आवासीय विद्यालय कार्यक्रम सुचारु हुने «

आवासीय विद्यालय कार्यक्रम सुचारु हुने


शैक्षिक गुणस्तरका लागि भन्दै बागमती प्रदेश सरकारले सुरु गरेको आवासीय विद्यालय कार्यक्रम सुचारु हुने भएको छ । गत शैक्षिक वर्षमा २ महिनामात्र चलेर सामाजिक विकास मन्त्रालयमा मन्त्री परिवर्तनसँगै बन्द भएको आवासीय विद्यालय कार्यक्रम पुनः सुचारू हुने भएको हो ।
गत शैक्षिक वर्ष २०७७ मा ६० दिन चल्यो तर कोरोना महामारीले बन्द भएको महामारी सकिएपछि विद्यालय खुल्यो तर आवासीय सञ्चालन हुन सकेन । विद्यालयमा नयाँ विद्यार्थीसमेत आवासीयका लागि भर्ना भए तर बजेट अभाव भन्दै विद्यालयले आवासीय नचलाएपछि ति विद्यार्थीसमेत फिर्ता भएका थिए । यससम्बन्धी समाचार कारोबार दैनिकमा प्रकाशित हुँदै आएको थियो । कारोबारमा समाचार प्रकाशित भएको एक महिनामै विद्यालयसँग पुनः विद्यार्थीलाई आवासमा राखेर पठनपाठन गराउन सम्झौता गरेको छ ।
प्रदेश शिक्षा विकास निर्देशानालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले अरु स्रोत नभए तापनि चालू आर्थिक वर्षमा प्राप्त एक करोड रुपैंयाँ ५ वटै विद्यालयलाई बाँडेर आवास सञ्चालन गर्न लागेको जानकारी दिए । संघीय सरकार र मन्त्रालयले पर्याप्त बजेट निकासा नगरेपछि कार्यक्रम सुरु हुन नसकेको उनले बताए । यो एक करोडले ३ महिनाका लागि विद्यार्थीलाई आवासमा राख्न सकिने छ । अन्य योजनामा खर्च हुन नसकेको योजनाबाट रकामान्तर भए चालू शैक्षिक वर्षभरि पुग्ने बजेट पाउने आशा रहेको उनले बताए ।
अन्य स्रोत नभए तीन महिनापछि फेरि विद्यार्थी विद्यालयको बसाइबाट घर फर्कनु पर्ने अवस्था आउँछ । निलकण्ठेश्वर माविका प्रधानाध्यापक शान्त लामा शेर्पाले सानोतिनो ५।१० मिनेटको कामका लागि हेटौंडा नै बोलाएर समय र खर्च गराउने प्रवृति अन्त्य हुनुपर्ने बताए । “हामीलाई सम्झौताका लागि बोलाइयो, हिउँपानीको कष्ट छल्दै हेटौंडा पुगियो, काम ५ मिनेटको रहेछ,” उनले भने, “चालू वर्ष ३ महिनाका लागि सम्झौता भयो, यही काम स्थानीय तहलाई पनि जिम्मेवारी बनाएको भए अनुगमन र अपुग बजेटका लागि समेत सजिलो हुने थियो ।”
सम्झौतापछि विद्यालयले आउँदो माघ महिनादेखि विद्यार्थी आवासमा राख्ने तयारी थालेका छन् । विद्यार्थीका लागि आवश्यक खाद्यान्न व्यवस्थापनका लागि ठेक्कासमेत आह्वान गरिसकेका छन् । गत वर्षपछि २ महिनामात्र चलेर नमुनाको रूपमा गर्ने भनेको सरकारकै कार्यक्रम रोकिएको थियो ।
प्रदेश सरकारले पनि लागेको खर्च सबै बेहोर्ने गरी बजेट व्यवस्थापन भयो । बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल हुँदा नमुनाको रूपमा पहिलो चरणमा दोलखाको निलकण्ठेश्वरसहित जनजागरण मावि सिन्धुली, रत्नराज्य मावि सिन्धुपाल्चोक, शंखदेवी मावि धादिङ र राप्ती मावि चितवनमा यो कार्यक्रम सुरु भयो । तर मन्त्री परिवर्तन भएर गौरीशंकर गाउँपालिकाकै सरस्वती बस्नेत सामाजिक मन्त्री बनिन् । यही बेला संघीय सरकार र प्रदेश सरकारले बजेट ल्यायो तर आफ्नै सरकारले सुरु गरेको आवासीय विद्यालयको कार्यक्रम नियमित बजेटसमेत कटौती गरेपछि नयाँ शैक्षिक वर्ष लागेपछि विद्यालयले भर्ना भएका विद्यार्थी र कर्मचारी फिर्ता गरेका थिए ।
आवासी विद्यालय सुचारु हुने भएपछि अभिभावक पनि उत्साहित छन् । तर फेरि विभिन्न बहानामा आवासीय कार्यक्रम बन्द नहोस् र शैक्षिक गुणस्तर कायम गर्न पनि लाग्नु पर्नेमा अभिभावकको जोड छ ।
विद्यालय सुरु गर्दा शिक्षा निर्देशनालयमार्फत नै सबै विद्यालयको पूर्वाधार निर्माणका लागि डीपीआरसमेत बन्यो । पूर्वाधारको काम २ वर्षमा पूरा गर्ने भनियो । तर अघिल्लो वर्ष १ करोड पाएको भान्साको हल निर्माणमा आएको बजेट सबै खर्च नुहुँदा अधुरै रह्यो । फर्निचरलगायतका सामग्री खर्च गर्ने प्रक्रिया नमिल्दा २० लाख उल्टै विद्यालयले ऋण बोक्नु परेको छ । सबै पूर्वाधार पूरा नहुँदा कक्षा कोठा सञ्चालनमा रहेका एउटा भवनका कोठालाई विद्यार्थी आवास राख्न बन्दोबस्त ग¥यो । बूढानीलकण्ठ, नेपाली सेना, प्रहरीलगायतले आवासीय रूपमा सञ्चालन गरेका सफल विद्यालयजस्तै बनाउन प्रदेश सरकारले आवासीय सेवा सुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्