रेल सञ्चालन गर्ने सरकारको तयारी «

रेल सञ्चालन गर्ने सरकारको तयारी


सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । लामो समयसम्म लिखमा त्रिपाल ओढाएर राखिएको भन्दै तीव्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद् गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिइन् । प्रधानमन्त्री देउवाले यही २५ देखि २७ पुससम्म भारत भ्रमण गर्ने तयारी गरेका छन् । यद्यपी, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसेकेको छैन ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. रविन्द्र नाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पूरा भएको बताए । उनले भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको भन्दै उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परीक्षण भइरहेको जानकारी दिए ।
उनले केही नदीमा आन्तरिक जल मार्ग विकासको लागि काम भएरहेको पनि जानकारी दिए । चालु आर्थिक बर्षभित्रै कर्णाली, कालिगण्डकी, कोसी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक वर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरी यात्रा गर्नका लागि प्रयास जारी रहेको उनको भनाइ छ । उनले जल यातायात नियमन गर्न ऐन कानुनहरु अगाडी बढाएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्