निर्माणको बाधक तरलता अभाव र मूल्यवृद्धि

नेपालमा बर्सेनि विकास निर्माणको सिजनमा निर्माण सामग्रीको मूल्य बढ्ने गरेको छ । निर्माण सामग्रीमध्ये सिमेन्ट, फलामे डन्डी, रङ, इँटालगायतका फ्याक्ट्रीबाट उत्पादित वस्तुमात्र नभई बालुवा, गिट्टीलगायतका प्राकृतिक स्रोतजन्य सामग्रीको मूल्य पनि निकै चर्को छ । कतिपय वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थको मूल्य नियन्त्रण नेपाल आफैंले गर्न नसकेका कारण मूल्यवृद्धि स्वाभाविक मानिए पनि सरकारले नै नियमन र नियन्त्रण गरे पनि चर्काे मूल्यवृद्धि छ ।
भर्खरै अतिकम विकसितबाट विकासोन्मुख मुलुकको सूचीमा उक्लँदै गरेको नेपालले पूर्वाधार विकासमा धेरै काम गर्न बाँकी छ । तर, पूर्वाधार विकासका क्षेत्रमा अत्यधिक लागतको मुख्य कारण बनेको छ, निर्माण सामग्रीको मूल्य । निर्माण सामग्रीको मूल्यले समग्र विकास आयोजनाको लागत नै प्रभावित पार्ने र मुलुकको उत्पादकत्वसमेत वृद्धि गर्ने भए पनि सरकारको ध्यान कम देखिन्छ ।
निर्माण सामग्रीको खपत हुने मुख्य सिजनमै निर्माण सामग्रीको अत्यधिक मूल्य बढ्नुमा व्यवसायीको छोटो समयमा अत्यधिक नाफा कमाउने प्रवृत्ति हो भन्ने आलोचना गर्ने गरिन्छ । विशेषगरी जाडो मौसममा विकास निर्माण तथा घर निर्माण कार्य अत्यधिक हुने गर्छ । तर, बजारमा भने आवश्यक निर्माण सामग्रीको मूल्य यही बेला बढ्ने गर्छ ।
विगतमा कोरोना महामारीका कारण प्रोटोकल पालना गर्नुपरेका कारण उत्पादन लागत बढी परेको भन्ने व्यवसायीहरू नै अहिले पनि अत्यधिक मूल्य निर्धारण गरिरहेका छन् । कोरोनापछिको अवस्था सामान्य हुँदै गएपछि पनि बजारमा भने सम्पूर्ण वस्तुको मूल्य अत्यधिक बढ्नुलाई सामान्य रूपमा लिन सकिँदैन । मुलुकमा विदेशी लगानीका ठूला सिमेन्ट उद्योग सञ्चालनमा अए पनि यसको मूल्यमा खासै अन्तर नहुनु, फलामे डन्डी उत्पादनका क्षेत्रमा स्वदेशी उद्योगलाई संरक्षण गर्ने भन्दै गरिएको नीतिगत परिवर्तनले झनै मूल्य वृद्धिको अवस्था सिर्जना हुनुजस्ता कारणलाई सामान्य मान्न कठिन छ ।
सरकारले संरक्षण गरेका सिमेन्ट र डन्डीमात्र नभई न्यून शुल्कमा प्राकृतिक दोहनका कारण बालुवा, गिट्टीसम्मको मूल्यमा जथाभावी भइरहेको अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुनै नीति सरकारसँग छैन । यसरी के सरकारले स्वतन्त्र छाडिदिएकै कारण निर्माण सामग्री उत्पादक तथा बिक्रेताहरूले जथाभावी शुल्क निर्धारण गरिरहेका छन् । अत्यधिक निर्माण लागतको अवस्थालाई कसरी कम गर्न सकिन्छ भनेर केही सरोकारवालासँग कारोबारले गरेको कुराकानीको सार :
अहिलेको बजार माग स्टक इँटाले धान्न सकिन्छ
महेन्द्रबहादुर चित्रकार
अध्यक्ष, नेपाल इँटा उद्योग महासंघ
