Logo

कृषिजन्य वस्तु आयात प्रत्येक वर्ष बढ्दै जानु तथा कृषिकर्म गर्ने मौसममा मलको हाहाकार हुनुमा गहिरो तादात्म्यता देखिन्छ

मलको हाहाकारका बीच धान उत्पादनमा कमी

हरेक वर्ष आइरहने मलको समस्या यसपटक फेरि दोहोरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय हरेक वर्ष अब मलको समस्या दोहोरिन्न भन्ने वाचा गर्छन् । तर, हरेक वर्ष कृषिप्रधान भनिने मुलुक नेपालमा मलको समस्या दोहोरिन्छ । यसपटक पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आगामी चैत–वैशाखभित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्, जुन पूरा नहुने पक्का छ ।
मुलुकमा हरेक वर्ष कृषिकर्म गर्ने मौसममा मलको हाहाकार हुने तथा कृषिजन्य वस्तुको आयात बढ्नुमा आजसम्म कसैले पनि अनुसन्धान गरेको देखिएन । तर, कृषिजन्य वस्तु आयात प्रत्येक वर्ष बढ्दै जानु तथा कृषिकर्म गर्ने मौसममा मलको हाहाकार हुनुमा गहिरो तादात्म्यता देखिन्छ ।
सरकार नै कृषिजन्य वस्तुको आयात बढाउन प्रोत्साहन गर्दै छ कि भन्ने आशंका गर्नु सर्वथा अनुपयुक्त छैन । मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको स्पष्टीकरण दिए तापनि मल भनेको अचानक चाहिने वस्तु होइन । त्यसैले अगाडि नै यसको प्रबन्ध मिलाउने तथा आयात गर्ने काम मन्त्रालयले किन गरेन वा गर्न चासो दिएन भन्ने कुराले पनि मन्त्रालयमाथि आशंका उठ्नु स्वाभाविक हो ।
मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने बताएको पनि धेरै भइसकेको छ । तर, उक्त कार्य पनि अगाडि बढेको छैन । लगानी बोर्डमार्फत योजना बनाइएको भए तापनि त्यसका लागि उपयुक्त कम्पनीहरूको खोजी गर्ने काम भइरहेको मात्र जनाइएको छ । जबजब मलको हाहाकार हुन्छ तबतब तालुकवाला मन्त्रीले किसानको मागअनुसार मल आपूर्तिका लागि ऐन–कानुन संशोधन गरेरै भए पनि मल ल्याउने वाचा गर्छन् । तर, ती वाचा कहिल्यै पूरा हुँदैनन् ।
यसपटक त मलको मात्र नभएर बेमौसमी वर्षातको कारण पनि धान उत्पादनमा कमी आएको छ । गत असोज र कात्तिकमा परेको बेमौसमी वर्षाका कारण धान उत्पादन घटेर यस वर्ष १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ भएको थियो, जसबाट ५१ लाख ३० हजार टनमात्र धान उत्पादन भएको छ । गत आवमा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएकोमा यसपटक गत आवको तुलनामा ४ लाख ९१ हजार ८५ टन धान कम उत्पादन भएको छ ।
जबकि यसपटक गत आवभन्दा बढी हेक्टरमा धान रोपाइँ भएको थियो । किनकि गत आवमा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो । चालू आवमा समयमै मनसुन सक्रिय भएपछि गत वर्षको तुलनामा ३ हजार ९ सय ४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको हो । तर, गत ३१ असोज र १ तथा २ कात्तिकमा परेको बेमौसमी वर्षाले बालीलाई हानि पु¥याएको थियो । बेमौसमी वर्षाले मुलुकभरका १ लाख ११ हजार ६ सय ९ हेक्टरमा लगाइएको ४ लाख २४ हजार १ सय १३ टन धान बालीमा क्षति पु¥याएको थियो । कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइ हाराहारी योगदान रहेको कृषिक्षेत्रमा पनि धान र परालको योगदान १५ प्रतिशत छ । त्यसैले ५ लाख टन धान उत्पादन कम हुँदा चामल आयात त बढेर व्यापारघाटा बढ्छ नै, कुल गार्हस्थ्य उत्पादनमा पनि यसले नकारात्मक असर पार्छ ।
हरेक वर्ष मलको समस्या भएझैं उखु किसानहरूले समस्या पनि हरेक वर्ष दोहोरिइरहने अर्को प्रमुख समस्या हो । उखु किसान काठमाडौं आएर माइतीघरमा नबसेसम्म सरकारलाई उनीहरूका समस्याबारे जानकारी नहुने एउटा प्रवृत्ति नै भइसकेको छ । यसपटक पनि ४५ दिनभित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको दाबी गरे तापनि उखु किसानले आफ्नो परिश्रमको पैसा पाएका छैनन् । सरकारले मिललाई उखु दिएको ४५ दिनभित्र अनलाइन पेमेन्ट गर्ने व्यवस्था गरेको दाबी गरे तापनि कृषकले आफ्नो परिश्रमको मूल्य पाउने कुरामा शंका नै छ ।

प्रतिक्रिया दिनुहोस्