प्राधिकरणको सामान निगमबाट ल्याउन सम्झौता «

प्राधिकरणको सामान निगमबाट ल्याउन सम्झौता

नेपाल विद्युत प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको विमानमार्फत ढुवानी गर्ने सम्झौता गरेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै विमान प्रयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै विमान प्रयोग गर्ने उल्लेख गरिएको छ । कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंशनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरेका थिए । निगमकै विमान प्रयोग गर्न नेपाल सरकारका उच्चपदस्थ कर्मचारी तथा निजी क्षेत्रका उद्योग र व्यापारीलाई पनि आग्रह गरेका थिए ।
अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् । कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् ।
प्राधिकरणले निगमको उडान गन्तव्य रहेका स्थानबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५–१० प्रतिशत छुट पाउने छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।
सचिव न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनु पर्ने बताए । कार्यकारी निर्देशक घिसिङले सम्झौतामा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताइएको छ ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरूको सो प्रस्ताव सहर्ष स्वीकार गरेसँगैको सहकार्यबाट निगम र प्राधिकरणको संस्थागत सुधारमा मद्दत पुग्ने बताए । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेखित गरिएका कुरालाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्