सिलवाल, चौधरी र मनाङ्गे ‘फरार सांसद’ «

सिलवाल, चौधरी र मनाङ्गे ‘फरार सांसद’

आइजीपी बढुवा सम्वन्धी कार्यसम्पादन-मूल्यांकन किर्ते अभियोगमा फरार रहेका नेपाल प्रहरीका पूर्व डीआइजी तथा एमालेका सांसद नवराज सिलवाल विरुद्ध इन्टपोलले आइतबार डिफ्युजन नोटिस जारी ग¥यो ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा तर्फ प्रत्यक्ष निर्वाचित सांसद सिलवाल डिफ्युजन नोटिस जारी भएसँगै विश्वका प्रहरीहरुको साझा संस्था इन्टरपोलको ‘मस्ट वान्टेड अभियुक्त’का रुपमा दरिएका छन् ।
विश्वका १ सय २ देशका प्रहरी सदस्य रहेको इन्टरपोलले सिलवाल जुनसुकै देशमा भएपनि पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउनु पर्ने छ । त्यसो त सिलवाल मात्रै होइनन्, प्रतिनिधि सभा तर्फ राष्ट्रिय जनता पार्टी नेपालबाट कैलाली क्षेत्र नम्बर १ का प्रत्यक्ष निर्वाचित सांसद रेशम चौधरी पनि प्रहरीको ‘मस्ट वान्टेड’ अभियुक्त हुन् । ‘टिकापुर कान्ड’का रुपमा चिनिएको व्यक्ति हत्या अभियोगका मूख्य योजनाकार चौधरी विरुद्धको मुद्धा कैलाली जिल्ला अदालतमै विचाराधीन छ ।
प्रहरीका अनुसार वारेसनामा मार्फत मनोनन दर्ता गरी सांसद निर्वाचित चौधरी अहिले भारतमा लुकेर बसेका छन् । अदालतको अदेशमा चौधरीलाई निर्वाचन आयोगले सांसद निर्वाचित भएको प्रमाणपत्र समेत दिएको छैन । त्यसैगरी व्यक्ति हत्या प्रयास अभियोगमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका प्रदेश सभा तर्फ मनाङ्का स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गे पनि अहिले फरार छन् । पुनरावेदन अदालत पाटनको आदेशलाई सदर गर्दै सर्वोच्च अदालतले कैद तथा सजायको फैसला सुनाएपछि मनाङ्गे गत साताबाट फरार छन् ।
आइतबार ४ नम्बर प्रदेशका सांसदको सपथग्रहण समारोहमा पनि मनाङ्गे उपस्थित भएनन् । प्रहरी संयन्त्र अदालतको फैसला कार्यान्वयनका लागि मनाङ्गेलाई पक्राउ गर्न खटिसकेको छ । सिलवाल, मनांङगे र चौधरी फरक फरक कसूरका आरोपित तथा दोषी व्यक्ति हुन् । यसमध्ये किर्ते अभियोगमा प्रहरीले बोलाएको बेला उपस्थित भइदिएका भए सिलवालमाथी इन्टपोलसम्म जानै नपर्ने एक प्रहरी अधिकारी बताउँछन् ।
“कानुनलाई चुानैती दिनेगरी सिलवालका अभिव्यक्ति सञ्चारमाध्यम मार्फत सार्वजनिक भएपछि हामीले मुद्धाको अनुसन्धानलाई रोकेर राख्ने कुरै आउँदैन,” प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो “अव कानुन र नियम अनुसार यो विषय अघि बढ्छ ।” सिलवालसँगै सांसदद्धय चौधरी र मनाङ्गेको खोजीकार्यपनि तिब्रा पारिएको छ ।”

प्रतिक्रिया दिनुहोस्