कोभिड–१९ का कारण देशभर निर्माण कार्य ठप्प रहेकोमा पछिल्लो समय भने निर्माणका कामले गति लिन थालेको छ । खासगरी जाडो सिजनमा धेरै घर तथा अन्य निर्माणका कामहरू हुने गर्छन् । अहिले इँटा व्यवसाय पनि सुधारको क्रममा छ । कोभिडको समयमा उत्पादन भएका इँटाहरू अहिले आएर बिक्री भइरहेका छन् । हामीसँग अझै केही समयका लागि पुग्ने इँटा छ भने माघसम्म कति इँटा उद्योग सञ्चालनमा आउँछन्, त्यसबारे पछि भन्न सकिन्छ । यद्यपि अहिले फायरिङको काम भइरहेको छ । एकातर्फ मौसमले पनि साथ दिएको र अर्कातर्फ कोभिडको प्रभाव विस्तारै कम हुँदै गएकाले यो वर्ष अधिकांश इँटा उद्योग चल्ने सम्भावना छ । देशभर १२ सय उद्योग छन् । यी उद्योगले वार्षिक तीन अर्बभन्दा धेरै इँटा उत्पादन गर्छन् । तर, बजारमा इँटाको माग त्यत्तिमै सीमित छैन । भूकम्पपश्चात्को पुनर्निर्माणका लागि मात्र सरकारले १२ अर्ब पिस इँटाको आवश्यकता रहेको उल्लेख गरेको छ, जुन वार्षिक रूपमा स्वदेशमै भइरहेको उत्पादनभन्दा चार गुणा बढी हुन आउँछ । त्यसैले नयाँ उद्योगहरू थपिने क्रम पनि बढ्दो छ । यसका साथै नयाँ प्रविधिका इँटा बजारमा भित्रिरहेका छन्, जसको प्रयोग भूकम्पपछिको पुनर्निर्माणमा मात्र नभएर घर, व्यावसायिक भवन, होटल, विद्यालय तथा कारखानाका संरचना निर्माणमा प्रयोग भइरहेका छन् । हाल बजारमा परम्परागत माटो पकाएर तयार पारिने इँटाबाहेक ‘होलो कंक्रिट ब्लक, लाइट वेट ब्रिक र कम्प्रेस्ड प्रविधिमा आधारित इँटा प्रयोग गर्नेको संख्या बढेको छ । समयसँगै नयाँ प्रविधि भित्रिनु स्वाभाविक हो । तर, त्यसले परम्परागत वा माटो पोलेर बनाएको इँटालाई विस्थापित गर्न सक्दैन । अन्य देशमा यस्ता इँटा तयार पार्न सुहाउँदो माटो नहँुदा अन्य प्रविधिको विकास भएको छ ।
यसका साथै इँटाको मूल्यवृद्धिको अर्काे पाटोको विषयमा भन्नुपर्दा श्रमिकको ज्याला तथा अन्य सम्बन्धित सामग्रीको मूल्य बढेका कारण इँटाको पनि मूल्य बढ्न सक्छ । यद्यपि अहिले भने बजारमा माग धान्न स्टक इँटाहरू पनि पर्याप्त छन् । स्टक रहुन्जेल मूल्य बढ्दैन, किनकि पुरानै लागतमा उत्पादन भएका छन् । देशको पूर्वी भेगमा २० प्रतिशतसम्म मूल्य बढेको भन्ने सुनेको छु । यद्यपि पहाडी क्षेत्र तथा काठमाडौंमा ५ देखि १० प्रतिशतको हाराहारीमा मूल्य बढेको भन्ने पनि छ । यसमा महासंघले अध्ययन पनि गर्दै छ । वर्तमान समय, लागत वृद्धिलाई हेर्ने हो भने मूल्य बढाउनुपर्ने समय आएको तर कति बढ्ने भन्ने सम्बन्धमा कुनै निर्णय भएको छैन । अहिले राजधानीमा गुणस्तर हेरेर १० देखि २० रुपैयाँसम्म प्रतिगोटा इँटा पाउन सकिन्छ । गत वर्ष कोरोना महामारीका कारण इँटाको खपत निकै कम र उत्पादनमा समेत ह्रास आएको थियो । यो वर्ष माग बढेको छ । तर, उत्पादनका लागि आवश्यक कोइला अभावसँगै चर्को मूल्यमा खरिद गर्नुपर्ने बाध्यता देखिएको छ ।
पुँजीगत खर्च नहुँदा सिमेन्टको माग खुम्चियो
