औद्योगिक सम्पत्ति दर्ताको महत्व «

औद्योगिक सम्पत्ति दर्ताको महत्व

नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन नेपालले आफ्ना निर्यातयोग्य वस्तुको सामूहिक ट्रेडमार्क दर्ता गर्न सुरु गरेको धेरे भइसकेको छ । औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी पेरिस महासन्धिमा कलेक्टिभ ट्रेडमार्कको दर्तासम्बन्धी व्यवस्था भएअनुसार तथा नेपाल एकीकृत व्यापार रणनीतिअन्तर्गत प्रवद्र्धित वस्तुमा सामूहिक चिह्न राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्ता गरी अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन नेपाल टी, च्याङ्ग्रा पस्मिना, नेपाल कफी, एभरेस्ट बिगकार्डामममा सामूहिक चिह्न प्राप्त गरिसकेका छन् । नेपालको निर्यातमा यसले कत्तिको सहयोग गरेको छ भन्ने अध्ययनकै विषय रहेको भए तापनि सामूहिक चिह्न राष्ट्रिय र अन्तर्राष्ट्रिय दर्ता गर्दा नेपालको निर्यात व्यापारमा सघाउ पुग्ने निश्चित छ ।
कुनै पनि मुलुकमा औद्योगीकरणको गति नाप्ने एउटा ब्यारोमिटर औद्योगिक सम्पत्ति दर्ताको संख्या पनि हो । तर, नेपालमा भने औद्योगिक क्षेत्रमा नवप्रवर्तन खालका गतिविधि पनि खासै नभएका अनि त्यसका बारेमा चेतना पनि नहुँदा औद्योगिक सम्पत्ति दर्ता सुस्त गतिमा छ, जसका कारण पछिल्लो एक दशकमा औद्योगिक सम्पत्ति दर्ता स्थिरजस्तै छ । उद्योग विभागका अनुसार हालसम्म औद्योगिक सम्पत्तिअन्तर्गत ट्रेडमार्क दर्ता ५३ हजार ५२ पुगेको छ, जसमध्ये स्वदेशी ट्रेडमार्क दर्ता २८ हजार ८ सय ७७ पुगे पनि पछिल्लो एक दशकमा भने वार्षिक १ हजार हाराहारीमा मात्रै सीमित छ । साथै, विदेशी ट्रेडमार्क दर्ता हालसम्म २४ हजार १ सय ७५ छ ।
तथ्यांकका अनुसार वार्षिक विदेशी ट्रेडमार्क दर्तासमेत १ हजारकै हाराहारीमा रहेको छ । ट्रेडमार्कबाहेक प्याटेन्ट र डिजाइन दर्ताको अवस्था झनै कमजोर रहेको देखिन्छ । नेपालमा बौद्धिक सम्पत्ति अधिकार तथा पेटेन्ट एवं ट्रेडमार्कका विषयमा बेलाबेलामा कुरा उठे तापनि यसलाई गम्भीरताका साथ नलिएका कारण विदेशी लगानीमा पनि यसले निरुत्साहित गरिरहेको छ । नेपालमा विश्वका प्रसिद्ध ब्रान्ड, पेटेन्ट एवं ट्रेडमार्क दर्ता गरेर उनीहरू नेपालमा लगानी गर्न आउन खोजे बार्गेनिङ गर्ने तथा उनीहरूलाई निरुत्साहित गर्ने एउटा गिरोह नै रहेका कारण पनि वैदेशिक लगानी निरुत्साहित भएका उदाहरणहरू पनि नभएका होइनन् ।
तर, पछिल्लो समय यस्ता गिरोहलाई निरुत्साहित गर्न सर्वोच्च अदालतबाट पनि फैसला भइसकेपछि विदेशी ट्रेडमार्क दर्ता पनि बढ्नुपर्ने हो । तर, न त स्वदेशी न त विदेशी दुवै ट्रेडमार्क दर्ताको अवस्था सुस्त रहनुको अर्थ नेपालमा औद्योगीकरणका लागि अझै समस्या छ भन्ने पनि हो । किनकि विभागको औद्योगिक तथ्यांकअनुसार हालसम्म स्वदेशी ४३ तथा विदेशी ३६ गरी कुल ७९ प्याटेन्ट दर्ता भएका छन् । यस्तै डिजाइनतर्फ भने स्वदेशीभन्दा विदेशी बढी दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७७÷०७८ सम्म १ सय ९ स्वदेशी डिजाइन दर्ता हुँदा १ सय ४६ वटा विदेशी डिजाइन दर्ता भएका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा कुल १ हजार ५ सय ५२ स्वदेशी ट्रेडमार्क दर्ता भएको छ, जुन हालसम्मकै उच्च तथ्यांक हो । गत आर्थिक वर्षमा १ हजार ४२ मात्र ट्रेडमार्ड दर्ता भएको छ भने गत आर्थिक वर्षमा नै स्वदेशी प्याटेन्ट तीनवटा दर्ता भए पनि कोरोना कहरका कारण एउटै पनि विदेशीले प्याटेन्ट दर्ता गरेनन् । यसैगरी डिजाइनतर्फ भने स्वदेशीभन्दा विदेशीको चासो बढी रहेको छ । किनकि गत आर्थिक वर्षमा स्वदेशी सातवटा डिजाइन दर्ता हुँदा विदेशी ४९ वटा डिजाइन दर्ता भएका छन् । यसरी नेपाली उद्यमीहरूमा बौद्धिक सम्पत्तिको महŒव तथा आवश्यकताको महसुस नभएका कारण नेपालले अन्तर्राष्ट्रिय बजारमा समेत ठूलो मूल्य चुकाउनुपरिरहेको छ । नेपालले बेच्ने आफ्ना उत्पादनमा आफ्नो डिजाइन, ट्रेडमार्क तथा पेटेन्ट नभएका कारण अन्य मुलुकले नेपालका डिजाइन चोरेर फाइदा लिँदै आएका छन् । त्यसैले औद्योगिक तथा बौद्धिक सम्पत्तिसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौता तथा प्रावधानको अधिकतम उपयोग गर्न सकेमा नेपालले आफ्ना वस्तु निर्यातमा बढी लाभ लिन सक्छ । नेपाली वस्तुको गुणस्तरभन्दा कमसल उत्पादन नेपाली भनेर अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको साख गिराउने काम भएका कारण पनि उद्योगी तथा सरकार दुवै बौद्धिक सम्पत्तिको संरक्षणमा सचेत बन्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्