नेपालको वर्तमान आयात–निर्यात अर्थशास्त्र «

नेपालको वर्तमान आयात–निर्यात अर्थशास्त्र

स्वतन्त्र बजार अर्थव्यवस्थामा विश्वका हरेक देशले उत्पादन गरेको वस्तु तथा सेवा विश्व बजारमा पुगेर उपभोग हुने गर्छ । यसरी उत्पादक राष्ट्रले उत्पादनलाई निर्यात गरी विश्व बजारमा पु-याउने र आवश्यक पर्ने राष्ट्रले वस्तु तथा सेवा आयात गर्ने विषयको अध्ययन गरिने विज्ञान आयात–निर्यात अर्थशास्त्र हो । आयात–निर्यात अर्थशास्त्रले कुनै पनि देशको आत्मनिर्भरता र परनिर्भरताको अवस्थितिलाई मापन गरिरहेको हुन्छ । पछिल्ला वर्षहरूमा नेपालको आयात तीव्र गतिले बढिरहेको छ, तर निर्यात भने घिस्रिरहेको छ । देशको व्यापार आयातमुखी हुन पुगेकाले नेपालले उच्च व्यापारघाटा बेहोर्दै आइरहेको हो ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ६३.५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा ३ खर्ब ६६ अर्बले व्यापारमा वृद्धि भएर कुल व्यापार ९ खर्ब ४१ अर्ब पुगेको हो । भन्सार विभागबाट जारी पछिल्लो तथ्याङ्कअनुसार पाँच महिनामा ५ खर्ब ७५ अर्ब रहेको वैदेशिक व्यापार यस आवको पाँच महिनाम बढेर ९ खर्ब ४१ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात ५९.५५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५ खर्ब २५ अर्बबराबरको आयात भएकोमा चालू आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ३८ अर्ब पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको निर्यात १०५.६१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पाँच महिनामा ५० अर्ब ५ करोडबराबरको निर्यात भएकोमा चालू आवमा १ खर्ब २ अर्बबराबरकोे निर्यात भएको देखिन्छ । विभागले बताएअनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए पनि मुलुकको व्यापारघाटा भने अघिल्लो आवको तुलनामा ५४.७ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब पुगेको छ । गत आर्थिक वर्षको पाँच महिनामा व्यापारघाटा ४ खर्ब ७५ अर्ब थियो । देशको कुल वैदेशिक व्यापारमा गत आवको पाँच महिनासम्म आयातको हिस्सा ९१.३ प्रतिशत रहेकामा यसको हिस्सा २.४५ प्रतिशतले घटेर चालू आवमा ८९.०७ प्रतिशतमा झरेको छ । पछिल्लो पाँच महिनामा वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५.७२ प्रतिशतले बढेर १०.९३ प्रतिशत पुगेको छ । यो हिस्सा अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ८.७ प्रतिशत रहेको थियो ।
यो अवधिमा व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी ४९ अर्ब २ करोडबराबरको डिजेल आयात भएको देखिन्छ । दोस्रोमा भटमासको कच्चा तेल रहेको छ । जुन नेपालको भन्दा पनि भारतको करनीतिसंग बढि प्रभावित छ । कुनै पनि बेला भरातले आफनो कर नीति परिवर्तन गरेपछि उक्त निर्यात फेरि शून्यमा झर्दछ । चालू आर्थिक वर्षको पाँच महिनामा ३३ अर्ब ६६ करोडको भटमासको तेल, २४ अर्ब ६१ करोडको पाम आयल, २४ अर्ब १० करोडको पेट्रोल, २३ अर्ब ११ करोडको एलपी ग्यास र २० अर्ब ३५ करोडको टेलिफोन आयात भएको विभागले बताएको छ । नेपालबाट निर्यात हुने वस्तुमध्ये भटमासको तेल ३० अर्ब ५५ करोडबराबरको निर्यात भएको छ । त्यसैगरी सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुने गरेको छ । यो पनि भरातको करनीतिका काारण बाट बढेको हो । चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट २७ अर्ब ४२ करोड मूल्यबराबरको पाम तेल, ३ अर्ब ७३ करोडबराबरकोे गलैँचा, २ अर्ब ६५ करोड मूल्यबराबरका जुटबाट बुनिएका कपडा निर्यात भएको विभागको तथ्याङ्क छ ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालले भारतबाट करिब ५ खर्ब ३ करोड मूल्यबराबरका वस्तु आयात गरेको छ भने ८४ अर्ब १५ करोड मूल्यबराबरको वस्तु निर्यात गरेको छ । नेपालको व्यापारघाटा भारतसँग मात्रै ४ खर्ब १५ अर्बभन्दा धेरै देखिन्छ । नेपालले छिमेकी राष्ट्र चीनबाट १ खर्ब २२ अर्ब मूल्यबराबरका वस्तु आयात ग¥यो भने ३८ करोड १६ लाख मूल्यबराबूको वस्तु निर्यात गरेको देखिन्छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँबराबरको तरकारी मात्र आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत १ अर्ब ७१ करोड रुपैयाँबराबरको तरकारी खरिद गर्ने गरेको छ । यसलाई आधार मान्दा नेपालले दैनिक करिब ६ करोडको तरकारी मात्रै आयात गरेको देखिन्छ । यस अवधिमा नेपालमा आलुको आयात सबैभन्दा ठूलो छ । आलु खरिदमा ५ अर्ब २७ करोड, प्याज खरिदमा २ अर्ब ४७ करोड, गोलभेंडा खरिदमा १८ करोड ६६ लाख, हरियो लसुन खरिदमा ३७ करोड ४२ लाख, च्याउ खरिदमा ७ करोड १७ लाख, फर्सी खरिदमा १ करोड ४ लाख, गाँजर खरिदमा ४२ लाख, भिँडे खुर्सानी खरिदमा ४ करोड, हरियो सागपात खरिदमा १६ करोड, हरियो तरकारीका गेडागुडी खरिदमा ३ करोड ३७ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादनको छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् । चालू आवको पाँच महिनामा ५ अर्ब १६ करोडको आलु नेपालले भारतबाट र १० करोड मूल्यबराबरको आलु बंगलादेशबाट खरिद गरेको छ । पाकिस्तानबाट ८२ हजारको हरियो लसुन र दक्षिण कोरियाबाट रातो बन्दा नेपाल आयात गरिएको छ ।
देशकै मुख्य व्यापारिक नाका वीरगन्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उल्लेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो । आर्थिक वर्ष २०७७-७८ को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको तुलनामा ५२.५० प्रतिशत बढी हो ।
विभागले चालू आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब आठ करोड ६६ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको देखिन्छ । देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलगायतका वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको हो । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारी साधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयको तथ्यांकबाट प्रस्ट हुन्छ ।
नेपाल विश्व व्यापार संगठनको सदस्य बनेसँगै यसले विश्व बजारमा प्रवेश गर्ने मौका पायो । यस अवसरबाट गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गरी निर्यात गर्न अग्रसर हुनुपर्ने थियो तर त्यसलाई ध्यान दिइएन । आयात गर्ने प्रवृत्तिमात्र बढ्यो । रोजगारीको अभावमा विदेश पलायन भएका नेपालीहरूको रेमिट्यान्सले सामान्य परिवारको पनि आम्दानी वृद्धि भयो, उनीहरूको माग बढ्यो । वस्तु आयात गरी उपभोग गर्ने संस्कारले प्रश्रय पायो । यस प्रकारको संस्कारलाई सरकारको निर्यातमुखी वस्तु तथा सेवा उत्पादनको नीतिले मात्र प्रतिस्थापन गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्