ध्रुव थापा
अध्यक्ष, सिमेन्ट उत्पादक संघ
बैंकमा लगानीयोग्य रकम (तरलता) को अभाव बढ्दो क्रममा देखिएको छ । बैंकमा ऋणको माग अत्यधिक छ, तर त्यो अनुपातमा निक्षेप संकलन हुन सकेको छैन । त्यसैले लगानीका लागि स्रोत जुटाउनेतिर ध्यान नदिई बैंकहरू धमाधम लगानीतिर मात्र केन्द्रित हुँदा वित्तीय क्षेत्र समस्यामा परेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव हुनु भनेको निर्माण क्षेत्र प्रभावित हुनु हो । सरकारी तर्फबाट हुनुपर्ने खर्च पनि हुन सकेन । सरकारी तथ्यांकले नै ९ प्रतिशतको हाराहारीमा पाँच महिनामा खर्च भएको देखाएको छ । यो सिजन विकास निर्माणका लागि महŒवपूर्ण मानिन्छ । सिमेन्ट उत्पादन पनि यो सिजनमा बढी हुने गरेको हो, विगतका वर्षमा भन्दा । तर, यस वर्ष माग ज्यादै न्यून छ । कोभिड अगाडिको तुलनामा ५० प्रतिशतको हाराहारीमा मात्रै माग आएको छ । मासिक १० लाख टन अर्थात् २ करोड बोरा सिमेन्ट माग हुने गरेकोमा अहिले मुस्किलले ५०÷६० लाख बोरामात्रै खपत भएको छ । आपूर्ति क्षमता राम्रो भए पनि बजार माग निकै कम हुँदा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । गत असार मसान्तसम्मको तथ्यांकअनुसार उत्पादन क्षमता १५ मिलियन टन छ भने यो बढ्दै छ । सप्लाई हेर्ने हो भने १० मिलियन टनमात्रै छ । ५ मिलियन टन अहिले पनि उत्पादन क्षमताभन्दा कम माग छ । अहिले ६६ प्रतिशतको उत्पादन क्षमतामा उद्योग चलाउनुपर्ने बाध्यता छ । दुई वर्षपछि ५० प्रतिशत उत्पादन क्षमतामा चलाउनुपर्ने पनि हुन सक्छ । ५० प्रतिशत क्षमतामा उद्योग चलाउँदा ब्रेक इभनमा आउन सक्दैन । आजकै दिनमा पनि हामीसँग बजार मागभन्दा ५ मिलिटन टन उत्पादन क्षमता सामान्य समयै बढी छ । यसलाई निर्यात गर्न सकिएमा व्यापारघाटा कम गर्न सकिन्छ । केही समयपछि नेपालको बिजुली सस्तो मूल्यमा भारतलाई बेच्नुपर्ने पनि हुन सक्छ । त्यस्तो बिजुली नेपालमै खपत हुने, रोजगारी बढ्ने, आर्थिक गतिविधिमा टेवा पुग्ने हुन्छ भनेर हामी उत्साहित भएका थियौँ । तर, त्यसो हुन सकेन । हामीले निकासी गर्न गुणस्तरको समस्या छैन, भारतले पनि बाधा अवरोध गरेको छैन, अन्य समस्या पनि खासै छैन, तर हाम्रो उत्पादन लागत धेरै छ । भारतको बजारमा गएर निर्यात गर्न सक्ने भनेको सीमावर्ती सहरमा हो । त्यहाँ जाँदा प्रतिस्पर्धी बन्न सक्ने अवस्था छैन । प्रतिस्पर्धी नहुँदा हाम्रो सिमेन्ट बिक्न सक्दैन । एक–डेढ वर्षको अन्तरालमा प्रतिबोरा डेढ सय रुपैयाँसम्म सिमेन्ट भाउ घटेको पनि छ । तर, अब घटाउन सक्ने ठाउँ छैन । हाम्रो उत्पादन लागत घटाइदिने काम सरकारले गरिदिनुपर्छ । त्यसका लागि के सुविधा दिएर निकासीमा प्रतिस्पर्धी बनाउनुपर्ने हो, त्यो गरिदिनुपर्छ । मूल्यमा प्रतिस्पर्धी हुन सकेमा हामीले निर्यात गर्न सक्छौँ । अर्कातर्फ हाम्रो देशको खपत क्षमता बढाउनुपर्छ । अहिले मौजुदा कार्यक्रमलाई लक्ष्यअनुसार पूर्वाधारका काम हुनुपर्छ । विकासका काम जति बढ्छन्, सिमेन्टको काम पनि त्यसरी नै बढ्दै जाने हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढ्दा प्रत्यक्ष असर पर्छ
