यात्रु बोक्नुभन्दा कार्गो उडानमा विमान कम्पनीको चासो

सय बढी हुम्लावासी नेपालगन्जमा अड्किए : आन्दोलन गर्ने चेतावनी
नेपालगन्ज-कर्णाली प्रदेशका लागि हवाई उडान गर्दै आएका विमान कम्पनीहरूले यात्रुलाई बेवास्ता गरेर कार्गो उडान मात्र गर्न थालेपछि हुम्लाका सय बढी बासिन्दा राँझामा अड्किएका छन् ।
हिउँ परेपछि अवरुद्ध भएको हवाई यातायात मौसमको सुधारसँगै पुनः सुचारु भए पनि विमान कम्पनीले यात्रुलाई बेवास्ता गरेर कार्गो उडान मात्र गरिरहेको यात्रुहरूको आरोप छ ।
घर फर्किने भनी टिकटका लागि विमानस्थल पुग्दा टिकट नपाएको, दलाल मार्फत अतिनै महँगोमा टिकट बिक्री गरिएको र अधिकांश उडान कार्गो गरिएकाले आफूहरू करिब दुई सातादेखि यतै बस्नु परेको हुम्लाका स्थानीय बासिन्दा रमेश रावतले बताए ।
हुम्ला जानका लागि दिनदिनै विमानस्थलमा पुगे पनि एयरलाइन्सले यात्रु उडाउनुका साटो कार्गो उडान मात्र गरिरहेकाले आफूहरू अलपत्र परेको उनको भनाइ छ । दलालमार्फत ७ हजार २ सय पर्ने टिकटलाई ११ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको तथा अधिकांश उडान कार्गो मात्रै गरिरहेको रावतले बताए ।
अधिकांश विमान कम्पनीहरूले दलालमार्फत मात्र टिकट बिक्री गरिरहेको हुँदा धेरै पैसा तिर्नेहरूले मात्र टिकट पाउने गरेको तथा अन्य सर्वसाधारणले पालो मात्र पर्खेर बस्नु परेको नेपाली कांग्रेस हुम्लाका सचिव मानबहादुर शाहीले बताए ।
यात्रुलाई पहिले उडाउनु पर्नेमा विमान कम्पनीले अधिकांश उडान कार्गो मात्रै गरेको जनाउँदै उनले सोही कारणले सर्वसाधारणले सास्ती भोग्नु परेको बताए ।
आफूहरूलाई तत्काल नउडाइए विमानस्थलमा आन्दोलन गर्ने चेतावनी दिँदै उनले सबै उडानलाई ठप्प पार्ने बताएका छन् ।
यसैबीच उड्न नपाएपछि यहाँ अड्किएका हुम्लाका स्थानीय बासिन्दाले नागरिक उड्डयन कार्यालयमा पुगेर तत्काल घर फर्किन नपाए आन्दोलन गर्ने चेतावनी सहितको जानकारी गराएका छन् ।
आफूहरूलाई नउडाइए विमानस्थलभित्र कसैलाई पनि छिर्न नदिने तथा उडान पनि ठप्प पार्ने चेतावनी दिएको कांग्रेस सचिव शाहीले बताए ।
नागरिक उड्डयन कार्यालयले विभिन्न एयरलाइन्सका कर्मचारीलाई बोलाएर सो बारेमा जानकारी माग गरेको छ । बैठकमा विमान कम्पनीहरूले यात्रुलाई उडाउने प्रतिवद्धता जनाएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
कर्णालीका विभिन्न जिल्लाहरूमा हवाई यातायातबाट जान चाहने यात्रुहरूलाई विभिन्न बहानामा दुःख दिने गरिएको ती जिल्लाका अधिकांश बासिन्दाको गुनासो रहँदै आएको छ ।
नेपालगन्ज विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लाहरू लगायत सुदूरपश्चिमको साँफेबगर र संघिय राजधानी काठमाण्डौका लागि हवाई उडान हुँदै आएका छन् ।