बाँझो जमिनमा नमुना कृषक पाठशाला «

बाँझो जमिनमा नमुना कृषक पाठशाला

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ गर्मा खेत विगत केही वर्षदेखि बाँझो थियो । करिब दुई सय रोपनीभन्दा बढीको खेत जंगली जनावरको आतंकका कारण झाडीमा परिणत भएको थियो । गर्मा गाडको छेउमै सम्म परेको उक्त खेतलाई पञ्चेश्वर गाउँपालिकाले भाडामा लिएर व्यवस्थित गरी नमुना कृृषक पाठशाला सञ्चालन गरेको छ । परम्परागत कृषि प्राणलीबाट खेती गरिरहेका किसानलाई आधुनिक कृषि प्रणालीका बारेमा ज्ञान दिन गाउँपालिकाले उक्त पाठशाला सञ्चालनमा ल्याएको हो ।
अहिले गर्मा नमुना कृषक पाठशालामा दैनिक २५ देखि ३० जनासम्म स्थानीयले काम गर्छन् । चार जना कृषि प्राविधिकको प्रत्यक्ष संलग्नतामा उक्त पाठशाला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । अहिले उक्त नमुना कृषक पाठशालामा काउली, गोलभेंडा, प्याज, लसुल, काँक्रा, च्याउलगायतका तरकारी उत्पादन गर्न लागिएको छ । “परम्परागत खेती गर्ने तरीकालाई आधुनिक र व्यावसायिक खेतीमा रूपान्तरण गर्न गाउँपालिकाले नमुना कृषक पाठशाला खोलेको छ, यसले स्थानीय किसान र गाउँपालिकालाई समेत निकै फाइदा पुग्ने विश्वास लिएका छौं,” चन्दले भने, “हामी यसमा अझै अरु वेमौसमी खेती गर्ने तयारीमा छौं ।”
गाउँपालिका क्षेत्रभित्र रहेका अन्य किसान पनि गर्मा नमुना कृषक पाठशालाबाट प्रेरित भएका छन् । स्थानीय तहको निर्वाचनपछि नमुना कृषक पाठशालाको अवधारणा आए पनि आफूहरूलाई पनि निकै सिकाई भइरहेको स्थानीय किसान बिसनसिंह भण्डारीले बताए । “कमाउन नसकी हामीले नै बाँझो छाडेको जमिन गाउँपालिकाले व्यवस्थित गरी हामीलाई नै सिकाइरहेको छ, त्यतिमात्रै होइन यसमा हामीले रोजगारी पनि पाएका छौं,” भण्डारीले भने ।
अहिले गर्मा कृषक पाठशालामा स्थानीय महिलाले पनि रोजगारी पाएका छन् । दैनिक पाँच सय ज्यालामा आफ्नै जमिनको तरकारी गोड्नमा यहाँका महिला व्यस्त देखिन्छन् । “दैनिक पाँच सय पाउनुका साथै कृषि प्राविधिकहरूबाट आधुनिक कृषि गर्ने तरिकाका बारेमा पनि सिकिरहेका छौं,” स्थानीय किसान सरिता भण्डारीले भनिन्, “अहिले हामीलाई निकै सजिलो भएको छ ।”
अहिले तरकारी खेती मात्रै गरिएको भए पनि आगामी दिनमा विभिन्न प्रजातीका फलफूल र माछापालनको समेत योजना रहेको गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले बताइन् । “गर्मा नमुना कृषक पाठशालालाई साँच्चिकैको पाठशाला बनाउने तयारीमा जुटेका छौं, हामी चाहन्छौँ पञ्चेश्वर गाउँपालिकाका किसान मात्रै होइन बैतडीलगायत सिंगो सुदूरपश्चिमका किसान यहाँ अवलोकन भ्रमणका लागि आउने छन्,” भट्टले भनिन्, “हेर्दै जाउँ कहाँसम्म सकिन्छ ।”
गाउँपालिकाको ५० लाख रूपैयाँको लागतमा बाँझो खेत व्यवस्थापन गरी नमुना कृषक पाठशाला खोलिएको र यसबाट भविष्यमा करोडौंको आमदानी लिने गाउँपालिकाको लक्ष्य छ ।

नरी बडु

प्रतिक्रिया दिनुहोस्