ध्रुव श्रेष्ठ
पूर्वअध्यक्ष, रोलिङ मिल एसोसिएन
नेपालमा बर्सेनि विकास निर्माणका काम हुने समयमा तरलताको अभाव सिर्जना हुने गरेको छ । चालू वर्षमा पनि बैंकहरू ऋण दिन सक्ने अवस्थामा छैनन् । तरतला अभाव यस वर्ष पनि दोहोरियो । हामी दिगो सोचका साथ विकास निर्माणमा जान सकेनौं । यो हामी सबैले अनुभूति गरेको कुरा हो । सरकारले समयमै पुँजीगत खर्च गर्न नसक्नु निर्माण क्षेत्रका लागि अर्काे धक्का हो । यदि सरकारले पुँजीगत खर्च बढाउने हो भने त्यसको प्रत्यक्ष प्रभाव बजारमा जान्छ । बैंकहरूसँग तरलता जम्मा हुन थाल्छ र लगानीकर्ताले लगानी गर्न, उद्यम व्यवसाय गर्न सक्छ । दसैंतिहार सकिएपछि विकास निर्माणका काम हुन्छन्, तर धेरैजसो वर्षमा लगानीयोग्य रकम अभावका कारण परियोजनाहरू समयमै सम्पन्न नहुने, निर्माणका काम नै थोरै हुने जस्ता काम भएका छन् । विकास निर्माण र निर्माण सामग्री एकअर्काका परिपूरक हुन् । जति धेरै स्टिल, सिमेन्ट, इँटालगायतका निर्माण सामग्री बिक्री बढ्छ त्यति नै देशमा निर्माण गतिविधि बढेका छन् भन्ने बुझिन्छ । अहिले अधिकांश उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । बजारमा माग नभएपछि उद्योगमात्रै पूर्ण क्षेत्रमा चलाएर घाटा हुने काम गर्नु पनि भएन । कोभिडअगाडिको तुलनामा अहिले हामीसँग क्षमताको ५० प्रतिशतमात्रै माग छ । भर्खरै कामहरू सुरु हुन खोज्दै थिए, फेरि कोभिडको नयाँ भेरियन्टको हल्ला पनि छ । यसको प्रभाव बढ्दै गए खोजेका कामहरू पनि थप प्रभावित हुनेछन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य व्यापक वृद्धि भएको छ, साथसाथै डलरको भाउ पनि बढेको छ । सबै कच्चा पदार्थहरू डलरमा खरिद गरिने हुँदा हामी प्रत्यक्ष मारमा छौं । अहिले गुणस्तर हेरर फ्याक्ट्रीअनुसार ८० देखि ९०÷९५ रुपैयाँ प्रतिकिलोसम्म डन्डी पाइन्छ । प्राइम ब्लेटको मूल्य महँगो छ भने स्क्र्याबबाट बनाइने डन्डीको मूल्य सस्तो छ । भूकम्पपछि गुणस्तरमा सबै जनता सचेत रहेकाले निर्माण सामग्री गुणस्तरीय खोज्ने प्रचलन भने बढ्दो छ । सचेत ग्राहकले मूल्यभन्दा पनि गुणस्तरमा बढी ध्यान दिन्छ । हामीलाई भूकम्पले केही पाठ पनि सिकाएर गएको छ । त्यो हो– जीवनमा एकपटक बनाउने घर बलियो र गुणस्तरीय बनाउनुपर्छ ।
सिजनमै निर्माण सामग्रीको अत्यधिक मूल्य बढ्यो
रवि सिंह
अध्यक्ष, निर्माण व्यवसायी महासंघ
