसात् गर्दै सदिऔंदेखि चलेको हाम्रो संस्कारमा पछिल्लो समयमा विचलन आउन थालेको जगजाहेर नै छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक, र मानसिक रूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महसुस हुँदै छ । बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथिको भनाइ चरितार्थ हँुदै गएको छ ।
संयुक्त राष्ट्रसंघले सन् १९९१ मा वृद्धवृद्धाहरूका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिएर प्रस्ताव नै पास गरेको थियो । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चित गरेको छ । चालू पन्ध्रौं योजनाले ज्येष्ठ नागरिकको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप सीप र अनुभवलाई राष्ट्रले समृद्धिका लागि उपयोग गर्ने लक्ष्य लिएको छ । आव २०७७÷०७८ को बजेटमार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञानकेन्द्र, ध्यानकेन्द्र र आरामकेन्द्र स्थापना र पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको छ । त्यस्तै अल्जाइमरलगायत उमेरगत रोगहरूको निःशुल्क उपचार तथा असहाय ज्येष्ठ नागरिकका लागि संरक्षणको व्यवस्थासमेत गर्ने उल्लेख छ । ज्येष्ठ नागरिकका लागि मासिक ३ हजार भत्ता, निःशुल्क स्वास्थ्य बिमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्र, सेवाप्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । सरकार र सरोकार संघसंस्थाको पहलमा ज्येष्ठ नागरिक कोष स्थापना भए तापनि प्रभावकारिता ल्याउन थप पहल गर्नुपर्ने खाँचो खट्किएको छ ।
स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु दर वृद्धि हुँदै गएको छ । अहिले नेपालीको सरदर बाँच्ने आयु दर ६८ वर्ष पुगेको छ । जसको फलस्वरूप ६० वर्षे ज्येष्ठ नागरिकको संख्या बढ्नु स्वाभाविकै हो । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालको जनसंख्या वृद्धिदर २.१ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर ३.४ प्रतिशत रहेको देखिन्छ । नेपालको जनसंख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिक छन् । यसमा पनि पुरुषको भन्दा महिलाको संख्या उच्च रहेको छ । विगत पछिल्ला पाँच जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ नागरिकको संख्या बढ्ने निश्चित नै छ ।
ज्येष्ठ नागरिकको संख्यात्मक वृद्धिअनुसार उनिहरूको गाँस, बास र कपासको उचित प्रबन्ध गर्ने दायित्व सन्तति र सरकारको हो । साधरणतया वृद्ध अवस्थामा देखिएका र भोगिएका समस्याहरूमा खानपान र औषधि–उपचारको उपयुक्त व्यवस्था, बसोबासको उचित प्रबन्ध, मर्यादा, आत्मसन्तुष्टि, मनोरञ्जनात्मक वातावरणको सहजता, सिर्जनात्मक अनुभवको उपयोग, आर्थिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता, आरोग्य वा वृद्धाश्रमको उचित व्यवस्थापन आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ र आत्मनिर्भर बनाउन उनीहरूको शारीरिक र मानसिक तन्दुरुस्तीअनुकूल बालबच्चा हेर्ने, खाना बनाउने, कृषिकर्ममा लगाउने तथा व्यापार व्यवसायमा सक्रिय बनाउन सकिन्छ । त्यस्तै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका चिकित्सक, व्यवस्थापक, प्राविधिकलगायतका विज्ञहरूको अनुभवलाई समाजसेवा र देश निर्माणमा सदुपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्