सहारा एपद्वारा यात्रु र चालकलाई पाँच लाखको बिमा «

सहारा एपद्वारा यात्रु र चालकलाई पाँच लाखको बिमा

राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा यात्रु तथा सहारा पार्टनरको लागि ६ लाख रुपैयाँको बिमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बिमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।
सहारा एपको तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले बिमासम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर भएको दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरूको बिमा सुरु भएको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । सम्झौताअनुसार उक्त योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने हरेक यात्रु र चालक दुवैको हकमा लागू हुनेछ ।
यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उदेश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग दुई वर्षका लागि बिमा सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरूबाट कुनै किसिमको कमिशन नलिने घोषणा गरेको छ । बजारमा राइडर तथा पार्टनरहरूले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सस्पूर्ण रकम पार्टनरलाई दिने उद्धेश्यले यो व्यवस्था गरिएको श्रेष्ठले बताए । उनकाअनुसार यो व्यवस्था ६ महिनासम्मको लागि लागू हुनेछ ।
यात्रुहरूले गुगल प्ले तथा एप्पलको एप स्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् भने चालकहरूले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् । एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको सहारा एप राइड सेयरिङले बजारमा आफूलाई स्थापित गराउन सफल भइसकेको छ । एपको प्रयोगकर्ता बढिरहेकाले दैनिक सयौंको संख्यामा राइडरहरू थपिरहेको कम्पनीले जनाएको छ । एक लाखभन्दा बढी प्रयोगकर्ता भएको सहारा एपकामा झण्डै २० हजार पार्टनरहरू आबद्ध छन् ।
सहाराले पार्टनर तथा यात्रुहरूलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय–समयमा विभिन्न किसिमका अफरहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्