Logo

कृषि सामग्री र बीउ–विजन कम्पनी मर्ज हुँदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउ–विजन कम्पनी लिमिटेड एक आपसमा मर्जमा जाने निश्चित भएको छ । मर्जपछिको कम्पनीको नाम कृषि सामग्री कम्पनी लिमिटेड रहने मन्त्रालयले जनाएको छ ।
विद्यमान बोर्ड-कम्पनी-परिषद्हरूमध्ये कार्य प्रकृति, कार्य बोझ, औचित्यता र बदलिँदो परिवेशमा रहन वा नरहने सान्दर्भिकता हेरी खारेज वा मर्जमा लैजाने बारेको गत असार २० गतेको मन्त्रिपषिद्को निर्णयअनुसार कृषितर्फका दुई कम्पनी मर्जमा लाने निर्णय गरिएको हो । गत भदौ १२ गते दुवै कम्पनीलाई मर्जमा लाने कृषि मन्त्रालयको सैद्धान्तिक स्वीकृतिबमोजिम दुवै कम्पनी मर्जको अन्तिम तयारीमा जुटेका हुन् । बुधबार कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले दुवै कम्पनीका अधिकारीहरूलाई मन्त्रालयमा बोलाएर मर्जसम्बन्धी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।
आगामी तीन महिनाभित्र मर्ज गर्ने गरी दुवै कम्पनीको साधारणसभा बस्ने तयारी गर्न मन्त्री खनालले बताए । “एकै प्रकृतिका काम गर्ने दुई कम्पनीलाई मर्ज गरेर लाने निर्णयअनुसार काम अगाडि बढिसकेको छ,” उनले भने, “तीन महिनाभित्र मर्ज गरेर बनाइने नयाँ कम्पनीले कृषि सामग्रीको उत्पादन तथा वितरण प्रणालीलाई थप प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनेछ ।” नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ को अनुसूची १ को विषय संख्या ४१ बमोजिम कृषि मन्त्रालयले पेस गरेको प्रस्तावअनुसार कम्पनी मर्जर प्रक्रिया टुंगोमा पुगेको हो ।
दुवै कम्पनीले आ–आफ्नो कम्पनीको साधारणसभा गरी गाभिने निर्णय गर्ने र तीन महिनाभित्र संयुक्त रूपमा साधारणसभा गरी गाभिने निर्णय गर्ने तयारी छ, जसअनुसार बीउ–विजन कम्पनीले यही फागुन २९ गते साधारणसभा गर्दैछ भने कृषि सामग्री कम्पनीले आगामी चैतमा साधारणसभा गर्ने भएको छ । अडिट रिपोर्ट आउन बाँकी रहेको भन्दै कृषि सामग्रीले मिति भने तोकेको छैन । कर्मचारीले हाल खाइपाई आएकै सेवा पाउने मन्त्रालयले जनाएको छ । एकद्वार प्रणालीबाट कृषि सामग्रीहरूको उत्पादन, आयात तथा निर्यातका काम गर्न कम्पनीको मर्ज उपयुक्त रहेको दुवै कम्पनीको भनाइ छ ।
मल, बीउ, कृषि रसायनिक मल तथा उपकरण आयात गरी बिक्री गर्ने उद्देश्यले २०२२ सालमा स्थापना भएको कृषि सामग्री संस्थानअन्तर्गत हालका दुई कम्पनीको काम हुँदै आएको थियो । २०५८ सालसम्म एउटै कम्पनीका रूपमा थियो । तत्कालीन समयमा एसियाली विकास बैंकको आर्थिक प्रलोभनमा तत्कालीन कृषिमन्त्री महेश आचार्यले कृषि सामग्री संस्थानलाई फुटाएर बीउको कारोबारका लागि बीउ–विजन र मलको कारोबारका लागि कृषि सामग्री कम्पनी बनाएको बताइन्छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०५९ वैशाख २५ गते एकैदिन सरकारको पूर्णस्वमित्व रहने कम्पनीका रूपमा दुवै कम्पनी दर्ता भएका थिए ।
राष्ट्रिय बीउ–विजन कम्पनी लिमिटेड बीउ–विजनको कारोवार गर्ने गरि र कृषि सामग्री कम्पनी मलखाद खरिद, आयात तथा बिक्री वितरणलगायतका उद्देश्यसहित स्थापना भएका हुन् । कृषि सामग्री कम्पनीकोे उद्देश्यमा कृषि उत्पादनहरूको खरिद बिक्री एवं आयात निर्यात गर्ने समेतको रहे पनि मलखादको आयात तथा वितरणमा मात्र केन्द्रित रहँदै आएको छ । आर्थिक वर्ष ०७३-७४ सम्म कृषि सामग्री कम्पनीको सेयर पुँजी ४२ करोड ६४ लाख, जगेडा कोष तथा सञ्चित नाफा १ अर्ब ५ करोड ५१ लाख तथा ०७३।७४ सम्मको दायित्व करिब २ करोडको हाराहारीमा देखिन्छ । कृषि सामग्रीको स्थिर सम्पत्ति ८१ करोड २६ लाख तथा चालू सम्पत्ति करिब २ अर्ब छ । बीउ–विजन कम्पनीको अधिकृत पुँजी १५ करोड तथा जारी पुँजी १२ करोड ६४ लाख छ । दुवै कम्पनीको पछिल्लो तथ्यांक भने तयार भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्