सहकारीको व्याजदर तत्काल नबढ्ने «

सहकारीको व्याजदर तत्काल नबढ्ने



बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर बढेको भन्दै सहकारीमा पनि सन्दर्भ व्याजदर बढाउन संचालकहरूले दबाब दिए पनि तत्काल नबढ्ने भएको छ ।
सन्दर्भ व्याजदर पुनरावलोकन गर्नका लागि बुधबार राखिएको बैठक स्थगित गरिएको छ । बैठक स्थगित भएपछि तत्कालका लागि व्याजदर नबढ्ने भएको हो ।
सहकारीको ऋणको व्याजदरको माथिल्लो सीमाका रूपमा कायम हुने सन्दर्भ व्याजदर निर्धारणका लागि सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा समिति रहने व्यवस्था छ । समितिमा सरकारको तर्फबाट सहकारी र अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा विषयगत सहकारी संघका प्रतिनिधि सदस्य हुने व्यवस्था छ ।
एक साताअघि बसेको समितिको बैठकमा राष्ट्रिय सहकारी महासंघले सन्दर्भ व्याजदर १७ प्रतिशत पु-याउन प्रस्ताव गरेको थियो । तर बैठकमा सहभागी अर्थ मन्त्रालय र राष्ट्र बैंकका बैंकका प्रतिनिधिहरूले व्याजदर बढाउने आधार नभएको भन्दै विरोध गरेपछि एक साताका लागि बैठक स्थगित गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्था सहज बन्न थालेको भन्दै व्याजदर तत्काल नबढाउने निष्कर्षमा विभागका अधिकारीहरू पुगेका छन् । जसका कारण समितिको बैठक पनि स्थगित गरिएको स्रोतले जानकारी दिएको छ । “बजारमा तरलताको अवस्था सहज बन्दै गएको देखिएको छ,” विभागका एक अधिकारीले भने, “तत्कालै सन्दर्भ व्याजदर पुनरावलोकन गरिहाल्नुपर्ने अवस्था नभएकाले बैठक पनि स्थगित गरिएको हो ।”
नेपाल राष्ट्र बैंकले गत सातामात्र १२ अर्ब पुनर्कर्जा स्वीकृत गरेको थियो । यसैगरी स्थानीय तहको सञ्चित कोषमा रहेको रकममध्ये ८० प्रतिशत बैंकिङ तरलतामा गणना गर्न पाउने व्यवस्थासमेत मंगलबारबाट कार्यान्वयनमा आएको छ ।
बैंकहरूको व्याजदर बढ्न थालेपछि गत कात्तिकमा राष्ट्र बैंकले हस्तक्षेप गरेर बैंकहरूको व्याजदरमा समिा निर्धारण गरेको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गर्दै अघिल्लो महिनाको प्रकाशित व्याजदरको १० प्रतिशतले मात्रै बढाउन पाइने व्यवस्था लागू गरेको छ ।
यसैगरी बजारमा तरलताको अभाव भए पनि राष्ट्र बैंकले हालसम्म लघुवित्त संस्थाहरूको ऋणको व्याजदरका तोकेको १५ प्रतिशत व्याजदरको सीमा बढाएको छैन । राष्ट्र बैंकले बैंकहरूको व्याजदर हस्तक्षेप गरिरहेका बेला सहकारीको व्याजदर पनि नबढाउन रजिस्ट्रारलाई दबाब पर्दै आएको छ ।
हाल सहकारी संस्थाहरूले ऋण लगानीमा अधिकतम १४.७५ प्रतिशत ब्याज लिन पाउने गरी सन्दर्भ व्याजदर लागू गरिएको छ । १५ कात्तिकदेखि व्याजदर लागू भएको थियो । यसअघि सहकारीमा सन्दर्भ व्याजदर १६ प्रतिशत रहेको थियो ।
सहकारी ऐन तथा नियमावलीमा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सघंमा आबद्ध संस्था वा संघहरूको औसत व्याजदर, सहकारी बैंकहरूको औसत व्याजदर, ‘क’ वर्गको बैंकहरूको औसत व्याजदरका साथै व्याजदरबारे मन्त्रालय, राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासंघ र विषयगत केन्द्रीय संघहरूको सुझावलाई आधार मानेर सन्दर्भ व्याजदर निर्धारण गर्ने प्रावधान छ ।
कानुनी व्यवस्थाअनुसार तय गर्दा सहकारीको सन्दर्भ व्याजदर कम हुने भए पनि सहकारीका सञ्चालकको दबाबमा उच्च व्याजदर निर्धारण हुँदै आएको छ । यसअघि पनि सन्दर्भ व्याजदर १२ प्रतिशतको हाराहारीमा हुने अवस्थामा अभियानको दबाबमा १४.७५ प्रतिशत पु¥याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्