फोहोरमैलाको उचित व्यवस्थापन : आजको आवश्यकता «

फोहोरमैलाको उचित व्यवस्थापन : आजको आवश्यकता

हाम्रो देशको काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको हुन्छ । साँच्चै भन्नु नै पर्दा ६ वटै महानगरपाकिा, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगिनसक्नु, बुझ्नेलाई बुझिनसक्नु छ । बेलाबखत विभिन्न प्रकारका निहँु तथा कारणले गर्दा सहरहरूको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्दै आइरहेको छ । सो कारणबाट काठमाडांै उपत्यकालगायत हाम्रो देशका अन्य सहरी क्षेत्र दूषित भई सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठी, उच्च तापक्रम र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौं व्यक्ति झाडापखाला, विषमज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था बेलामौकामा सिर्जना भएको नौलो होइन । योबाट बढी बालबालिका र वृद्धाहरू बढी प्रभावित हुने गर्छन् ।
फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडाँै महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगढी, सुर्खेत, वीरगन्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न सहरमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडांै उपत्यकाको हाल दैनिक निष्कासन हुने करिब १२ सय मे.टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न बहानामा फोहरमैला डम्पिङ गर्न नपाई काठमाडौंलगायत अन्य सहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थ्यमा तीव्र असर पारेको हुन्छ । साथै, ट्राफिकमा समेत अस्तव्यस्त तुल्याएको पाइन्छ ।
सरकारले कोभिडजन्य फोहोर बिक्रीमा पूर्ण रोक लगाएको छ, तर अधिकांश ठूला अस्पतालले समेत आम्दानीको स्रोत भन्दै संक्रमण फैलाउन सक्ने यस्ता फोहोर बेचिरहेका छन् । क्वारेन्टाइन, आईसोलेसन, होल्डिङ क्षेत्र, संक्रमित व्यक्तिका घरबाट उत्पादित फोहोर सीधै संकलककहाँ भने गाउँघरतिरको सो फोहोर वन, खाली क्षेत्र, नदी आदिमा फ्याँकिएको पाइन्छ । माथि भनेजस्तै सरकारले स्वास्थ्य संस्थालाई कोभिडजन्य फोहोरमैला बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ । ल्यान्डफिल्ड साइट पुगेका नकुहिने फोहोरसमेत पुनः प्रयोग गर्न नमिल्ने गरी व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । कोभिड–१९ महामारी आपत्कालीन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन अन्तरिम निर्देशिका, २०७७ को दफा ५ ले कोभिडजन्य फोहोरमैला पुनः प्रयोगमा नै बन्देज लगाएको छ । फोहोरमैलाबाट कोभिड संक्रमण हुन सक्छ÷सक्दैन भन्ने ठोस प्रमाण नभेटिए पनि विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितबाट निस्केको फोहोरलाई संक्रमण मानेको छ । जथाभावी विसर्जन गरी खुला छाडेमा अर्काे महामारी फैलाउन सक्ने खतरा रहन्छ । त्यसकारण कोभिडजन्य संक्रमित फोहोर बिक्री तथा अव्यवस्थित व्यवस्थापन गर्नु भनेको अपराध नै हो भन्नुमा कुनै अत्युक्ति नहोला । त्यसकारण सम्बन्धित निकायले समयमै सोको आवश्यक व्यवस्था मिलाउनु अपरिहार्य छ ।
फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा राजधानी काठमाडौंको गर्नु उपयुक्त होला । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्कासन गर्न थालेको करिब १६ वर्ष पुगिसक्यो । दुई–तीन वर्षका लागि मात्र तयार गरिएको सो डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाएको सो डम्पिङ साइटमा हाल १८ वटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण कार्य सम्पन्न हँुदै छ । दुई वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करिब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानियवासी आक्रान्त हुनु स्वाभाविक नै हो । फोहोर कुहिई बगेको अर्धठोसका कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईवस्तु एवम् कृषि उपज, जलथल, वातावरणमा नै नकरात्मक असर परेको गुनासो छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकाले बन्चरे डाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभइ फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सो