विशेष आर्थिक क्षेत्रबारे विराटनगरमा छलफल «

विशेष आर्थिक क्षेत्रबारे विराटनगरमा छलफल

एक दशकभन्दा लामो समयदेखि पूर्वका उद्योगी व्यवसायीहरूले उठाउँदै आएको विशेष आर्थिक क्षेत्र स्थापना गर्ने विषयमा सरकारीस्तरबाट छलफल सुरु भएको छ । 

यो क्षेत्रका उद्योगीले मोरङ–सुनसरी करिडोरमा औद्योगिक क्षेत्रसँगै विराटनगरमा विशेष आर्थिक क्षेत्र स्थापनाको माग राख्दै आएका छन् । द्योगीहरूको माग सम्बोधन गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्र विकास समितिले यहाँका उद्योगीहरूसँग छलफलसँगै अन्तरक्रिया गरेको छ ।

मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको समन्वयमा भएको अन्तरक्रियामा संघका अध्यक्ष पवनकुमार सारडाले विशेष आर्थिक क्षेत्र स्थापनाका लागि साल्ट ट्रेडिङसँग खरिद गर्न लागिएको ३ सय १२ बिघाको लाग्ने ८१ करोड रुपैयाँ निकासा गर्न माग गरे । साल्ट टे«डिङको जग्गामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न उद्योगीहरूले माग गर्दै आएका छन् । 

विशेष आर्थिक विकास समितिका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले विशेष आर्थिक क्षेत्रबाट पाउने सुविधाबारे जानकारी गराए । उनले विराटनगर जग्गा खरिदका लागि सबै प्रक्रियाहरू पूरा गरी रकम निकासाका लागि अर्थ मन्त्रालयमा फाइल पठाएकाले रकम निकासा हुने बित्तिकै मोरङ र सुनसरीमा रहेको साल्ट टे«डिङको जग्गा खरिद गर्ने जानकारी गराए । “जग्गा खरिद गरिसकेपछि ३ वर्षभित्र विशेष आर्थिक क्षेत्र स्थापना गरिसक्ने योजना छ,” भट्टले भने । 

अन्तरक्रियामा संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी अविनाश बोहराले विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगले आफ्नो उत्पादन ७५ प्रतिशतसम्म निर्यात गर्नु प्रावधान व्यावहारिक नभएको उल्लेख गरे ।

संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मून्दडाले विशेष आर्थिक क्षेत्रको स्थापनाका लागि उद्यमीहरू व्यग्रताका साथ पर्खिरहेको उल्लेख गर्दै यसका लागि सरकारले छिटो कदम चाल्नुपर्नेमा जोड दिए । “विशेष आर्थिक क्षेत्र स्थापना गर्न अहिले हामी कुन तहसम्म पुगेका छौं,” मुन्दडाले भने, “त्यसबारे अझै स्पष्ट हुन सकिएका छैन, हामीले अन्तर्राष्ट्रिय नियमलाई अँगाल्न गाह्रो छ ।” 

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले आर्थिक विकासका लागि आवश्यक पर्ने शान्ति सुरक्षा उपलब्ध गराउने बचन दिए । कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका सदस्य राकेश सुराना, उद्योगी मनोज तापडिया, पत्रकार अनन्तराज न्यौपाने, नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेल, बर्जु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रघुनन्दन चौधरीलगायतले विशेष आर्थिक क्षेत्रका विषयमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्