तरलता अभावका कारण अहिले उत्पादकहरूले सामग्री दिन सकेका छैनन् । सामान्य समयमा हामीले ६० दिनको क्रेडिटमा सामान पाउने गरेकोमा अहिले उत्पादकहरू त्यो अवस्थामा छैनन् । अहिलेको मुख्य समस्या भनेको तरतला अभाव नै हो । बजारमा तरलता अभाव हुँदा विकास निर्माणका काम मुख्य सिजनमा पनि ठप्पजस्तै छन् । यसका साथै अर्काे पक्ष भनेको निर्माण सामग्रीको मूल्यवृद्धि हो । गत कात्तिकमा प्रतिकिलो ६५ रुपैयाँमा पाउने छड अहिले ९० रुपैयाँको हाराहारीमा पुगेको छ । त्यसैगरी ४ सय रुपैैैयाँमा पाउने सिमेन्ट ६ सय रुपैयाँ प्रतिबोरा पुगेको छ । समग्रमा निर्माण सामग्रीमा ३० देखि ४० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको छ । निर्माण सामग्रीको खपत हुने मुख्य सिजनमै निर्माण सामग्रीको अत्यधिक मूल्य बढ्यो । यतिबेला दसैं, तिहार र छठजस्ता चाडपर्वको समय सकिएको छ । चाडपर्वका कारण धेरै थाँती राखेको काम अब विस्तारै सुरु हुन थालेको छ । विशेषगरी जाडो मौसममा विकास निर्माण तथा घर निर्माणकार्य अत्यधिक हुने गर्छ । तर, बजारमा भने आवश्यक निर्माण सामग्रीको मूल्य बढेको छ । कोरोना महामारीका कारण निर्माण कार्यमा निकै प्रभाव परेको अवस्थामा मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । हाल कोरोना संक्रमणको अवस्था नै रहे पनि अवस्था सामान्य हुँदै गएको देखिन्छ । तर, अवस्था सामान्य हुँदै गएपछि बजारमा भने सम्पूर्ण वस्तुको मूल्य अत्यधिक बढेको छ ।
निर्माण कार्यको मुख्य सिजन मानिने जाडो मौसममा बजारमा निर्माणका लागि आवश्यक इँटा, सिमेन्ट, डन्डीलगायतका वस्तुमा मूल्य वृद्धि भएको हो, जसले गर्दा प्रत्यक्ष असर आमउपभोक्ता र निर्माण व्यवसायीलाई परेको छ । मुख्य सिजनमै निर्माण सामग्रीको मूल्य बढ्दा आयोजना निकै प्रभावित भएका छन् । त्यस्तै, घर निर्माणका लागि आवश्यक रङ, इँटा, सिमेन्ट, बालुवा, डन्डीको मूल्य बढ्दा आम उपभोक्तालाई निकै मार परेको छ । यसका साथै बिमा समितिले असोज ६ मा बिमा कम्पनीलाई मात्रै लाभ हुने गरी ल्याएको निर्देशिकाको विरोधमा हामी आन्दोलित छौं । समग्रमा यस क्षेत्रको स्थिति कोभिडअगाडिको तुलनामा राम्रो छैन । अस्वस्थ प्रतिस्पर्धा छ, जसका कारणले गुणस्तरको काम हुन सक्दैन । नेपालमा जति पनि पूर्वाधारहरू बनेका छन् र बनिरहेका छन्, ती त्यति गुणस्तरीय बन्न सकेका छैनन् । यसको प्रमुख कारण यही अस्वस्थ प्रतिस्पर्धा नै हो । यी समस्या समाधान भएमा अन्य त समाधान हुने खालका छन् । हामी निर्माण व्यवसायीहरूको संख्या १७ हजारभन्दा धेरै छ । देश संघीयतामा गइसकेपछि स्थानीय तहले पनि निर्माण इजाजतपत्र बाँडिरहेको छ । पूर्वमा गएर पश्चिमको मान्छेले टेन्डर हालेर प्रमुख जिल्ला अधिकारी, स्थानीय अधिकारीले खोज्दा निर्माण व्यवसायी नभेटिरहेको अवस्था छ । सानो–सानो ५ करोडसम्मका कामहरू त्यही स्थानीय तहमा रहेका निर्माण व्यवसायीलाई दिनुपर्छ ।