पनि ढिलाइ भइरहेको छ । यसै सिलसिलामा सिसडोल ल्यान्डफिल्ड साइट हाल पूर्ण रूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । यसै सिलसिलामा केही किलोमिटर सडक फोहोर पुरी बनाएकाले फोहोर बोक्ने गाडी चिप्लेर सो उचाइ चढ्न नसकी फोहोरमैला व्यवस्थापनमा समस्या भई सो प्रभावले जनस्वास्थ्यमा असर परेको सर्वविधितै छ । ल्यान्डफिल्ड साइटको फोहोर कुहिएर बगेको लेदोले फोहोर बोक्ने गाडी ल्यान्डफिल्ड साइटमा पुग्नसमेत मौसमी समयमा कठिन हुने गरेको छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल्ड साइट माथि भनेजस्तै पूर्ण रूपमा भरिई समस्याग्रस्त भएको भएको छ । पूर्ण समाधानका लागि बन्चरे डाँडाको ल्यान्डफिल्ड साइट निर्माण सम्पन्न गरी फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन गरी प्रयोग गर्नु आजको आवश्यकता हो ।
बन्चरे डाँडा काठमाडौंबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १७ सय रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल्ड साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल्ड साइट १ सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बन्धित पक्षको भनाइ छ । आशा गरौँ, बन्चरे डाँडा ल्यान्डफिल्ड साइटबाट कोभिडजन्य संक्रमित फोहोरको पनि आवश्यक व्यवस्थापन हुनेछ । साथै, स्थानीय जनतालाई वातावरण प्रदूषण हुने कार्य नभई वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कतिसम्म टिक्ने हो, अहिले किटान गर्नचाहिँ नसकिएला कि ? जे होस्, सोच चैं सकारात्मक नै राखौँ ।
फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तŒवहरू निम्न छन् ः फोहोरमैला व्यवस्थापनको लागि स्रोत परिचालन नहुनु, नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झिने, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फाहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक भौतिक पूर्वाधारहरू जस्तै पुनः प्रयोगशाला, ल्यान्डफिल्ड साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, फोहोरमैला व्यवस्थापनमा निहित स्वार्थ, फोहोरमैला व्यवस्थापनमा राजनीतिक खिचातानी, फोहोरमैला व्यवस्थापनमा देशमा चलेको अशान्ति र द्वन्द्व तथा महामारीको प्रभाव, फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागत रूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई श्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खर्बौं धनराशि नोक्सानी भएको । यी माथिका कारणबाट काठमाडांै उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्थानमै चुनौतीपूर्ण बनेको छ ।
फोहोरमैला समाधानको सबैभन्दा उत्तम उपाय नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अद्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायतका कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने, सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र उपयुक्त प्रविधि भिœयाई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सही रूपले फोहोरबाट मोहोर आर्जन गरी कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्यान्डफिल्ड साइटको व्यवस्था गर्ने, पब्लिक–प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकाले कतै निकायगत जिम्मेवारीमा दोहोरोपना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापन सम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुने गरी विद्यमान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने, माध्यमिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्नुपर्ने, प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ । आशा छ, बन्चरे डाँडाको ल्यान्डफिल्ड साइट वातावरणमैत्री हुनेछ । यी माथिका कुराहरू कार्यान्वयन भएमा पक्कै पनि कोभिडजन्य संक्रमित फोहोर तथा अन्य फोहोरहरू काठमाडौं उपत्यका र देशका अन्य सहरमा व्यवस्थापन प्रभावकारी भई फोहोरबाट मोहोर आर्जन भई हामी सबैको स्वास्थ्यसमेत गुणस्तरीय हुनेछ ।
(डा. अधिकारीले गुणस्तर जीवन विषयमा विद्यावारिधि गरेका छन् ।)

प्रतिक्रिया दिनुहोस्