सुनकोसी तेस्रोको लागत डेढ खर्ब «

सुनकोसी तेस्रोको लागत डेढ खर्ब


लागत डेढ खर्ब, प्रभावित घरधुरी ४४ सय



विद्युत विकास विभागले गरेको सम्भाव्यता तथा वातावरणीय अध्ययनले सुनकोसी तेस्रो जलविद्युत आयोजनाको लागत १३३.१०२ करोड डलर अर्थात १ खर्ब ५८ अर्ब देखाएको छ ।
काठमाडौंबाट ८२ किलोमिटर नजिक रहेको र ४५ किलोमिटर जलाशय फैलने सो ६८३ मेगावाटको सो जलाशययुक्त आयोजनाको लागत निर्माण अवधिको बैंक ब्याजबाहेक यति हो ।
जापान सहयोग नियोग (जाइका) ले जलाशययुक्त आयोजना मध्ये बागमती प्रदेशबाट सुनकोसी तेस्रो उत्कृष्ट आयोजनाको रुपमा छनोट गरेको थियो । अध्ययनमा संलग्न इन्जिनियरिङ सुवास थपलियाले लागत, वातावरण र जलविद्युतको लोडसेन्टरबाट नजिक रहेकाले सुनकोसी तेस्रो तुलनात्मक रुपमा राम्रो आयोजना देखिएको बताए ।
निर्माणको चर्चामा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाको लागत करिब ४ खर्ब पुग्ने अनुमान गरिएको सोको तुलनामा सुनकोसी तेस्रो जलाशययुक्त आयोजनाको लागत कम हो । बुढीगण्डकीमा १० हजार घरधुरी विष्थापित हुनेमा यस आयोजनामा भने ४ हजार ४ सय २३ घरधुरी विस्थापित हुने विद्युत विकास विभागले तयार गरेको वातावरण प्रभाव मूल्यांकन (ईआए) को प्रतिवेदनमा उल्लेख छ । विस्थापित हुनेमध्ये ७ सय गोठ छन् ।
२ हजार ३ सय ५६.२७ गिगावाट आवर वार्षिक ऊर्जा उत्पादन हुने आयोजनाबाट सुख्यायाममा ६ सय ३२.२८ गिगावाट आवर विद्युत उत्पादन हुनेछ भने यसबाट पाँच हजारलाई प्रत्यक्ष रोजगारी हुने प्रतिवेदनले जनाएको छ । आयोजनाको आयु ११५ वर्षको हुनेछ । आयोजना बनेपछि प्रभावित क्षेत्रका स्थानीय निकायले १० वर्षसम्म वार्षिक ३० करोड र १० वर्षपछि वार्षिक १ अर्ब ७५ करोड रोयल्टीवापत पाउने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार, काभे्रको तेमाल र रामेछापको खाँडादेवीमा बाँध निर्माण हुनेछ भने काभ्रे, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वडा प्रभावित हुनेछन् । प्रतिवेदन अनुसार, २३ सय हेक्टर वन क्षेत्र आवश्यक रहने यस आयोजनामा अधिकांश पुष्पलाल र अरनिको राजमार्गको सडक खण्डसमेत प्रभावित हुनेछ । आयोजनाका लागि ४ सय केभीको ४५ किलोमिटर प्रसारण लाइन पुग्ने अध्ययनले देखाएको छ ।
आयोजना निर्माणका लागि बंगलादेशले चासो देखाएको छ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकले सुनकोसी तेस्रो बंगलादेशलाई निर्माण गर्न दिने प्रस्ताव अनुमोदन समेत गरिसकेको छ ।
आयोजना निर्माण भएमा आयोजना अवधिभर वार्षिक रुपमा साढे दुई अर्ब बराबरको राजस्व समेत संकलन हुने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माण गर्न सकेमा उक्त आयोजना नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न सकिने अवस्था र यहाँ ¥याफटिङ, फिसिङ, सुन्दर होटेल निर्माण लगायत गरेर तिमाल, कोसीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छ । आयोजना बनाउन सकेमा सुख्खा हुने हिउँदमा नेपालको तराईका साथै भारतमा समेत सिँचाइको सुविधा पुग्नेछ भने सुनकोसी तेस्रो मुनि बन्न लागेका सुनकोसी दोस्रो, सप्तकोसी बाँधका साथै कोसीभरी निर्माण हुने सबै आयोजनालाई समेत ठूलो फाइदा पुग्नेछ । १९८२ सालमा भारतको गंगा नदीबाट सप्तकोसी हुँदै दोलालघाटसम्म पानी जहाज ल्याउने योजना रहेपनि अलपत्र परेकोमा उक्त पानी जहाज ल्याउनका लागि समेत उपयुक्त हुने अपेक्षा गरिएको छ ।
आयोजना निर्माणको क्रममा भने ९६ हजार ६ सय ३० रुख हटाउनुपर्ने भएपनि यस क्षेत्रमा भने ९ लाख ६६ हजार ३ सय रुख रोपिने तथा २७ अर्ब बराबरको निजी जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । जलाशयबाट सुनकोसी नदीतर्फ बलेफी तथा इन्द्रावतीतर्फ तामाघाटसम्म डुबानमा पर्नेछ भने यसका लागि ४ हजार १३ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । आयोजना निर्माण गर्दा बलेफी, दोलालघाट, सुकुटेलगायतका बजार प्रभावित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्