नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन पहल भइरहेको छ : मन्त्री आले «

नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट हटाउन पहल भइरहेको छ : मन्त्री आले


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन सरकार संवेदनशील रहेको बताएका छन् ।
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएकाले चाँडै नै पारित गराउने बताए ।
“राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौं” उनले भने, “यी विषयमा सरकार संवेदनशील छ ।” मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको बताए । मन्त्री आलेले सरकारी कर्मचारीलाई भ्रमण काज बिदा दिने कार्यविधि जारी गर्ने तयारी अन्तिम चरणमा पु-याइएको पनि उल्लेख गरे । “कार्यविधिको मस्यौदा अर्थ मन्त्रालयमा पठाइएको छ, त्यसलाई पनि छिट्टै जारी गर्छौं” मन्त्री आलेले भने ।
उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि बताए । सो समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनेल आस्वासन दिए ।
भएको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड–१९ बाट अति प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले कोभिड १९ विरुद्धको भ्याक्सिनको पूर्ण मात्रा सबै नेपालीलाई शीघ्र उपलब्ध गराई बुस्टर डोजसमेत छिटो लगाउने प्रबन्ध मिलाउन आग्रह गरे ।
अध्यक्ष अग्रवालले कोभिडका कारण शिथिल भएका व्यवसायको पुनरुत्थानका लागि सरकारले दिने घोषणा गरेको राहतका कार्यक्रम अझै कतिपय व्यवसायीले नपाएको गुनासो रहेकाले त्यसको सम्बोधनका लागि पनि आग्रह गरे । उनले बंगलादेशका लाखौं पर्यटक नेपाल भित्र्याउने गरी दुई पक्षीय सम्झौता गरेर अघि बढ्न पनि सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्